बिहिबार , चैतको मध्य दिउँसो।
शिरमा टोपी, निलो धर्के सर्ट र सुरूवालमाथि सल बेरेकी एक जना दिदी कोदालोले रानीपोखरीको भुइँ खनेर घाँस उखेल्दै थिइन्।
उनको दाहिने हातको बूढीऔंलामा सेतो पट्टि थियो। खन्दाखन्दै उनको हात दुख्यो। रानीपोखरी पुलको पिलरमुनि थुचुक्क बसिन्।
‘हेर्नु न काम गर्दागर्दै हातमा चोट लाग्यो,’ के भयो भनेर हामीले सोध्दा उनले भनिन्, ‘काम गर्नै अप्ठ्यारो भयो।’
उनी हुन् सरस्वती भैल। उमेरले ५० नाघिन्। रानीपोखरी बनाउने निम्तो पाएपछि भक्तपुरबाट आएकी।
उनीजस्तै ५० जना दिदीहरू यसैगरी रानीपोखरीमा काम गर्दै छन्। तीसदेखि पच्पन्न वर्ष उमेरका।
भुइँचालोले भत्किएको रानीपोखरी पुनर्निर्माण जिम्मा पाएका यी दिदीहरू दिनहुँ दुई घन्टा यात्रा गरेर भक्तपुरबाट यहाँ आउँछन्।
पुनर्निर्माण क्रममा विभिन्न विवादमा फसेको रानीपोखरीको जिम्मा अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको छ। प्राधिकरणले भक्तपुर नगरपालिकामार्फत् यो टोली परिचालन गरेको हो।
पहिलो चरणमा उनीहरू झन्डै चार वर्षदेखि गढेर बसेको झार उखेल्ने काम गरिरहेका छन्। बङबङ कोदालोले खन्छन्, बेल्चाले उठाउँछन् र सानो गाडामा हालेर एक कुनामा थुपार्छन्।
यो क्रम चलेको ठ्याक्कै एक महिना भयो।
‘बल्ल अलि मेसो सरेजस्तो भएको छ,’ सरस्वतीले भनिन्, ‘आज काम गर्न सकिएन। भोलिदेखि गर्नुपर्छ अब।’
हातको चोट देखेका हामीले सोध्यौं, ‘आराम गर्नुहुन्न र?
‘साह्रै दुख्यो भने नआउने हो। नभए त आइहाल्छु भोलि नै। यहाँ काम गर्न रमाइलो लाग्छ।’
सरस्वती पहिले स्वेटर बुन्ने काम गर्थिन्। स्वेटर बुन्नुभन्दा कोदालो चलाउने, साबेल उठाउने काम कति हो कति गाह्रो। तर, साथीसंगीसँग मिलेर गर्न पाउँदा दुःख नलाग्ने उनले सुनाइन्।
‘सुरुमा छोरा बुहारीले नजानू भनेका थिए,’ उनले भनिन्, ‘भाजुपोखरीमा काम गर्ने सबै साथीहरू जाने भएपछि किन नजाने भनेर आएँ।’
हो, यहाँ खटिएका दिदीहरू तिनै हुन् जसले भक्तपुरको भाजुपोखरी सफलतापूर्वक बनाए।
तीन सय वर्ष पुरानो भाजुपोखरी तीन दशकअघि सुकेको थियो। भक्तपुर नगरपालिकाले यिनै दिदीहरूको सहयोगमा ब्यूँताएको छ।
तीस रोपनीमा फैलिएको भाजुपोखरी परम्परागत शैलीमा पुनर्निर्माण गरेर अब उनीहरू रानीपोखरी ब्यूँताउन आइपुगेका हुन्।
उनीहरूमध्ये धेरैले यसअघि रानीपोखरी देखेकै थिएनन्। भुइँचालोले रानीपोखरी भत्किएको छ भन्ने पत्तोसमेत थिएन।
