Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति-प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले दिए छठ पर्वको शुभकामना


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २२ २०८१
  • 2K
    SHARES

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले छठ पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना व्यक्त गर्दै प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् भनी कामना गरे ।

सूर्य देवता र छठी माताको पूजाअर्चना र व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम बसी धुमधाम तथा हर्षोल्लासका साथ छठ पर्व मनाइन्छ । खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन् ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ । भेदभावविना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर पूजाआराधना गरी यो पर्व मनाइन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएको स्मरण गरेका छन् । छठ पर्वको शुभकामना दिँदै उनले प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको उल्लेख गरे ।

सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको माप सुरु भयो । हाम्रा पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन्। सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना उनले शुभकामना सन्देशमा भनेका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ ।

सभामुख देवराज घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाएकाे बताएका छन् । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका छठ धर्मावलम्बी सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

उनले छठ पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् । “छठ पर्वले धार्मिकसँगै सामाजिक एकतालाई बलियो बनाउन मद्दत गरेको महसुस गरेको छु” सन्देशमा भनिएको छ, “यो पर्व कुनै जात, वर्ग वा धर्ममा आधारित छैनस समाजका सबै मानिसले एउटै उद्देश्यका लागि सामूहिक रूपमा पूजा गर्ने र समाजमा समानता र भाइचारा बढाउन सहयोग गरिरहेका छन् ।”

शुभकामना सन्देशमा छठ पर्व विशेषरुपमा सूर्य देवताको आराधना र उपासना गर्ने पर्व भएको र जसले स्वास्थ्य, सुख–समृद्धि र सन्तान सुखको आशीर्वाद दिने विश्वास गरिने उल्लेख छ । सूर्य देवतालाई रोग निवारण, शक्ति, र स्वास्थ्यका देवता मानिन्छ । यस पर्वमा सूर्य, जल र प्रकृतिको महत्वपूर्ण भूमिका हुन्छ ।

“नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकाबारे हामी सबै जानकार नै छौँ । छठ पर्वले नागरिकस्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेको छ”, सन्देशमा भनिएको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले हरेक समुदाय, जाति र क्षेत्रमा आफ्नो संस्कार एवं आस्थाअनुसार चाडपर्वहरू मनाउनु र यस्ता समुदाय विशेष चाडपर्वलाई सम्मान गर्नु नेपालीहरूको सांस्कृतिक विशेषता भएको र यो नेपाली समुदायका लागि गर्वको विषय भएको उल्लेख गरे ।

अध्यक्ष दाहालले तराई–मधेशमा सूर्यको पूजा गरी उल्लासपूर्वक मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ । “मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान पनि दर्शाउने गरेको पाइन्छ । हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो । संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ । कुनै पनि जातजाति, क्षेत्र वा समुदायमा मनाइने पर्वहरूमा सम्पूर्ण नेपालीहरू उत्साहपूर्वक सहभागी बन्ने मान्यता मजबुत बन्दै गएको छ । यो राम्रो पक्ष हो”, सन्देशमा भनिएको छ ।

सभाध्यक्ष दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिविम्बित गरेको र विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताए । परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गरेका छन् । छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताए ।

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र यस पर्वका अवसरमा सभापति देउवाले तराईवासीलगायत सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरे । “नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । अति श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले सन्देशमा भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४