
नेपाल बार एशोसिएशनका दुई पूर्वअध्यक्ष तथा बरिष्ठ अधिवक्ता हरिहर दाहाल र शम्भु थापाले न्यायपरिषद्ले मंगलबार सर्वोच्च र उच्च अदालतमा गरेको न्यायाधीश सिफारिसको विरोध गरेका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै थापाले केही न्यायाधीश नियुक्तिमा बरिष्ठ अधिवक्ता दाहाल र आफ्नो विरोध रहेको बताए।
‘सबै न्यायाधीशको नाममा हाम्रो विरोध होइन। तर सर्वोच्च र उच्च अदालतका केही न्यायधीशको सिफारिसमा ठूलो समस्या छ’, थापाले भने, ‘प्रतीकात्मक रूपमा त्यसको विरोध गर्न बुधबार दिउँसो सुरू हुने न्यायाधीश सम्मेलनमा दाहालजी र म दुवै अनुपस्थित हुने निर्णय गरेका छौं।’
न्यायाधीश सम्मेलन आजबाट राजधानीमा सुरू हुँदैछ।
‘अदालतमा भएको गलत न्यायाधीश सिफारिसबारे सम्मेलनमा न्यायाधीशहरूले छलफल गरून् भन्ने हाम्रो आग्रह छ’, थापाले भने, ‘अहिले सिफारिश भएका केही मानिसका कारण अदालतप्रति आम मानिसको सम्मान घट्नेछ।’
उनले अदालतमा भएका गलत नियुक्तिबारे नेपाल बार एशोसिएशनमा बसेर छलफल गर्न देशभरिका अधिवक्ताहरूसँग छलफल गरिरहेको बताए।
‘साथीहरुसँग सल्लाह गर्दैछौं’, थापाले भने, ‘न्यायाधीश र वकिलहरूले यो विषयमा छलफल गर्नुपर्छ।’
मंगलबार बसेको न्यायपरिषद् बैठकले सर्वोच्चमा पाँच र उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस गरेको थियो।
यीमध्ये केही पूर्वप्रधानन्यायाधीशका नातेदार, प्रधानन्यायाधीशकै इष्टमित्र र केही राजनीतिक नेताका नातेदार पनि परेका छन्।
सर्वोच्च अदालतका लागि सिफारिस भएका मनोजकुमार शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा हुन्। आफू प्रधानन्यायाधीश हुँदै शर्माले मनोजलाई २०७१ सालमा तत्कालीन पुनरावेदनको अतिरिक्त न्यायाधीश बनाएका थिए।
२०७२ सालमा बनेको नयाँ संविधानले अतिरिक्त न्यायाधीशको पद राखेन। त्यसैले उनी पदमुक्त भए। त्यसयता वकालत गर्दै आएका भए पनि शर्मासँग सर्वोच्चको न्यायाधीशका लागि उपयुक्त व्यक्तित्व र क्षमता दुवै नभएको सर्वोच्चकै पूर्वप्रधानन्यायाधीशहरू बताउँछन्।
शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अडानमा सर्वोच्च ल्याइएको स्रोतले बतायो।
स्रोतका अनुसार राणाले पूर्वप्रधानन्यायाधीश दामोदर शर्माको गुन तिर्न मनोजलाई सर्वोच्चमा नियुक्ति गरेका हुन्। शर्माले चोलेन्द्र राणालाई पनि सर्वोच्च तानेका थिए।
त्यतिखेर राणाविरूद्ध न्याय परिषदमा उजुरी थियो। राणाले गरेका फैसलामाथि सर्वोच्चले नै न्यायिक टिप्पणी उठाएको थियो। कारबाहीका लागि परिषदमा सिफारिस पठाएको थियो। तत्कालीन प्रधानन्यायाधीश शर्माले राणालाई त्यस्तो टिप्पणीबाट सफाइ दिएर सर्वोच्च तानेका थिए।
‘त्यसैको गुन अहिले दामोदरका भतिजलाई सर्वोच्च तानेर चोलेन्द्रले तिरे,’ सर्वोच्चमै वर्षौंदेखि वकालत गर्ने एक वरिष्ठ अधिवक्ताले भने।
प्रधानन्यायाधीश राणाले आफ्ना ‘इष्टमित्र’ राख्न अरू दुई जनालाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका छन्।
पहिली हुन्, पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी रेणुका साह।
कम्तिमा १० वर्ष सक्रिय वकालत गरेर नाम कमाएकालाई उच्च अदालतको न्यायाधीश बनाउने प्रावधान छ। रेणुका भने वकालतमा सक्रिय छैनन्।
