Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कृत्रिम रुपमा पकाइएका फलफूलबारे जान्नैपर्ने कुरा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ११ २०८१
  • 3.2K
    SHARES

काठमाडौं । ताजा अनि पाकेका फलफूलमा पर्याप्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट पाइने हुँदा यसले गर्मीमा शीतलता र तत्काल ऊर्जा प्रदान गर्न मद्दत गर्छ । पानीको मात्रा पर्याप्त हुने हुँदा ताजा फलफूलले शरीरलाई हाइड्रेटेड राख्न पनि मद्दत गर्छ ।

तर गर्मीयाम लागेसँगै पाकेको फलफूल भन्नासाथ पाकेको हो कि पकाइएको भन्ने प्रश्न नेपाली समाजमा सर्वत्र सुन्न थालिएको छ । अझ नेपाली बजारमा आउने सबै फलफूल विषाक्त छ र कृत्रिम रुपमा पकाइएका फल आउने हुँदा यसको प्रयोग गर्नु हुँदैन जस्ता छलफल हरेक वर्ष व्यापक रुपमा सुनिन्छ ।

आखिर किन पकाइन्छ त फलफूल ?

बिरुवा हुर्किने, फल लाग्ने, फल परिपक्व हुने र पाक्ने एउटा विशेष प्राकृतिक प्रक्रिया हो । बोटमै प्राकृतिक रुपमा पाकेको फल खान सबैभन्दा उत्तम भएपनि सबै ठाउँमा सबैखाले फलफूल पर्याप्त मात्रामा उत्पादन हुँदैन ।

नेपालको सन्दर्भमा अधिकांश फलफूल भारत, इटाली र नेदरल्यान्डबाट आयात हुने गरेको पाइन्छ । यसरी लामो दूरीमा ढुवानी गर्नुपर्ने छोटो आयु भएका फलफूललाई परिपक्व अवस्थामा टिपेर भण्डारण र ढुवानी गर्दा बिग्रिने र खेर जाने समस्या देखिन्छ । त्यसैले आँप, केरा र मेवा जस्ता फलफूललाई काँचो हुँदा नै ढुवानी गरी बिक्रीस्थलमा लगेर पकाउने गरिन्छ । तसर्थ, कृत्रिम रुपमा फलफूल पकाउने विधि नेपालमा मात्र नभई विश्वभरि नै अपनाइने अभ्यास हो ।

कसरी पकाइन्छ फलफूल ?

प्राकृतिक रुपमा फलफूल पकाउन पराल/सेउला/अन्न/कपडा आदिमा गुम्स्याएर राख्न, एउटा भाँडामा पाकेको र नपाकेको फल सँगै राख्न वा तातो खाल्डोमा गुम्स्याएर राख्न सकिन्छ । प्राकृतिक विधिमा पाक्न समय धेरै लाग्ने भएपनि यस विधि अपनाएर पकाइएको फलफूलले स्वास्थ्यमा कुनै प्रकारको नकारात्मक असर गर्दैन । तसर्थ, सकेसम्म प्राकृतिक विधि अपनाउनु नै उत्तम हुन्छ ।

कृत्रिम रुपमा फलफूल पकाउन मुख्यतया एथिलिन र क्याल्सियम कार्बाइड जस्ता रसायनको प्रयोग भएको पाइन्छ । क्याल्सियम कार्बाइड प्रयोग गरेको फलफूल खाँदा बान्ता हुने, छाती दुख्ने, घाँटीमा घाउ आउने, पेट पोल्ने, तिर्खा लाग्ने, निल्न गाह्रो हुने, आँखा पोल्ने, आँखामा दीर्घकालीन क्षति हुने, अल्सर हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्न सक्ने हुँदा नेपालको खाद्य नियमावली २०२७ को नियम (घ)ले फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई फलफूल पकाउन प्रयोग हुने कार्बाइड प्रयोग गर्न निषेध गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार व्यावसायिक रुपमा फलफूल पकाउने व्यवसायीहरुले रसायन प्रयोग गरी फलफूल पकाउनुपर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनको तोकिएको विधि अनुरुप मात्र प्रयोग गर्न पाइन्छ ।

यस्ता रसायन प्रयोग गर्दा व्यवसायीले के कुरा ध्यानमा राख्ने ?

