Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संस्मरणः के यो प्रेम थियो ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २५ २०७४
  • 9.9K
    SHARES

छत्तीस सालको जनमत सङ्ग्रहको जगजगी ।

मैले तीन कक्षा पास गरी चार कक्षामा भेटेँ— शान्तिलाई । ती गोरी, अग्ली, सुकिली, लामो कपाल भएकी, दुई चुल्ठे कपाल भएकी— शान्ति । मेरी कक्षाकी साथी उनी ।

काँकडभिट्टाको पश्चिम दक्षिणको डाँडामा छ— काँकडभिट्टा हाइस्कुल ।

तीन कक्षा मैले धेरै पढ्नै परेन । यस्तै दुईतीन महिना पढाइ नै पूरा नभई जाँच भएर म चारमा पुगेको थिएँ ।

‘राजा फ्याँक्ने र राजा राख्ने !’ का जुलुस दिनदिनै हुन्थे त्यो बेलामा काँकडभिट्टामा । बहुदल र निर्दलका बन्द हडतालले पुरै डामाडोल भएको थियो— त्योबेला हाम्रो पढाइ ।

चार कक्षा पुगेको पहिल्यै दिनमा दिउँसोतिर कक्षामा एउटी एकदमै सुकिली केटी लिएर धर्मेन्द्र सर कक्षामा पस्नुभयो ।

‘यिनी शान्ति हुन् !’

सरले हाम्रो अगिल्तिर उभिएकी ती गोरी केटीलाई चिनाउनुभयो ।

‘कता पो राखिदिनू… !’

सरका आँखा यताउता कुदे ।

‘सर इवराजका छेउमा…..!’

सबैले एउटै जस्तो स्वरमा भने ।

धेरैजसो मेरो नाम शुद्धसँग भन्न जान्दैनथे ।

‘ठीक छ । तिमी यहीँ बस । यी पढ्न पनि जान्दछन् । फेरि वरपरका कुरा भन्न पनि माहिर छन् । तिमीलाई पढ्नमा सघाउँछन् ।’

सरले ती सुकिली केटीलाई मेरो छेउमा राखिदिनुभयो ।

मैले चोरेर हेरेँ उज्यालो अनुहारकी— ती सुकिलीलाई । मगमग वासनादार तेल लगाएर आएकी थिइन्— तिनले ।

ती पढाइमा ठिकै थिइन् । अक्षर राम्रा थिए ।

तिनको सफा लुगा एकदमै मनपर्‍यो मलाई । सेतो सर्ट सफा, टिलिक्क, नखुम्चिएको । सर्टका बाहुलामा साह्रै राम्रो आइरन दलिएथे । नीलो घुँडासम्मको फ्रकमा पनि धारिला क्रिज हुन्थे आइरन दलिएका ।

म आफ्नो धोक्रो हाफ पेन्ट हेर्थें— सखुवाको मुडोजस्तै । सोलोडालो एउटै । बाहुनले हालेको रेखी असिनापानीले लत्पताएर कता हो कता पुर्‍याएको जस्तो मेरो हाफ पेन्टको क्रिज ।

‘सँगै बस्नु है तँ । यताउताका कुरा पनि बताउनू शान्तिलाई !’

सरले मलाई भोलिपल्टै भन्नुभयो ।

अनि मैले उनलाई छोड्नै मिलेन ।

कक्षामा उनी प्रायः नबोल्ने । एकदमै शान्त स्वभावकी । नाम र आनीबानी एउटै । यसो कालोपाटीतिर हेर्ने । नभए अन्यत्रतिर मुन्टो चलाएको पनि उनले उत्ति साह्राे  देखिनँ ।

स्कुलसँग जोडिएको छ मन्दिर ।

म हरेक दिनको टिफिन खान जाँदा— शान्तिलाई लिएर स्कुल पछाडि जान्थेँ ।

मन्दिरको दक्षिणपट्टि रुखपात थिए । चारपाँच निबुवाका बोट थिए ।

झ्याम्म परेका पोथ्रा छेउमा म हरेक दिन लिएर जान्थे— उनलाई । उनी खुट्टा पसारेर बस्थिन्— टिफिनबट्टा खोलेर खुरुखुरु खाजा खान्थिन् ।

म उनलाई उत्तरपट्टिको बाहुनडाँगी देखाउँथे ।

‘हात्तीहरु आएर धानबाली खत्तम पार्छन् । उता पारि नक्सलबारीको चियाबारीबाट आएका हात्तीले घर लडाउँछन् । राति–राति आउँछन् नि हात्ती !’

