फरवार्ड अभिषेक रिजाल भारतीय क्लबमा आबद्ध
नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आबद्ध भएका छन्।
कोलकाताको पुरानो क्लब मध्येको एक मोहमेदन भारतको आइलिग-२ तथा कोलकाता लिग खेल्ने क्लब हो।
चन्द बदर्स प्रालिको पहलमा रिजाल दोस्रो डिभिजनको लिग खेल्ने क्लबसँग तीन वर्षका लागि आबद्ध भएका हुन्।
मंगलबारदेखि लागू हुने गरी भएको सम्झौतामा रिजाल एसियन कोटामा टिममा आबद्ध हुन सफल भएको चन्द बदर्सका रविन्द्र चन्दले जनाकारी दिए।
चन्दका अनुसार क्लब सिजनमा आइलिगमा बढुवा हुन नसके रिजालले अन्य क्लबबाट खेल्न सक्नेछन्। त्यसका लागि क्लबले रिजाललाई रिलिज गर्नु पर्नेछ।
रिजाल र मोहमेदन क्लबबीच भएको सम्झौता रकम भने खुलाइएको छैन।
नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेकले यसअघि माल्दिभ्सको दोस्रो डिभजनको क्लबबाट खेलेका थिए।
त्यसअघि उनी मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबमा आबद्ध थिए।