दाङलाई प्रदेश ५ को राजधानी तोक्न प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावको विरोधमा नेपाली कांग्रेस रुपन्देहीले बुटवलमा मसाल जुलुस निकालेको छ।
रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता गर्न माग गर्दै मसाल जुलुस निकालेको कांग्रेसले जनाएको हो।
मसाल जुलुस प्रदर्शनमा सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए।
‘अन्तर्घाती नेकपा मुर्दावाद‘, रुपन्देहीलाई नै राजधानी कायम गर‘, ‘बुहसंख्यक नागरिकको मनोभावना ख्याल गर‘, ‘राजधानी सार्ने औचित्य प्रस्ट पार‘ लगायतका नारा उनीहरूले लगाएका थिए।
उक्त जुलुस बुटवलको राजमार्ग चौराहबाट सुरू भई मिलनचोक पुगेर समापन भएको थियो। जुलुस प्रदर्शनपछि बोल्दै कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले रुपन्देहीबाट राजधानी अन्यन्त्र लैजाने प्रस्ताव गरेर नेकपा सरकारले जनविरोधी काम गरेको टिप्पणी गरे। उनले रुपन्देहीलाई राजधानी कायम गराउन जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए।