‘रानीपोखरी बनाउनुछ है’ भनेर कृष्णप्रसाद दुमरुले उनीहरूलाई भनेका थिए। कृष्णप्रसाद भाजुपोखरी जिर्णोद्धार तथा पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन्। उनैले यी सबै महिला बटुलेर यहाँसम्म ल्याएको सरस्वतीले जानकारी दिइन्।
‘हामीले त पहिले रानीपोखरीको नाम मात्र सुनेको। म त आएकै थिइनँ कहिल्यै। काठमाडौंमा एउटा पोखरी छ जहाँ तिहारमा भाइटीका लगाउन जान्छन् भन्ने सुनेकी हुँ,’ उनले भनिन्, ‘त्योबाहेक केही थाहा थिएन। अहिले आफैंले बनाउने मौका पाएँ।’
सरस्वतीलाई मात्र होइन, धमाधम बेल्चा चलाइरहेकी शिवलक्ष्मी वैंजुलाई पनि रानीपोखरीबारे पहिले जानकारी थिएन। कृष्णप्रसादले नै उनलाई भनेका थिए।
‘रानीपोखरीबारे थाहा थिएन। कृष्ण दाइले यहाँ आउने कुरा सुनाउँदा पो बल्ल थाहा भयो,’ शिवलक्ष्मीले भनिन्।
यो समूहका अधिकांश महिला वर्षमा एकपटक जसो मात्र काठमाडौं आउने रहेछन्। दिनहुँ काठमाडौं गएर रानीपोखरी बनाउने प्रस्ताव आएपछि छलफल भयो। भाजुपोखरीको अनुभव सँगालेका उनीहरूलाई रानीपोखरीको बाटो तय गर्न मुश्किल भएन।
‘म त वर्षमा एकपटक नमो बुद्धको मेलामा स्वयम्भूसम्म आउँथेँ। रानीपोखरीको काम गर्न पाएपछि दिनकै आउन पाएका छौं। दिनकै काठमाडौं हेर्न पाएका छौं। खुसी लागेको छ,’ शिवलक्ष्मीले भनिन्, ‘सबै जना भाजुपाखेरीमै काम गरेका हौं। यहाँ पनि रमाइलो भइरहेको छ।’
आउन-जान समय धेरै लाग्ने हुँदा बिहानको समय व्यवस्थापन गर्न गाह्रो परेको उनले बताइन्।
‘भाजुपोखरी र यहाँ काम गर्न उस्तै हो। तर टाढा भयो। उता साढे नौ बजे गए पनि पुग्थ्यो। यता सवा आठमै घरबाट निस्कनुपर्छ,’ शिवलक्ष्मीले भनिन्।
यो समूहका सबै महिला विवाहित छन्। कसैलाई पनि घरपरिवारबाट गाह्रो वा रोकतोक भने नभएको उनीहरू बताउँछन्।
‘हामी कामै गरेर खाने हो। त्यही भएर परिवारबाट समस्या छैन। जाने भए जाऊ भनेर परिवारले नै भनेको हो। जाम भएर कहिलेकाहीँ ढिलो हुन्छ,’ उनले भनिन्, ‘नभए त काठमाडौं आउन रमाइलो लाग्न थालेको छ।’
काठमाडौं फोहोर छ भन्ने सुनेकी र बिरलै आउने गरेकी उनले अहिले काठमाडौं प्यारो लाग्न थालेको सुनाइन्। भनिन्, ‘काम गर्दागर्दै म नै काठमाडौंको जस्तै भइसकेँ।’
शिवलक्ष्मीजस्तै काठमाडौंलाई अपनाएकी छन् गीता वातीले पनि।
आफू र साथीहरूले हातगोडा चलाएर खोस्रिँदै गरेको रानीपोखरी उज्यालो हुँदै जाँदा उनको अनुहारमा पनि चमक बढेको छ।
