बर्दिया । बर्दियामा हालसम्म कोरोना जितेर घर फर्कनेको संख्या २५ पुगेको छ । आइतवार मात्रै राजापुर आइसोलेसनबाट ४ जना, बाँसगढीबाट ७ जना र खजुरा आइसोलेसनबाट १ जना गरी १२ जना डिस्चार्ज भएका छन् ।
हालसम्म गुलरिया नगरपालिकाका ७ जना, बासगढी नगरपालिकाका ६ जना, राजापुर नगरपालिकाका ८ जना र बढैयाताल गाउँपालिकाका ४ जना गरि जम्मा २५ जना डिस्चार्ज भै घर फर्केको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले बताए । विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले बर्दियामा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता बर्दियामा संक्रमण निकै देखिएको छ ।
बर्दियामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाको एक स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका ३ जनामा कोरोना संक्रमण देखिएको हो । आइतवार संक्रमण पुष्टि भएकाहरुमा ठाकुरवावा नगरपालिकाका ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको प्रमुख गिरीले बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५४ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बढैयाताल गाउँपालिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । बढैयातालमा हालसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । भने सबैभन्दा कम १ जना मात्र संक्रमित गेरुवा गाउँपालिकामा छन् ।
मधुवन नगरपालिकामा २८ जना, गुलरिया नगरपालिकामा २६ जना, बासगढी नगरपालिकामा २० जना हालसम्म संक्रमित रहेका छन् ।
राजापुर नगरपालिकामा १५ जना, बारबर्दिया नगरपालिकामा ८ जना र ठाकुरबाबा नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए ।