Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा कोरोनालाई खेलाँची ठान्दैछन जनता !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०७७
  • 10.5K
    SHARES

काठमाडौं । ‘१५ सयमा आउँछ भने दिनुस्, नत्र म गएँ’ भोटोहिटीको सानो गल्लीमा कपडा पसलेलाई घुर्क्याउँदै ग्राहक बोलिन् । ‘लु सय रुपैयाँ थप्नुस्’ पसलेले भने । ती ग्राहकलाई विदा गर्न नपाउँदै अर्का ग्राहक साँघुरो कपडा पसलभित्र छिरे । पसल पहिल्यै खचाखच थियो । दुईजना व्यापारीलाई ग्राहकसँग मोलमोलाई गर्न भ्याई–नभ्याई थियो ।

नजिकै रहेको अर्को पसलमा ‘सेल, सेल’ लेखिएको प्लेकार्ड देखाइएको छ । विभिन्न आइटमका कपडाहरु पसल अगाडि बक्समा राखिएका छन् । ‘लु लैजानुस्, चार सय नब्बे, चारसय नब्बे’ पसल अगाडि उभिएका युवा कराउँछन् । त्यहाँ पनि उस्तै भीड छ । ग्राहकहरु हारालुछ गरिरहेका छन् ।

‘चार सय रुपैयाँमा आउँदैन ?’ बक्समा राखिएको एउटा कपडा निकालेर एक महिलाले सोधिन् । ‘फिक्स रेट हो, नलैजाने भए जानुस्’ व्यापारी रुखो गरी प्रस्तुत हुन्छन् ‘अरुले ४९० नै तिरेर लैजान्छन् ।’

भोटोहिटी अगाडि असनमा पनि यस्तै भीडभाड छ । सबै आफ्नै तालमा यताउति हेरिरहेका छन् । कोही पसलमा किनमेल गर्दैछन् त कोही बाटो तताइरहेका छन् ।

सामान बोक्ने भरियाहरुलाई पनि भ्याई नभ्याई छ । ‘ए…ए…. बाटो छाड्नुस्’ भन्दै काँधमा भारी बोकेर भरियाहरु कराउँदै हिँडिरहेका छन् । चार पाङरे गाडी पस्न सक्ने अवस्था छैन । मोटरसाइकलमा हिँडेकाहरु पनि भीडमा सास्ती खेपिरहेका छन् । मोटरसाइकलभन्दा चाँडो मान्छे नै हिँडिरेहका छन् । अपरिचित मान्छेलाई नछोई हिँड्न सक्ने अवस्था छैन । असनजस्तै इन्द्रचोकमा पनि कम छैन भीडभाड । फुटपाथमा राखिएका पसलहरु नगरपालिकाका प्रहरी आउँछन् कि भनेर डराउँदै व्यापार गरिरहेका छन् । ‘ए एक सय नब्बे, ए एक सय नब्बे’ भन्दै कोही कराइरहेका छन् । कसैले ५ सयमा दुईवटा टिसर्ट आयो भन्दै दशैंका ग्राहकलाई बोलाइरहेका छन् ।

विशाल बजार अगाडि काठमाडौं महानगरपालिकाको स्मार्ट पार्किङ छ । त्यहाँ मोटरसाइकल खचाखच देखिन्छन् । पार्किङ गर्ने ठाउँ छैन । छेउमा मोटरसाइकल रोकेर पार्किङका लागि ठाउँ कुर्दै गरेका दृश्य देखिन्छ । न्यूरोडको अवस्था त त झन् के कम हुन्थ्यो । त्यहाँ झन् ठूलो भीड छ । पसलमा मान्छे पस्न मिलेसम्म खाँदिएर पसेका छन् । गल्ली, सडक कतै उभिनै नसकिने भीड छ । मास्क सबैले लगाएका छन् । कसैको मास्क झरेर चिउँडो मुनि झरिसकेको छ । भौतिक वा सामाजिक दूरीको त त्यहाँ कुरै नगरौं ।

आइतबार अपरान्ह काठमाडौंका भोटाहिटी, असन, इन्द्रचोक न्यूरोडमा देखिएको भीडभाडले कोरोनालाई गिज्याइरहेको छ । स्वास्थ्य सुरक्षासम्बन्धी न्युनतम् मापदण्ड कायम गर्ने शर्तसहित खुलेका पसल व्यवसायहरुमा अहिले कोरोनाको कुनै मतलव छैन । मानिसहरु ठेलामठेल गर्दै दगुरिरहेका छन् ।

व्यापारीलाई बाध्यता, ग्राहकलाई के ?

