नागरिक उड्डयन प्राधकिरणका एक उच्च अधिकारी यसबारे कतैबाट सोधनीसम्म नभएको बताउँछन् ।
‘हामीलाई पनि यो योजना कसरी, के उद्देश्यसहित र के-का आधारमा आयो होला भन्ने अचम्म लागेको छ,’ ती अधिकारी भन्छन् ।
जानकारहरुका अनुसार व्यवसायिक उडान भर्ने विमानलाई राजमार्गमा अवतरण गर्ने (हाई–वे स्ट्रिप) अभ्यास विश्वमा कतै छैन । यद्यपि, आपतकालीन अवस्थामा भने विमानहरु राजमार्गमा अवतरण गरिएका केही उदाहरणहरु छन् ।
पूर्वसचिव तथा तत्कालीन हवाइ विभागका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतम राजमार्गमा व्यवसायिक विमान अवतरण गराउन सम्भव नहुने बताउँछन् ।
‘हाम्रा सडकको दायाँबायाँ बिजुलीका पोलहरु हुन्छन्, सडक पेटी हुन्छन्, सँगै रुखहरु हुन्छन्,’ गौतम भन्छन्, ‘विमान अवतरण गराउने कुरा धेरै संवेशदनशील हुन्छ । राजमार्गलाई धावनमार्ग जस्तै बनाउने योजना ज्यादै खर्चिलो र प्राविधिक हिसावले असम्भव जस्तै हुन्छ ।’
गौतमले विमान अवतरणको विषय सरकारले नीति तथा कार्यक्रमममा ल्याएजस्तो हलुका ढंगको नहुने बताए । अवतरणका लागि भनेर तोकेर निर्माण गरिने सडकलाई आपतकालमै खाली गराउन कठिन हुने उनले बताए ।
गौतमले जस्तै नागरिक उड्डयन प्राधिकरणको उच्च स्रोतले पनि यस्तोखालको अनौठो अभ्यास संसारमा अन्यत्र नगरिएको दाबी गर्यो । ‘सुरक्षा संवेदनशीता भएका देशले सैन्य तथा लडाकू विमान अवतरणका लागि यस्तो अभ्यास गरेका छन्,’ प्राधिकरण स्रोत भन्छ, ‘तर हाम्रो नीति तथा कार्यक्रममा सैन्य प्रयोजनका लागि भनिएको छैन । त्यसैले यो कार्यक्रम हचुवा तरिकाबाट आएको छ ।’
सैन्य प्रयोजनका लागि विभन्न शक्त राष्ट्रहरूले राजमार्गलाई यस्तो धावनमार्ग बनाएका छन् । उनीहरुले युद्धका समयमा रणनीतिक हिसावले संवेदनशील क्षेत्रमा युद्धको आपतकालमा सेना र सैन्य सामग्रीलाई पुर्याउने उद्देश्सहित यस्तो धावनमार्ग बनाएका हुन् ।
सुरक्षाविद बालानन्द शर्माले सैन्य प्रयोजनकै लागि भनेर यस्तो योजना आएको नहुन सक्ने बताए । ‘हामीलाई सैन्य प्रयोजनका लागि यस्तो आवश्यकता नै छैन,’ उनले भने, ‘हाम्रो सेनासँग त्यस्ता धावनमार्गमा ल्यान्ड गर्न सक्ने लडाकु विमान पनि छैन ।’
शर्माको भनाइमा ठूलो क्षेत्रमा फैलिएका र सुरक्षा संवेदनशीलता भएका देशले सबै क्षेत्रमा विमानस्थल बनाउन सक्दैनन् । टावर लगायतका पूर्वाधार राख्दा ठूलो खर्च हुने भएकाले सैन्य प्रयोजनकै लागि राजमार्गमा प्लेन ल्यान्ड गराउन सक्ने बनाइन्छ । युद्धका समयमा फौज खसाल्न यस्तो धावनमार्ग उपयोगी हुन्छ ।
नेपाल असंलग्न राष्ट्र भएकाले त्यस्तो युद्धको तयारीका लागि धावनामार्ग बनाउनुपर्ने अवस्थामा नरहेको विज्ञ बताउँछन् । त्यसैले कसैले सुझाव दिएकै भरमा यस्तो कार्यक्रम पर्यटन मन्त्रीको कार्यभर समेत सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै छिराएको हुन सक्ने अनुमान सडक विभागका अधिकारीको छ ।
‘हामीले सडक फराकिलो बनाउने भनेपछि विमान नै अवतरण गर्न सक्नेखालको हुन्छ भन्ने सांकेतिक अर्थ दिन खोजिएको पनि होला,’ सडक विभागका एक उच्च अधिकारीले अनलाइखबरसँग भने, ‘तर ठूला विमान अवतरण गराउन हाम्रो सडकले धान्छ कि धान्दैन भन्ने विषय पनि महत्वपूर्ण हुन्छ ।’
विज्ञका अनुसार राजमार्गमा विमान अवतरण गराउने काम सजिलो हुँदैन । आपतकालीन अवतरण गराउनुअघि राजमार्ग मात्रै हैन, आकाश पनि खाली गर्नुपर्छ । यात्रु लिएर उडिरहेको विमानले आपतकालीनरुपमा अवतरण गर्नु परे झनै बढी संवेदनशील हुनुपर्छ ।
‘२४ घण्टा नै सवारी गुड्ने राजमार्गमा आपतकालीन अवतरण गराउन जोखिमपूर्ण हुन्छ,’ प्राधिकरण स्रोत भन्छ । राजमार्गलाई धावनमार्ग बनाउँदा कत्रो आकारसम्मको जहाज अवतरण गर्न मिल्ने हो भन्नेदेखि सुरक्षा लगायतका धेरै कुरामा ध्यान दिनुपर्छ ।