बुटवल । कोरोना संक्रमण (कोभिड १९) बाट रुपन्देही र कपिलवस्तुमा गरी दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुष र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ की ५० वर्षीया महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।रुपन्देहीका ५५ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
थापाका अनुसार असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनी लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । सोही क्रममा उनको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएसँगै उनलाई कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनको मिर्गौला र रगतमा समेत खराबी देखा परेको अस्पतालले जनाएको छ ।
यसैगरी कपिलवस्तुकी ५० वर्षीया महिलाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए । उनी निमोनिया र मुटुका दीर्घरोगी समेत थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ५ गते भैरहवा मेडिकल कलेजमा भर्ना भएकी थिइन् । असोज ५ गते नै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।