डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कन्ट्रोल कक्षमा अनावश्यक ‘ब्लफकल’हरू आउन थालेपछि सुरक्षाकर्मी हैरान भएका छन्। डडेल्धुरा प्रहरीको १०० नम्बरमा दैनिक आउने ब्लफकलले सुरक्षाकर्मीलाई हैरान बनाएको हो।
अत्यावश्यक कामका लागि वा कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका हुन्। ड्युटीमा खटिएका बेला आउने ब्लफकलले हैरान बनाउने गरेको प्रहरीको भनाइ छ। प्रहरीको १०० नम्बरमा दैनिक करिब ४०–५० वटा फोन आउने गरेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। ब्लफकल विशेष गरेर रातिको समयमा आउने गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। ‘ब्लफकल गर्नेहरूमा महिला, पुरुष तथा बालबालिका रहेको भए पनि महिलाको संख्या बढिरहेको छ’ उनले भने, ‘गलत सूचना दिने, जथाभावि गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोही केही नबोल्ने, फोन होल्डमा राखि राख्ने जस्ता कार्य गर्छन्। राति आउने फोनले सुरक्षा प्रदान गर्नसमेत चुनौती थपेको उनको भनाइ छ। कन्ट्रोल कक्षका प्रहरी मात्रै नभई कार्यालय प्रमुखदेखि अन्यलाईसमेत दुःख दिएकाले आवश्यकबिना फोन नगर्न प्रहरीलाई एक सूचना प्रकाशन गर्न बाध्य बनाएको छ।
साथै गैरजिम्मेवारी तवरले भ्रामक सूचना दिने, जिस्काउने, हटलाइन १०० नम्बर व्यस्त पारी सेवा अवरुद्ध पार्ने जस्ता अमर्यादित तथा गैर कानूनी कार्य गरेमा कानुन बमोजिम कारबाही अगाडि बढाउने डीएसी न्यौपानेले एक सूचना प्रकाशित गरि चेतावनी दिएका छन्।