‘पोहोर त एउटी बूढीलाई पनि हात्तीले किचेर मारे ।’

बाहुनडाँगीतिर देखाएर मैले भनेँ ।

अनि निबुवाको पात चुडेर खाएँ । पिरो–पिरो त्यो पात मलाई मनपथ्र्यो ।

अर्को दिन फेरि टिफिनको खाजा खान त्यही बोटमुनि पुगियो । उनी त्यसै गरी खुट्टा पसारेर खाजा खान्थिन् ।

मैले दक्षिणतिरको फाँट देखाएर भनेँ— ‘सत्तीघट्टा त्यतै पर्छ । राजकुमारको बगान त्यतै छ ।’

उनले मुन्टो हल्लाउँदै खाजा खाइन् ।

कहिलेकाँही खाजा धेरै हुन्थ्यो क्यारे । उनले खाइनसक्दै घन्टी बजिसकेको हुन्थ्यो । कुद्दै कक्षाभित्र पस्दा सर आइसकेको हुनुहुन्थ्यो ।

शुक्रबार खाजा खान जानु पर्दैनथ्यो— किनभने बाह्र बजे नै छुट्टी हुन्थ्यो ।

आइतबारदेखि बिहीबारसम्म मैले निबुवाको बोटमुनि लगेर शान्तिले खाजा खाउञ्जेलमा बताउँथे वरपरका धेरै कुरा ।

एकदिन पश्चिमपट्टि देखाएर भनेँ— ‘काली खोलापारि पत्तालगङ्गा छ । त्यहाँ पानी भुलभुल मास्तिर आउँछ । आ’को आ’कै गर्छ । जस्तै गर्मीमा पनि एकदमै चीसो पानी हुन्छ ।’

उनले अचम्म मानेर आँखा झन् ठूला पारिन् । मेरा कुरा उनी चाख मानेर सुन्थिन् । खाजा खानै बिर्सिन्थिन् ।

घण्टी लाग्दा पो हतारिँदै खाएर— बट्टा बोकेर कक्षामा पुग्थ्याैं हामी । कत्ति धेरै स्वाँ–स्वाँ हुन्थ्यो त्यतिखेर ।

अर्को दिन मैले पूर्वतिर देखाएर भनेँ— ‘तिमी मेची खोला गएकी छौ ?’

‘अहँ !’

उनले टाउको हल्लाएर नगएको कुरा भनिन् ।

‘कत्रो ठूलो खोला छ । बगर पनि कत्रो ठूलो छ । बगरमा काँसैकाँस छ । म त गाई चराउन पनि गएको छु । ओहो, खोलामा कत्ति धेरै पानी ।’

‘साथीहरु त गोल नि खेल्छन् चौरमा ! मोजाको गोल ।’

शान्तिका आँखा उज्याला भए मेरा कुराले ।

एउटै कुराले टिफिनको टाइम बितिसक्थ्यो । उनी मेरा कुरामा लाग्थिन्।

उनी बट्टाको खाजा खान्थिन्– म चुटुक्क टिप्थेँ निबुवाको पात । कहिले चुसेर फ्याक्थेँ, कहिले अलि–अलि खाएर थुक्थेँ ।

एक दिन पश्चिमतिर देखाउँदै भनेँ— ‘ऊ त्यो खाल्डो छ नि, त्यहीँ हो नि मेरो हाफ पेन्ट सिलाएको । त्यो भन्सार हो । त्योभन्दा पछाडि आया बारी, इँट्टाभट्टा पर्छन् ।’

