चितवनमा दुई महिनामा बलात्कारका २१ मुद्दा, १९ जना पक्राउ, दुई फरार
जन न्युज नेपाल खवर प्रतिनिधि चितवन
चितवनमा आर्थिक वर्ष ०७७र७८ को दुई महिनामा नै जबर्जस्ती करणी (बलात्कार)का २१ वटा मुद्दा दर्ता भएका छन् । बलात्कारका घटनाबाट २२ जना पीडित बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बलात्कार मुद्दामा १९ जनालाई पक्राउ गरिएको र दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।
प्रहरीको तथ्याङ्कअनुसार बलात्कारबाट साउनमा १४ जना र भदौमा ८ जना पीडित भएका छन् । सबैभन्दा बढी १६ वर्षमुनिका १५ जना पीडित बनेका छन् । १६ देखि २५ वर्ष उमेर समूहका तीन जना, २६ देखि ३५ वर्ष उमेर समूहका दुई जना र ६० वर्षमाथिका दुई जना पीडित छन् । गत आव ०७६र७७ मा बलात्कारका ५१ वटा मुद्दा दर्ता भएका थिए ।गत आव ०७६र७७ को दुई महिनामा सरदर बलात्कारका नौवटा मुद्दा दर्ता भएका थिए । यस आवको सुरूकै दुई महिनामा बलात्कारका २१ मुद्दा दर्ता हुनाले यो वर्ष बलात्कारका घटना बढ्न सक्ने संकेत देखिएको छ ।
यस आवको दुई महिनामा जबर्जस्ती करणी उद्योगका दुईवटा मुद्दा दर्ता भएका छन् । यस मुद्दामा दुई जना प्रतिवादी पक्राउ परेको थापाले जानकारी दिए । त्यस्तै, बालयौन दुरूपयोगको मुद्दामा एक जनालाई पक्राउ गरिएको उनले बताए ।
यौनजन्य अपराधको ग्राफ उकालो लाग्यो !
चितवनमा यौनजन्य अपराधको ग्राफ हरेक वर्ष उकालो लाग्दै आएको छ । गत आव ०७६र७७ मा जिल्लामा ८४ वटा यौनजन्य अपराधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गत आवमा ८४ वटा यौनजन्य अपराधका मुद्दा दर्ता भएकोमा जबर्जस्ती करणी (बलात्कार)का मात्रै ५१ वटा मुद्दा थिए । त्यस्तै, जबर्जस्ती करणी उद्योगका २५ वटा र बालयौन दुरूपयोग एवम् अप्राकृतिक मैथुनका ८ वटा मुद्दा दर्ता भएका थिए । ८४ वटा यौनजन्य अपराधका मुद्दामा १०१ जना पीडक थिए ।
अघिल्लो आव ०७५र७६ मा ७१ वटा र ०७४र७५ मा ८२ वटा यौनजन्य अपराधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ०७५र७६ मा पनि बलात्कारका ५१ वटा मुद्दा थिए भने ०७४र७५ मा ५५ वटा मुद्दा दर्ता भएका थिए । गत आव ०७६र७७ मा भएको यौनजन्य अपराधको विश्लेषण गर्दा सबैभन्दा धेरै ४५ प्रतिशत घटना ललाइफकाइ वा प्रेमविवाह गर्ने बहाना बनाएर भएका छन् । डर, धाकधम्की र त्रास देखाएर २४ प्रतिशत, आर्थिक प्रलोभनमा पारेर १३ प्रतिशत र शारीरिक बल प्रयोग गरी १८ प्रतिशत घटना भएका छन् ।
यौनजन्य घटनाहरु चिनेजानेकै व्यक्तिहरुबाट बढी हुने गरेको प्रहरीको विश्लेषण छ । गत आवको तथ्याङ्कअनुसार ९२ प्रतिशत यौनजन्य अपराध चिनेजानेका व्यक्तिबाट भएको छ । अपराधमा पीडित र पीडकको सम्बन्धबारे विश्लेषण गर्दा ५५ जना साथीभाइ, ३२ जना छिमेकी, १० जना नाता सम्बन्ध पर्ने र चार जना अपरिचित व्यक्ति रहेको खुलेको छ । यौनजन्य अपराधमा ४४।५६ प्रतिशत पीडक १८ देखि २५ वर्ष उमेर समूहका छन् । १०१ जना पीडकमध्ये १८ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा धेरै ४५ जना रहेका छन् । त्यस्तै, १८ वर्षमुनिका पाँच जना, २५ देखि ३५ वर्ष उमेर समूहका २७ जना, ३५ देखि ४५ वर्ष उमेर समूहका सात जना, ४५ देखि ६० वर्ष उमेर समूहका १३ जना र ६० वर्षमाथिका चार जना पीडक देखिन्छन् ।