Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्युरो अस्पतालमा तिघ्राको अप्रेसन गर्दा बिरामीको मृत्यु,आफन्तद्वारा शव बुझ्न अस्वीकार,अस्पतालमा तनाब


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ६ २०७४
  • 3.6K
    SHARES

विराटनगरः विराटनगरस्थित न्युरो अस्पतालमा देब्रे तिघ्राको हड्डीको शल्यक्रिया (अप्रेसन) गरिएकी बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

आफन्तले बुझ्न नमानेपछि शव अस्पतालमै छ । गत फागुन १९ गते हड्डीको शल्यक्रिया गरिएकी सिरहाको लाहान नगरपालिका १९ की २६ वर्षीया रन्जिता शाहको मङ्गलवार मृत्यु भएको जानकारी अस्पतालले आफन्तलाई दिएको छ ।

उनको उपचारका क्रममा बिहान ११:५० बजे मृत्यु भएको थियो । धनुषाको मिथिला नगरपालिका–३ ढल्केबरस्थित पूर्वपश्चिम राजमार्गमा गत फागुन १८ गते भएको दुर्घटनामा उनको तिघ्राको हड्डी भाँचिएको थियो ।

पूर्वतर्फ आउँदै गरेको साह चढेको स १ च १२१७ नम्बरको कार र पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको डब्लुबी ७४ यु १९६६ नम्बरको कार एकआपसमा जुध्दा घटना भएको थियो ।

एउटाको नाममा अर्कैबाट अप्रशेन

त्यसलगत्तै उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । चिकित्सकले हड्डी भाँचिएका कारण शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको भाइ ललितकुमार साहले बताए । उनले अस्पतालका हाडजोर्नी तथा नशा रोग विभाग प्रमुख डा. नवीनकुमार कर्णको नाममा अर्कै चिकित्सकले शल्यक्रिया गरेपछि दिदीको ज्यान गएको बताए ।

रञ्जीताको हड्डीको शल्यक्रिया डा शिलानन्द श्रीवास्तवले गरेका थिए । कर्ण त्यति बेला बिदामा थिए । ‘नवीनकुमार कर्णले शल्यक्रिया गर्ने भनेर हामीलाई जानकारी गराइयो,’ ललितले भने, ‘पछि शल्यक्रिया अर्कै चिकित्सकले गरेको पाइयो ।’

चिकित्सकको नाम ढाँटेर शल्यक्रिया गर्नु नै अस्पतालको पहिलो लापरबाही भएको उनको भनाइ छ । ‘डा. कर्णले शल्यक्रिया गर्ने भनेर अस्पतालले हामीलाई सहमति पत्रमा हस्ताक्षर गरायो’, उनले भने, ‘तर अर्कै चिकित्सकले लापरवाहीपूर्ण तरिकाले शल्यक्रिया गरेको थाहा भयो ।’

दुवै मिर्गौला फेल

रन्जीताका पति वीरेन्द्र साह लहानमा हेल्थ असिस्टेन छन् । वीरेन्द्रले पनि चिकित्सकको लापरबाहीले पत्नी गुमाउनु परेको गुनासो गरे ।

‘शल्यक्रिया गर्नु अघि उनी हाँस्ने र बोल्ने गरिरहेकी थिइन् । तीन वर्षको छोरालाई दूध पनि खुवाइन्,’ पति वीरेन्द्रले भने, ‘शल्यक्रिया गरिएको चार घण्टापछि बेहोस भइन् । हामीलाई त्यतिबेलै लापरवाहीपूर्ण तरिकाले शल्यक्रिया गरिएको आशङ्का भने लागेको थियो ।’

शल्यक्रियामा हेलचेक्राइँ गरेका कारण त्यसको भोलिपल्ट दुवै मिर्गौलाले काम गर्न छाडेको जानकारी उनले दिए । ‘मिर्गौलाले काम गर्न छाड्दा पनि चिकित्सकले बिरामीको अवस्था राम्रो छ भनेर हामीलाई भनिरहेका थिए’, उनले भने, ‘तर हामीलाई भने मनमा चिसो पसिसकेको थियो ।’

