काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेकोले प्रधानमन्त्री बन्नपनि धेरै महिला योग्य र सक्षम रहेको स्पष्ट पारेकी छिन् ।
११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । विश्वव्यापी महिला आन्दोलनको प्रभाव नेपालमा पनि परेको दिनदेखि आजसम्म नेपालमा पनि थुप्रै महिला अधिकारी प्राप्ति र अधिकारको लागि संघर्ष तथा आन्दोलन भएका ईतिहास सुनाउँदै उनले प्राप्त अधिकारको रक्षा गर्दै र पाएको अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकत्ता सुनाईन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले महिला आन्दोलन र संघर्षका कारण अहिले महिलाले संविधानमा अवसर पारेकोपनि स्पष्ट पारिन् । उनले भने,‘हिजोको दिनमा भएका महिला आन्दोलन र संघर्ष अधिकार प्राप्तिको लागि मात्रै थिएनन् । त्यही बलमा शासन व्यवस्था परिवर्तनमा समेत महिला आन्दोलनले अहम भूमिका खेलेको छ ।’ बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाई बेग्लाबेग्लै रुपमा भएपनि बहुदल आएपछि भने उक्त आन्दोलनले एकरुपता पाएको उनले सुनाईन् ।
उनले विगतको ईतिहासलाई सम्मान गर्दै आगामी दिनमा फरक ढंगले अघि बढ्नुपर्ने धारणा राखिन् । ‘संविधानमै ३३ प्रतिशत महिलाहरुको हरेक निकायमा सुनिश्चितताको व्यवस्था भैसकेको छ’–उनले भनिन्,‘समानताको ढोका खोलिएको छ ।’ हरेक क्षेत्रमा रहेका महिलाहरुले आफ्नो वृद्धिविकास र क्षमताको विकास भएको कुरा व्यवहारमै सावित भैसकेको पनि उनको दाबी छ । उनले भनिन्,‘जो जो महिलाहरुले अहिलेम्म महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको छ, उहाँहरुले बढो कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । अब महिलाहरुलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ ।’