जन न्युज नेपाल खवर प्रतिनिधि सिन्धुपाल्चोक
सबै सुरक्षा निकायहरुलाई अलर्टमा बस्न निर्देशन !
काठमाडौँ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चेबजार आसपास रहेको भूकम्पमापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ६ रिक्टर स्केलको थियो ।
कोरोना महामारीको बेलामा सिन्धुपाल्चोक प्राकृतिक विपत्तिको केन्द्रबिन्दु जस्तै भएको छ । सिन्धुपाल्चोक वासीले बाढीपहिरोदेखि भूकम्पको सामना गर्नुपरेको छ । २०७१ साउन १७ मा सिन्धुपाल्चोकको मांखा र राम्चेको सीमा क्षेत्र जुरे पहिरोमा परेर १४५ जनाको मृत्यु भएको थियो । सो पहिरो सम्झेर अहिले पनि त्यहाँका स्थानीय बासिन्दाहरु झस्किन्छन् ।
सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो । एकपछि अर्को प्राकृतिक विपत्ति खेप्दै आएको भूकम्पका कारण सिन्धुपाल्चोक बासीमा बुधबारको भूकम्पले थप त्रास बढेको छ ।
बुधबार बिहान आएको भूकम्पको कारण मानिसहरू सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज न्यौपानेका अनुसार बाह्रबिसेका स्थानीय डरले घरबाहिर निस्केर बसेका छन् ।
कोरोनाले धुरुक्क रुवाएको बेला भूकम्पको सामना गर्नुपरेको बाह्रबिसे नगरपालिका–९ राम्चेका स्थानीय फुर्वा शेर्पा बताउँछन् । उनले जन न्युज नेपाल खवर प्रतिनिधिसँग भने,अहिले ‘सिमसिम पानी परेको छ । पानी पर्यो भन्दैमा यस्तो बेला घरभित्र गएर बस्ने कुरा भएन। भूकम्प बाजा बजाएर पनि आउने होइन ।
आफ्नो सुरक्षाको लागि पानीमा रुझ्दै पनि घर बाहिर बस्नुपरेको उनले बताए । ‘घरभित्र गएर बस्दा कुनबेला पहिरोले पुर्ने हो भन्ने डर मात्रै छ,’ उनले जन न्युज नेपाल खवर प्रतिनिधिसँग गुनासो पोखे ।
२०७२ सालको भूकम्पले हामीलाई एकैचोटी घरबाट बारीको डिलमा पुर्याइदिएको स्मरण गर्दै शेर्पा भन्छन्, ‘त्यतिबेला दर्दनाक दृश्य हेर्दै हामी बारीको डिलमा पाल हालेर, बोरा ओछ्याएर बस्यौँ । अहिले कोरोनाको महामारी छ । घरभित्रै थन्किएर बस्नुपरेको अवस्था छ ।
पहिलो भूकम्प गएको ७ मिनेटपछि अर्को धक्काको पनि महसुस भएको शेर्पाले जन न्युज नेपाल खवर प्रतिनिधिलाई बताए । दोस्रो धक्काले झनै त्रास उत्पन्न भएको शेर्पाको भनाइ छ ।
भूकम्पबाट राम्चेको चुल्ठेमा ढुङ्गामाटोबाट बनाइएका केही घरहरु चर्किएको शेर्पाले जन न्युज नेपाल खवर प्रतिनिधिलाई जानकारी दिए ।
भूकम्पले निकै हल्लाए पनि त्यसबाट भएको क्षतिको जानकारी कतैबाट नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जन न्युज नेपाल खवर प्रतिनिधिलाई जानकारी दिए ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश कुमार ढकालले भूकम्पका कारण जमिन कमजोर भएको अनुमान गर्दै जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्टमा बस्ने निर्देशन दिएको बताए ।
भूकम्पले पहिरोको जोखिम बढेको सिडिओ ढकालको बुझाइ छ । जन न्युज नेपाल खवर प्रतिनिधिसंगको कुराकारीमा ढकालले भने, ‘नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीलाई हाइ अलर्टमा बस्न निर्देशन दिएको छु ।
२०७२ सालमा गएको भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोक प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिम बन्दै गएको विज्ञहरुको भनाइ छ । भूकम्पले थिलथिलो सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो, भोटेकोशीमा आएको बाढी, भूकम्पबाट क्षति, हवाई दुर्घटना र सडक दुर्घटनाको चिनारी हो ।
हरेक वर्ष बाढी–पहिरो जस्ता प्राकृत्तिक विपत्तिको सामना गनुपरेको छ सिन्धुपाल्चोकवासीले । यसवर्ष पनि बाह्रबिसे नगरपालिका, जुगल र भोटेकोशी गाउँपालिकालाई बाढी, पहिराले दुःख दियो ।
यस वर्षको मनसुन शुरु भएसँगै २०७७ जेठ ३० पछि सिन्धुपाल्चोकमा १७ ठाउँमा बढी–पहिरो आयो । जसकारण ५५ जनाको मृत्यु भयो । २३ जना अझै बेपत्ता छन् ।