काठमाडौंका फुटपाथमा व्यापारी हुन् या महंगो सटरमा व्यापार गरिरहेका व्यापारी, कोरोनाबारे सोध्नेवित्तिकै जवाफ फर्काउँछन्, ‘बाध्यता हो हजुर !’

आम्दानीका लागि व्यापार गर्नैपर्ने बाध्यता अवश्य पनि छ । लामो समयसम्म व्यापार नहुँदा समस्यामा परेका व्यापारीहरुलाई अहिले केही आश पलाएको छ । तर, सतर्कता अपनाएर पनि त व्यापार गर्न सकिने थियो नि ?

‘इन्द्रचोकमा कपडा पसल सञ्चालन गर्दै आएकी रमिला थापा भन्छिन्, ‘अब आएका ग्राहकलाई पर जाउ, भन्ने कुरा भएन, सकेसम्म सावधानी त अपनाएकै छ नि ।’

अर्का एक व्यापारी त कोरोना केही पनि होइन भनेर झोंक्किए । ‘कोरोना सोरोना केही पनि होइन, बाँचे त कोरोना लाग्छ, खानै नपाएर मरे केको कोरोना ?’ उनले ६ महिना खेपेको पीडासमेत मिसाएर बोले ।

पहिले कोरोनाको नाम सुन्दै डराउने गरेको भए पनि अहिले आएर भने केही होइन जस्तो लागेको एक व्यापारीले बताइन् । आफ्नै छिमेकीलाई पनि कोरोना लागेको सुनाउँदै उनले डराउनुपर्ने रोग नभएको दाबी गरिन् । उनले भनिन्, ‘रुघाखोकीजस्तै सामान्य रोग रहेछ, लागे पनि निको भइहाल्छ ।’

ग्राहक झन् के कम ! कोरोनालाई बेसारपानीले नै पचाइदिनेसम्मका गफ दिनेहरु भेटिए । ‘ठूला सपिङ मलहरु खाली होलान् तर हामी त्यहाँ जाँदैनौं, भीड भए पनि यतै फुटपाथमा किन्ने हो’ एक व्यक्तिले भने, ‘अब यतै किन्दा कोरोना लागेछ भने पनि लागोस् ।’

उनी कोरोना लाग्दैन भन्नेमा ढुक्क देखिन्थे । कोरोना लागिहाले पनि बेसारपानीले ठिक पारिदिने भन्दै कोरोना भनेर डराउनु अनावश्यक हुने बताए ।

भीडमा भेटिएकाहरु अधिकांश यस्तै सोचका थिए । कोही चाहिँ कोरोनादेखि सतर्क हुनुपर्छ भन्ने पनि भीडमा भेटिए । ‘सरकारी सुविधा लिएर घरभित्रै बस्नेलाई त कोरोना लागिसक्यो, हामीलाई लाग्दैन भन्न कहाँ सकिन्छ र ?’ न्यूरोडमा भेटिएका एक दम्पतिले भने, ‘बाहिर काम पर्दा निस्कनै पर्छ । तर, सतर्कता अपनायो भने त लाग्दैन नि ।’

‘हामीले भन्दा ठूलो कारबाही कोभिडले गर्छ’

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गतिविधि गर्नुपर्नेमा पछिल्लो समय लापरवाही भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल बताउँछन् ।

उनले कोरोनाबाट बच्न आफैं सचेत हुनुपर्ने बताए । मास्क नलगाई हिँड्ने एक हजारभन्दा बढीलाई कारबाही हुँदासमेत अझै सर्वसाधारणमा चेतना नबढेको उनको भनाइ छ । काठमाडौंमा ४० लाखभन्दा धेरै मान्छेहरु रहेको र यी सबैलाई काठमाडौंका तीनजना सहायक सीडीयोले कोरोनाबारे बुझाउन नसक्ने भन्दै आफैं सचेत हुनुपर्ने उनले बताए । प्रशासनले कारवाही गरेन भनेर लापरवाही गर्नेलाई कोभिडले नै कारवाही गर्ने उनको भनाइ छ । यद्यपि, प्रशासनको तर्फबाट गर्नुपर्ने अनुगमनका कामहरु आफूहरुबाट भइरहेको उनले बताए ।

प्रस्तुत छ, जन न्युज नेपाल खबर प्रतिनिधिको जिज्ञासामा उनले राखेको धारणा जस्ताको तस्तैः

सहायक सीडीयोहरुलाई बजार अनुगमनको जिम्मा तोकिएको छ । चाडपर्व लक्षित, खाद्यान्न, हवाई टिकट, बसको टिकटमा बढी मूल्य लिएको लगायतमा हामीले अनुगमन गर्छौ । हामीले यो शुरु पनि गरिसकेका छौं । योभन्दा अगाडि प्याजको पनि अनुगमन गर्‍यौं । १४६ क्विन्टल जफत गरेका छौं ।