‘दामोदरका पालादेखि नै साहले आफ्नी छोरीलाई न्यायाधीश बनाउन चाहेका थिए। शर्माले किन पन्छाए थाहा भएन। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीले भने सक्रिय वकालत नगरेको भन्दै मानेनन्, यसपालि राणाले सजिलै बनाए,’ परिषदका एक पूर्वसदस्यले भने।
राणाले साहको पनि गुन तिरेको मान्ने धेरै छन्। साह वरिष्ठतम न्यायाधीशको हैसियतले न्याय परिषदको सदस्य हुँदा राणा सर्वोच्च तानिएका थिए।
राणा आफूले चाहेका तेस्रा व्यक्तिलाई पनि सिफारिस गर्न सफल भएका छन्। ती हुन्, उच्च अदालतकै न्यायाधीशमा सिफारिस भएका अधिवक्ता नवराज थपलिया।
उनी ल क्याम्पसमा पढ्दा अखिलको राजनीति गर्थे। त्यति बेलादेखि नै थपलिया विवादास्पद थिए।
परिषद सदस्य रामप्रसाद सिटौलाको पारिवारिक नाता पर्ने उनी प्रधानन्यायाधीश राणासँग नजिक छन्। राणाकी छोरी र थपलियाकी श्रीमतीको गहिरो दोस्ती छ। उनीहरू कलेजमा कानुन पढ्दादेखिका मिल्ने साथी हुन्। यही कारणले थपलिया पनि प्रधानन्यायाधीशसँग नजिक थिए।
‘थपलिया उच्च अदालतको न्यायाधीश हुनुपर्ने गरी कानुन व्यवसायमा सक्रिय र प्रतिष्ठा कमाएका व्यक्ति हैनन्, बरू उनको छवि कानुन पढ्दादेखि नै विवादास्पद छ,’ उनीसँगै ल क्याम्पस पढेका एक वकिलले सेतोपाटीसँग भने, ‘न्यायाधीश हुने मान्छेले गर्न नहुने कामजति उनले प्राय: सबै गरेका छन्।’
पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश भएर केही समय काम गरेकी निलम पौडेल पनि यसपालिको सिफारिसमा परेकी छन्।
उनी रक्षामन्त्री ईश्वर पोखरेलकी आफ्नै भान्जी हुन्। संविधानले अतिरिक्त न्यायाधीशको पद नराखेपछि उनी पनि न्यायाधीशबाट हट्नुपरेको थियो। त्यसपछि उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्ति गर्दा उनी परिषद्को रोजाइमा परेकी थिइनन्।
त्यस्तै, उच्च अदालतमा सिफारिस भएका हालका जिल्ला न्यायाधीश लेखनाथ ढकाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलबीच पनि पारिवारिक साइनो छ। पौडेल ढकालका सानो बा (आमाकी बहिनीका श्रीमान्) हुन्। जिल्ला न्यायाधीशका रूपमा उनी निकै विवादास्पद न्यायाधीशमध्ये पर्छन्। उनलाई यसपालि परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।
दुई वर्षअघि ढकालविरूद्ध घुस लिएर फैसला गरेको उजुरी न्याय परिषदमा परेको थियो। न्याष परिषदका सदस्यहरू पदम वैदिक र रामप्रसाद सिटौलाको समितिले गरेको प्रारम्भिक छानबिनले ढकालविरुद्ध गम्भीर अनुसन्धान सिफारिस गरेको थियो।
उक्त छानबिन समितिले उनीसहित राजेशकुमार काफ्ले, कुलप्रसाद शर्मा, मोहम्मद जैनुद आजादलाई आरोप र छानबिनको आधार खुलाएरै न्याय परिषदमा आफ्नो प्रतिवेदन पेस गरेको थियो।
यही प्रतिवेदनका कारण उतिखेर उच्च अदालतको ८० न्यायाधीश पदका लागि नियुक्ति हुँदा उनीहरूलाई पन्छाइएको थियो।
उक्त छानबिन समितिले सचेत गराएका नगेन्द्रलाल कर्णलाई पनि यसपटक उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ।
त्यसबेला पन्छाइएका, तर यसपालि उच्च अदालतको सिफारिसमा परेका न्यायाधीश काफ्ले, ढकाल, शर्मा र आजादविरूद्ध कस्ता उजुरी थिए?