मिर्गौलाले काम गर्न छाडेको भन्दै रन्जितालाई भेन्टिलेटरमा राखेर उपचार गर्न थालेपछि आफन्त कसैलाई भेट्न नदिएको र एक्कासि बिरामीको मृत्यु भयो भन्ने जानकारी मात्रै दिएको वीरेन्द्रले बताए ।

कारबाही माग

उनले बिरामीको उपचारमा हेलचेक्राई गर्ने चिकित्सक र अस्पतालमाथि कारबाही हुनु पर्ने माग पनि गरे । वीरेन्द्रले लापरवाहीपूर्ण तरिकाले गरिएको शल्यक्रियाका कारण शरीरका भित्री अंगहरुमा सङ्क्रमण भएर बिरामीको मृत्यु भएको बताए ।

मन्त्रीलाई गुहारे

मृतकका आफन्तले मङ्गलवार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेटेर दोषीमाथि कारबाही अघि बढाउन माग गरेका छन् ।

उनीहरूले घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषी चिकित्सक र अस्पतालमाथि कारबाही नभए सम्म शव जिम्मा नलिने अडान लिए । उनीहरूले अस्पतालका चिकित्सकको लापरबाहीका विरुद्ध कानुनी प्रक्रियामा जाने पनि बताएका छन् ।

मन्त्री घिमिरेले पनि घटना छानबिनमा सहयोग गर्ने र कोही दोषी पाइए कारबाही गर्ने आश्वासन दिएका छन् ।

पटक पटक लापरबाही

न्युरो अस्पतालमाथि पटक पटक लापरबाहीको आरोप लाग्दै आएको छ । उपचारका लागि आउने बिरामीका आफन्तसँग महँगो शुल्क लिने र उपचार राम्रो नगरिकन लापरबाही गर्ने गरेको आरोप लाग्ने गरेको हो ।

उपचारका क्रममा बिरामीको मृत्यु हुँदा आफन्त र परिवारका सदस्यलाई पैसा बुझाएर घटना सामसुम पारिएका धेरै घटना बाहिर आउने गरेका छन् । उपचारका नाममा न्युरोले बिरामीका आफन्तसँग पूर्वका अन्य स्वास्थ्य संस्था भन्दा अत्यधिक शुल्क लिने गरेको एक चिकित्सकले बताए ।

यसअघि मोरङको ग्रामथान गाउँपालिकाकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको र उपचार गरिदिए बापतको पैसा नतिरेको भन्दै शव आफन्तलाई नबुझाएको कुरा सार्वजनिक भएपछि अस्पताल विवादमा तानिएको थियो ।

अस्पताल भन्छ: लापरबाही होइन

अस्पतालका निर्देशक राजेश भट्टराईले शल्यक्रियामा चिकित्सकले लापरबाही नगरेको दाबी गरे । ‘बिरामीको मृत्यु भएको विषयमा आफन्तसँग पटकपटक वार्ताको प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘तर उनीहरू जति बोलाए पनि हामीसँग सल्लाह गर्न आइरहेका छैनन् ।’

भट्राईले शल्यक्रिया गरिएपछि एक्स्रे समेत गरेर हेर्दा शल्यक्रियाका क्रममा लापरबाही नभएको पुष्टि भइसकेको बताए । उनका अनुसार तिघ्राको हड्डी भाँचिदा बोनम्यारो रगतका माध्यमबाट ‘ट्रन्सफर’ भएर शरीरका विभिन्न अङ्गमा पुगेर असर पुर्‍याएर सङ्क्रमण फैल्याउने भएका कारण त्यसैले बिरामीको मृत्यु भएको हुन सक्छ ।

त्यसलाई ‘फ्याट इम्बोलिजम’ पनि भन्ने गरिएको उनले बताए । भट्टराईले भने, ‘रगतबाट बोनम्यारो ‘ट्रान्सफर भएको खण्डमा नशा लगायत शरीरका विभिन्न भित्री अङ्गमा असर पुर्‍याउँदा त्यही कारणले बिरामीको मृत्यु हुन सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४