काठमाडौं– लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले काठमाडौंका दुई मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ। बल्खुस्थित कार्की मेडिकल हलका सञ्चालक गोपाल कार्की र बाफलस्थित सौभाग्य मेडिकल हलबाट सुमन खनाललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
दुवै मेडिकलमा ट्रामा नामक लागूऔषध बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले कार्की मेडिकल हल खानतलासी गरेको थियो। जसमा ट्रामा १ सय ५८ क्याप्सुल र २ सय १ कप ट्याप डी फेला पारेको थियो।
कार्कीले सोही स्थानमा सञ्चालन गरेको पूर्णिमा स्टोर्सबाट समेत २ हजार ७० ट्रामा, २ हजार १ सय ३० कप ट्याप डी, १ हजार ६ सय स्टारडन र ११ सय २० डिकोलिट ट्याब्लेट समेत बरामद भएको डिएसपी प्रदीप क्षत्रीले जन न्युज नेपाल खवर डट कम लाइ बताए।
बाफलबाट बिहीबार पाल्पा खस्यौली घर भएका ४० वर्षीय सुमन खनालले सञ्चालन गरेको सौभाग्य मेडिकल हलबाट प्रहरीले ट्रामा ५ सय ट्याब्लेट, स्टागन २ सय ट्याब्लेट, स्पातमल १ सय ट्याब्लेट र ओपिडोल १ सय ट्याब्लेट बरामद गरेको छ।
चिकित्सकको प्रेस्क्रिप्सन अनुसार मात्र बिक्री गर्नुपर्ने औषधि ती मेडिकलमा दुर्व्यसनीहरुलाई बिक्री हुँदै आएको थियो।