ट्राफिक प्रहरीका पूर्वनिरीक्षक सीताराम हाछेथू ललितपुर महानगर प्रहरी
प्रमुखमा नियुक्त
ललितपुर / ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्व निरीक्षक सीताराम हाछेथूलाई नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ। हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारी सहित महानगरले आइतबार नियुक्त गरेको हो।
उनले महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयनमा विज्ञका रुपमा काम गर्ने छन् । महानगरपालिकाका नगर प्रहरीको काम कारबाही अझै चुस्त बनाउन हाछेथूलाई नियुक्त गरेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको भनाइ छ ।
यस्तै हाछेथूले पनि महानगरको नीति र निर्देशनअनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन आफ्नो अब्बल भूमिका रहने बताएका छन् । उनले ललितपुर महानगरलाई नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ट्राफिक व्यवस्थापन, सरसफाइ र फुटपाथ व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने हाछेथूले बताए । उनले २९ वर्ष ट्राफिक व्यवस्थापनमा बिताए उनी २०७५ साल मंसिर महिनामा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए ।
हाछेथूले कालिमाटी, कोटेश्वर, गौशाला, भक्तपुर, ललितपुरमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । नगर प्रहरीमा सुरक्षा क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरूलाई नै नियुक्ति गर्ने गरिन्छ ।