उनी सुनिरहेकै हुन्थिन् ।

अर्को दिन उत्तरतिरकै धेरै परतिर आैंला चुच्याएर भनेँ— ‘त्यो टोकला चिया बगान हो । एकदमै ठूलो छ । इलामसम्म छुन्छ रे यो बगानले ।’

मैले टोकलाको वयान गर्दा चार/पाँच वटा निबुवाको पात खाइसकेको थिएँ । मेरो खाजा त्यही थियो ।

उनी बट्टामा रहेको भुटेको, तारेको अनेक प्रकारका खाजा खान्थिन् । चाउमिन र कुखुराका फूल रहरलाग्दा गरी तारेर हालिएको देख्थेँ उनका खाजाका बट्टामा ।

कुनै एक आइतबार हुनुपर्छ । म र शान्ति टिफिनमा त्यही निबुवाको फेदमा गयाैं ।

‘हाम्रा ठूलाबा–आमा त चिनी किन्न नक्सलतिर जान्छन् । धेरै–धेरै चिनी ल्याएर यता बेच्छन् !’

मैले घरको कुरा भनेँ ।

त्यो बेला पारि भारतबाट चिनी ल्याएर नेपालमा बेच्ने चलन थियो । त्यो कुरा सर्लक्कै भनेँ ।

उनले निकै ध्यान दिएर सुनिन् मेरा कुरा । । गफको तालमा उनले खाजा खाइन् । मेरो खाजा त उही निबुवाको पात ।

हामी निबुवाको झाङ अगिल्तिर बसेका हुन्थ्यौँ । त्यसको छायाँले शीतल दिन्थ्यो । हाम्रा ढाडपट्टि निबुवाको रुख हुन्थ्यो । गफको तालमा म निबुवाको पात चुँडेर खान्थेँ— शान्ति खान्थिन् टिफिनको अघाउँजी खाजा ।

एक दिन मैले दक्षिणतिरको बगरपट्टि देखाएर भनेको थिएँ— ‘शान्ति, कालीखोला पारिका केटीले घडी बोकेर पानीट्याङ्की (मेचीपारि) बाट आएका रहेछन् । पुलिसले सबै समातेछ ।’

त्यो बेला धुलाबारीमा बिक्री गरिने चाइनिज घडीहरु सिलिगुडी, नक्सल, पानीट्याङकी पुर्याउने गरिन्थ्यो । त्यताका गफमा भुलेर मैले निबुवाको चारपाँच पात खाइसकेको थिएँ ।

करिब छ महिनापछि एक दिन शान्ति कक्षामा देखा परिनन् । शान्ति नआएपछि म निकै खिन्न भएँ । टिफिनमा त्यत्तिकै निबुवाको बोटको एक फन्को लाएर आउँथेँ म । बस्ने मन चैँ कत्ति नि भएन ।

‘अब उनी आउँदिनन् । उनका बाबु भन्सारका हाकिम थिएँ । हाकिमको सरुवा भयो ।’

कक्षामा धर्मेन्द्र सरले एक दिन भन्नुभयो ।

शान्ति नभएपछि म निबुवाको बोटमा जानै छोडिसकेको थिएँ । मलाई त्यता जानै मन लाग्दैनथ्यो ।

एक हप्तापछि कसो–कसो म पुगेंछु– निबुवाको बोट छेउमा ।

मैले यसो गहिरिएर हेरेँ— सबै निख्रिएको रहेछन् निबुवाका पात ।

जिङरिङ्ग रुख– उजाड देखेँ ।

रुखजस्तो मन भयो– खङ्ङ्ङ ।

मैले शान्ति सम्झिरहेँ… सम्झिरहेँ… ।

सेती, सुकिली, अग्ली र आइरन दलेका लुगाले सजिएकी— दुईचुल्ठे शान्ति ।

गफको तालमा मैले सबै पात चुँड्दै खाएकोरहेछु– र पो रुख भएको जिङ्ङ्ङ !

२०७४ फागुन १९ गते १२:३० मा प्रकाशित (२०७४ फागुन २० गते १९:०५मा अद्यावधिक गरिएको)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४