‘ओहो, हामी आउँदा त झारपात अग्ला भएका थिए। खण्डहरजस्तो। कहाँदेखि काम थाल्ने जस्तो थियो,’ गीताले भनिन्, ‘अहिले यत्तिको रूप देख्दा खुसी लागेको छ।’
भाजुपोखरीको अन्तिम चरणको काम सक्ने जिम्मा नगरपालिकालाई दिएर आएका उनीहरू रानीपोखरी पनि त्यस्तै राम्रो बनाउन चाहन्छन्। तर, अहिलेको गतिमा भइरहेको कामले समयमै बन्न नसक्ने पक्का भएको केशरी कोजु बताउँछिन्।
‘रानीपोखरी त जंगलजस्तै भइसकेको थियो। हामीले यत्तिको त बनायौं। सबै जना हातमा हात मिलाएर काम गरे उनीहरूले भनेजस्तै भाइटीकासम्म सकिन्थ्यो होला। तर यहाँका मान्छे कामभन्दा गफ बढी गर्छन् जस्तो लाग्यो,’ केशरीले निर्माण जिम्मा पाएको निकायलाई लक्षित गर्दै भनिन्।
उनीहरू यहाँ खटेको एक महिना भइसक्यो, निर्माण जिम्मा दिएको निकायले अहिलेसम्म उनीहरूको पारिश्रमिकसमेत टुंगो लगाएको छैन।
दिनकै दुई घन्टा यात्रा गरेर आउने उनीहरूलाई आफूले कति पैसा पाउँछु भन्ने थाहा छैन। भाजुपोखरी बनाउँदा उनीहरूले प्रतिदिन चार सय रूपैयाँ पाएका थिए।
‘कति पैसा पाउने भन्ने थाहा छैन। तर, हामीले काममा कुनै कसर बाँकी राखेका छैनौं,’ केशरीले भनिन्, ‘पैसा टुंगो लागिहाल्छ विस्तारै। लागेन भनेर हाम्रो जोशमा कत्ति पनि कमी छैन। हामीले यस्ता-यस्ता पोखरी बनाउन पाएका छौं। सँस्कृति जोगाउने काममा जुटेका छौं। यसले नै जाँगर दिएको छ।’
उनीहरू पाँचवटा समूह बनाएर काम गरिरहेका छन्। कोही झार निकाल्छन्। कोही गाडामा माटो भर्छन्। कोही माटो लगेर जम्मा गर्छन्। बिग्रिएका ‘वाटर फाउन्टेन’ पनि उनीहरूले नै सारिरहेका छन्।
रानीपोखरी सिँगार्न भन्दै काठमाडौं महानगरले यहाँ करोडौं खर्चेर झिलीमिली पानीका फोहोरा बनाएको थियो। एकाध महिनापछि बिग्रिएर अहिलेसम्म रानीपोखरीमै थन्किएको छ।
बालुवा राख्ने र कालो माटोको लेप लगाउने जिम्मा पनि उनीहरूले नै पाएका छन्। यो उनीहरूले दोस्रो चरणमा गर्नेछन्।
झार उखेल्ने कामै सकिएको छैन। दोस्रो चरणको काम कहिले सुरू गरेर सकिने हो उनीहरूले अन्दाज गर्न सकेका छैनन्। पहिले पनि धेरैले यहाँ काम गरेर अलपत्र पारिदिएकाले झनै लम्बिएको उनीहरूको अनुभव छ।
तै उनीहरू आगामी भाइटीकामा मान्छेको घुइँचो होस् भन्ने लक्ष्य राखेर काम गरिरहेको बताउँछन्।
‘हामीले यहाँ हात हालेका छौं,’ चोट लागेको हातको पट्टि कस्दै सरस्वतीले भनिन्, ‘समयमै सक्ने प्रयास छ। हामीले पनि काम गरेका थियौं भन्न पाइन्छ नि।’
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२