राजेशकुमार काफ्ले
एउटा कुटपिटसम्बन्धी मुद्दा सुनुवाइ गर्दै न्यायाधीश काफ्लेले फैसला सुनाएका थिए, ‘प्रतिवादी पक्षले वादी उसलालाई कुटपिट गरेको पाइयो। अर्कोपटक पनि कुटपिट गरे यही मिसिल प्रमाणलाई आधार लिई मुद्दा दायर गर्न सक्ने छन्। प्रतिवादी (गीता श्रेष्ठ) लाई एकपटक सुध्रने मौका दिन बेन्चलाई उपयुक्त लागेको हुँदा मुद्दामा दाबी पुग्ने ठहर्दैन।’
यो आदेशमा कुटपिट गरेको स्थापित गरिसकेपछि पनि दाबी नपुग्ने भन्दै न्यायाधीश काफ्लेले कसुरअनुसार सजाय गरेनन्। समितिले यही आधारमा न्यायाधीश काफ्लेमाथि थप छानबिन गर्न भनेको थियो।
‘कानुनमा व्यवस्था नै नभएको प्रावधान उल्लेख गरी भएको प्रस्तुत फैसलाबाट न्यायाधीशमा न्यायसम्पादन गर्ने क्षमता भएको देखिएन,’ समितिको प्रतिवेदनमा उल्लेख छ, ‘यिनै न्यायाधीशउपर पटक–पटक अन्य उजुरीसमेत परेको देखिँदा निजमा कार्यक्षमता अभाव देखियो।’
लेखनाथ ढकाल
‘नेपाल सरकारले काभ्रेका उमेश बानियालाई ठगी र कालोबजारी मुद्दा लगाएको थियो। उक्त मुद्दा ढकालकै इजलासमा परिरहन्थ्यो। तर, फैसला हुँदैनथ्यो। उमेशका आफन्त, काभ्रे पेट्रोलियम डिलर्स एसोसियसन र उद्योग वाणिज्य संघका प्रतिनिधि न्यायाधीश ढकाललाई भेट्न गए। त्यहाँ पैसाको कुरा भयो। १८ लाख न्यायाधीशलाई बुझाएपछि मात्र २०७३ भदौ २७ गते मुद्दा फैसला भयो।’
न्यायाधीश ढकालविरुद्ध परिषदमा परेको पहिलो उजुरीको बेहोरा यही थियो।
उनीविरुद्ध वादी रामशरण तोलाङे र प्रतिवादी नरेन्द्रबहादुर कार्की रहेको अर्को मुद्दामा १ लाख ९० हजार रुपैयाँ लिएर फैसला गरेको उजुरी पनि थियो।
समितिले यी दुवै उजुरी गम्भीर भएको भन्दै विस्तृत अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ।
कुलप्रसाद शर्मा
सुरेन्द्रकृष्ण श्रेष्ठलाई सुरेन्द्रदास श्रेष्ठले एक करोड रुपैयाँ दिनुपर्ने थियो। उनले चेक दिए। बैंकमा जाँदा भुक्तानी भएन।
त्यसपछि सुरेन्द्रकृष्ण काठमाडौं जिल्ला अदालत गए। ‘चेक अनादार’ मुद्दामा दाबी नपुग्ने भन्दै न्यायाधीश शर्माले प्रतिवादी सुरेन्द्रदासलाई जिताइदिए।
यो मुद्दामा न्यायाधीश शर्माले घुस लिएर कानुनको गलत व्याख्या गरी फैसला गरेको उजुरी परिषदमा पर्यो।
उनीविरुद्ध अर्को उजुरी सप्तरी जिल्ला न्यायाधीश हुँदा ज्यान मार्ने उद्योगका प्रतिवादीलाई सफाइ दिएको भन्ने छ।
दुवै उजुरी छानबिनपछि समितिले शर्मामाथि कार्यक्षमता अभाव भएको र न्यायमा विचलन गरेको आशंका गरेको छ। समितिले उनलाई पनि विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको छ।
मोहम्मद जुनेद आजाद
जिल्ला अदालत दाङमा कार्यरत रहँदा आर्थिक प्रलोभनमा परी मुद्दा फैसला गरेको भन्दै उनीविरुद्ध केही उजुरी परेका थिए।
त्यस्तै, फिल्ड जाने काजविदा नपाएपछि हाजिरीमा मात्र जनाएर उनी विदा बसेको भन्ने अर्को उजुरी थियो। हाजिरी रजिस्टरमा टिपेक्स लगाएको भेटेपछि उनले आचरणविपरीत काम गरेको समितिले ठहर गरेको थियो।
दुवै उजुरीमा छानबिन गर्दा उनीमाथि अझै विस्तृत अनुसन्धान गर्नुपर्ने समितिको भनाइ थियो


जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२