विभिन्न अन्य सामानहरु पनि हामीले सिल गर्ने गरिरहेका छौं । यो कोरोनाको विषयमा मलाई के लाग्छ भने, काठमाडौंमा हामी जम्मा ३ जना सहायक सीडीओ छौं । यहाँ ३०÷४० लाख मान्छेहरु बसोबास गर्नुहुन्छ । ३ जनाको टाउकोमा मात्रै हालेर यो समस्या समाधान नहोला । मलाई त त्यस्तो लाग्दैन । यसमा तपाई हामी सबै यहाँ बस्ने जनताले कोरोनाका विषयमा सोचेर स्वास्थ्यसम्बन्धी प्रोटोकलहरु अनिवार्य पालना गर्नुपर्ने हो ।

सरकारतर्फ मात्रै फर्केर यो समाधान हुन्छ जस्तो लाग्दैन । पहिले लकडाउन थियो, बन्दाबन्दी थियो हामीले नियमन गरिरहेका छौं । अहिले खुला भएको छ । हरेक दिन स्वास्थ्य मन्त्रालयले पनि सतर्कता अपनाउन भनिरहेको छ । आफै सचेत हुनुपर्छ । प्रहरी आउँदा, प्रशासन आउँदा मान्ने मान्ने नभए अरुबेला नमान्ने भयो भने हाम्रो सीडीयो सापले बेलाबेलामा भनिरहनुहुन्छ, अरु कसैले कारबाही नगरे पनि कोभिडले कारवाही गर्छ, त्यस्तोलाई कोभिडले कारबाही गर्छ । कारबाही गरि पनि रहेको छ ।

धेरैजना संक्रमित हुनु भएको छ । मास्क नलगाउनेलाई पनि हामीले ठाउँको ठाउँ कारबाही गरिरहेका छौं । संक्रामक रोग ऐन अनुसार एक सय रुपैयाँ जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । हाम्रो कानूनी व्यवस्था त्यही हो । त्यस्तोमा विगतमा म पनि अनुगमनमा गएको छु, हाम्रो सहायक सीडीओ सा’पहरु पनि जानुभएको छ ।

हामीले विभिन्न ठाउँमा गएर मास्क नलगाई हिँड्नेलाई ठाउँको ठाउँ सय रुपैयाँ जरिवाना गरेका छौं । यस्तो कारबाही सांकेतिक रुपमा हुन्छ । आम रुपमा त जनताले आफै बुझ्नुपर्छ । हाम्रो स्वास्थ्यका लागि भनेर त्यस्तो प्रोटोकल पालना गर्नुपर्छ भन्ने लाग्छ मलाई । कतिलाई कारवाही भयो भन्ने ठ्याक्कै तथ्यांक अहिले मसँग छैन । चैत ११ यता १ हजार भन्दा धेरैलाई कारबाही भइसकेको छ । अब थुनामा पठाउने कुरा भनेको सीडीयो सापले आदेश चाहिन्छ । कुनै काम कारबाही गर्न व्यवधान पुर्यायो भने ६ सय जरिवाना र ६ महिनासम्म कैद हुनसक्ने प्रावधान छ ।

हाम्रो आदेश पालना नगरे एक सय जरिवाना र एक महिना कैद हुने व्यवस्था पनि धेरै पुरानो हो । समय सापेक्षा संशोधन भएको देखिँदैन । मेरो एउटै मात्रै आग्रह के हो भने सीडीयो, सहायक सीडीयोको कुरामात्रै होइन, हामी सबै काठमाडौंवासीको सरोकारको कुरा हो । हामी सबै मिलेर पाना गर्नु पर्‍यो ।

पुलिस देखेपछि झ्याप्प मास्क लगाउने पुलिस हिँडेपछि खोल्ने गरेर हुँदैन । तपाईहरु सञ्चार माध्यमबाट पनि गरिहरनुभएको छ, गर्नुपर्‍यो । सबै पक्षबाट भयो भने हामीले नियन्त्रण गर्ने हो । कोही पक्षले पालना नगर्ने हो भने नियन्त्रण हुन सक्दैन । हामीले हाम्रोतर्फबाट कारबाही गरिरहेका छौं, कोभिडले आफैं कारवाही पनि गर्छ । कतिजनाको त ज्यान पनि गइसकेको छ । त्यो भनेर हामी चुपचाप बस्ने होइन, हामी हाम्रो तर्फबाट गरिरहेका छौं ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४