काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता भएको बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै देउवाले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र कूटनीतिक प्रयासबाट फिर्ता ल्याउनेमा प्रमुख प्रतिपक्षी दलले सधै साथ दिने प्रतिबद्धता व्यक्त जनाए ।
उनले कालापानी पूर्वको भूमि नेपालको भएकोमा कुनै शंका नभएको बताए । उनले भने, ‘सुगौली सन्धि १८१६ अनुसार काली नदी पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ । अंग्रेजले छापेको नक्सामा पनि स्पष्ट छ र चिनियाँ नक्सामा पनि कुटियाङ्दी भन्ने उल्लेख छ । त्यसको अर्थ काली नदी भन्ने हुन्छ । काली नदी पूर्वको भाग नेपालको हो भन्ने स्पष्ट छ र दुईमत छैन ।’