ओली-प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनबारे मिलेन कुरा
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनबारे भएको छलफल बिना निष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा कुनै प्रगति नभएको स्रोतले जन न्युज नेपाल खवरलाई बतायो।आइतबार पनि दुई अध्यक्षबीच यही विषयमा छलफल भएको थियो। दुई अध्यक्षबीच कुरा नमिलेपछि मन्त्रिपरिषद पुनर्गठन केही ढिलो हुने अनुमान गर्न थालिएको छ।
प्रधानमन्त्री ओलीले १-२ दिनमै मन्त्रिपरिषदको पुनर्गठन गर्न चाहेका छन्। प्रधानमन्त्रीनिकट एक स्थायी कमिटी सदस्यले आइतबार जन न्युज नेपाल खवरसंग कुराकानी गर्दै आज-भोलिमै मन्त्रिपरिषद पुनर्गठन हुने बताएका थिए। प्रधानमन्त्री ओलीले टुक्र्याइएका मन्त्रालय र खाली भएका मन्त्रालयमा मात्रै मन्त्री थप्न लागेकाले कुरा नमिलेको प्रचण्ड निकट श्रोतको दाबी छ। प्रधानमन्त्री ओलीले तीन वटा मन्त्रालय थप्ने तयारी गरेका छन् भने तीन मन्त्रालय खाली छन्। यस्तो अवस्थामा तीन राज्यमन्त्री हटाएर ६ जना मन्त्री थप्न सकिन्छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार भने प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनका लागि केही समय कुर्नु पर्ने धारणा राखेका छन्। ओलीनिकट स्रोतका अनुसार प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउन चाहेका छन्। गौतमबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
त्यस्तै दुई अध्यक्षबीच मन्त्रीहरूको संख्या बाँडफाँटमा समेत कुरा मिलेको छैन। २४ ओटा मन्त्रालय बनाइएमा कम्तिमा १० ओटा मन्त्रालय पूर्वमाओवादीले पाउनु पर्ने अडानमा प्रचण्ड छन्। तर प्रधानमन्त्री ओली भने पूर्वमाओवादीलाई मन्त्रालय थप्ने पक्षमा नरहेको स्रोतको दाबी छ।अहिले पूर्वमाओवादीबाट ७ जना मन्त्री छन्।
अहिलेका धेरै मन्त्री हटाउन प्रधानमन्त्री तयार हुनासाथ मन्त्रिपरिषद पुनर्गठन भइहाल्ने प्रचण्ड निकट एक नेताले बताए।सबै विकल्पबारे छलफल भएको छ। अहिले दुई अध्यक्षकै तहमा छलफल भएकाले धेरै कुरा बाहिर आएको छैन,’ प्रचण्ड निकट ती नेताले भने,’हामीले यस्तो नै भएको छ भनेर भन्नलाई त्यस्तो उल्लेख्य केही छैन।‘