Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पठनपाठन ठप्प पारेर हडतालमा शिक्षकहरू, ऐन नआएसम्म नरोक्ने चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २४ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । संघीय विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकहरूले आन्दोलनलाई थप सशक्त बनाएका छन् । पाँच दिनअघि काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको आन्दोलन सोमबारदेखि विद्यालय बन्द गरेर हडतालको रूपमा अघि बढेको हो ।

सरकारले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि शिक्षकका मागप्रति कुनै ठोस चासो नदेखाएको भन्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन उग्र बनाइएको छ । महासंघले देशभरका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेर आन्दोलनमा एकजुट हुन शिक्षकहरूलाई आह्वान गरेको छ ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आइतबारसम्म आन्दोलन केही ‘सफ्ट’ शैलीमा अघि बढाइएको भए पनि सोमबारदेखि आन्दोलनले नयाँ रूप लिने बताए । उनले विद्यालय शिक्षा ऐन ल्याउन सरकारलाई दवाब दिन शिक्षकहरूको व्यापक सहभागिता आवश्यक रहेको भन्दै यसपटक आन्दोलनलाई ऐतिहासिक बनाउने बताए । उनले सरकारलाई वार्ताका लागि पटक-पटक समय दिएको भए पनि ऐनप्रति कुनै गम्भीरता नदेखिएकोले अब ऐन निर्माण नगरेसम्म शिक्षकहरू सडकबाट फर्किने अवस्था नरहेको स्पष्ट पारे ।

आन्दोलनको क्रममा आइतबार काठमाडौंको माइतीघर, बबरमहल र बिजुलीबजार क्षेत्र शिक्षकहरूको नाराले गुञ्जायमान बन्यो । करिब २५ हजार शिक्षक सहभागी भएको आन्दोलन व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गरिएको थियो । सडकमा फोहोर नगरिएको, शिक्षण पेशाको गरिमा कायम राख्दै सांस्कृतिक कार्यक्रममार्फत सन्देश दिइएको आन्दोलनको विशेषता हो ।

आज शिक्षकहरूको संख्या दोब्बर अर्थात् ५० हजारभन्दा बढी पुग्ने अनुमान गरिएको छ । शिक्षकहरूले आन्दोलन चलिरहेको अवधिभर एसइई कपी परीक्षण पनि रोक्ने र अन्य शैक्षिक गतिविधि ठप्प पार्ने चेतावनी दिएका छन् ।

शिक्षकहरूको आन्दोलनको पृष्ठभूमिमा गत वर्ष असोज ५ गते सरकारसँग गरिएको सम्झौता कार्यान्वयन नभएको गुनासो छ । उक्त सम्झौतामा माध्यमिक तहका शिक्षकहरूको बढुवा, सेवावधिको गणना, विभागीय कारबाहीको पुनरावलोकन, निवृत्तिभरणसम्बन्धी व्यवस्था, करार तथा अनुदान कोटामा रहेका शिक्षकहरूको प्रतिस्पर्धा लगायतका विषय समेटिएका थिए । तर, सम्झौता भएपनि सरकारले आवश्यक कानुनी प्रक्रिया अघि नबढाएकोले शिक्षकहरू सम्झौता सम्झाउन काठमाडौं भेला भएका हुन् ।

शिक्षकहरूको आन्दोलनप्रति सरकार संयमित रहेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रतिक्रिया दिएका छन् । उनले सरकारले शिक्षकका मागहरूलाई गम्भीरतापूर्वक लिएको र मन्त्रालय विभिन्न पक्षहरूसँग छलफलमा रहेको बताए । तर, शिक्षकहरू भने अब वार्तामा नभई कानून निर्माणमार्फत मात्रै समस्याको समाधान हुने अडानमा उभिएका छन् ।

आन्दोलनमा नेपाल शिक्षक महासंघसहित १५ वटा राजनीतिक दलनिकट शिक्षक संगठनले पनि ऐक्यबद्धता जनाएका छन् । ती संगठनहरूले संयुक्त रूपमा हस्ताक्षर गर्दै शिक्षा ऐन संसदमा नपेस नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । आन्दोलनमा एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संघ, मधेशी शिक्षक फोरम, लोकतान्त्रिक शिक्षक युनियन, अखिल नेपाल शिक्षक संघलगायतका संगठन सक्रिय सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४