व्यवसायीले फलफूल पकाउन कम्तीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले दिएका मापदण्ड पूरा गर्नसके धेरै हदसम्म प्रयोग गरिएको रसायनको कारणले हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले आयातकर्ता, उत्पादनकर्ता, भण्डारणकर्ता तथा बिक्रेताले ध्यान दिनुपर्ने भनी दिइएका मुख्य बुँदाहरु यस्ता छन् ।

कार्बाइड प्रयोग नगर्ने

– एथिलिन ग्यासको प्रयोग गर्दा पनि यो सिधै फलको सम्पर्कमा आउन नहुने हुनाले प्याकेटलाई सानो-सानो प्वाल पारिएको प्लास्टिकको बट्टाभित्र राखेर र स्प्रे गर्दा फलफूलमा सिधै नगरेर खाली ठाउँमा ग्यासलाई स्प्रे गरेर मात्र प्रयोग गर्ने ।

– एथिलिन ग्यास प्रयोग गर्दा १०० पीपीएमसम्म मात्र प्रयोग गर्ने ।

– एथिलिन ग्यास प्रयोग गर्दा तापक्रम, ह्युमिडिटि र कार्बन डाइअक्साइडको मात्रा मिलाएर हावा नछिर्ने कोठामा २४ देखि ४८ घण्टाको लागि प्रयोग गर्ने ।

विश्वासिलो कम्पनीबाट (कम्पनीको नाम, प्रयोग गरिएको सामग्री र प्रयोग गर्ने तरिका बुझ्नेगरी लेखिएको) एथिलिन स्रोतको मात्र प्रयोग गर्ने ।

उपभोक्तामा अपील

उपभोक्ताले फलफूल खरिद गर्दा र खानुभन्दा अगाडि केही सामान्य सावधानी अपनाउनुपर्छ । रसायन राखेर पकाएको आँपको भेट्नु कालो हुने, यस्ता आँपमा अरु स्थानमा पनि केही काला कुहिन लागेका जस्ता छिर्का देखिने र कतै कतै खरानी जस्तो सेतो केही लागेको जस्तो लक्षण देखिने हुँदा सकेसम्म यस्ता आँप किन्नु हुँदैन । बजारमा फलफूल किन्दा सकेसम्म खुला ठाउँमा राखिएको किन्नु उपयुक्त हुन्छ ।

फलफूल किन्दा र प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी

– फल किन्दा माथि उल्लेखित लक्षण देखिएका फलफूल सकेसम्म नकिन्ने |

– बेमौसमी फलफूल भन्दा मौसमी फलफूल किन्ने |

– फललाई खानु भन्दाअघि करिब आधा घण्टा जति पानीमा भिजाइराख्ने |

– फलको बोक्रालाई पूर्ण रुपमा तासेर खाने ।

उपभोक्ताले कृत्रिम रुपमा पाकेको फलफूलको बारेमा आवश्यक जानकारी राखेर किन्ने र उपभोग गर्ने, व्यवसायीले उचित विधि प्रयोग गरेर मात्र भण्डारण एवं ढुवानी गर्ने र नियमनकारी निकायले यसको उचित अनुगमन र कारबाही गर्न सके कृत्रिम रुपमा पकाइएको फलफूलसम्बन्धी बढिरहेको त्रास र जोखिम न्यूनीकरण गर्न सकिन्छ |

(दाहाल खाद्य अनुसन्धान अधिकृत हुन् ।)

मीठो र रसिलो आँप मन नपराउने सायदै होलान् । तर आँपलाई छिटो पकाउन र रसिलो बनाउन धेरै रसायनको प्रयोग गरिने कुरा बेलाबेलामा सुनिन्छ । रसायन र कीटनाशकहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् । त्यसैले रसायन प्रयोग गरेर पकाएको आँपले पनि स्वास्थ्यमा असर गर्छ ।

यस्तो अवस्थामा आँप किन्दा केमिकलमुक्त आँपको पहिचान गर्नु जरुरी हुन्छ । किनभने रासायनिक तरिकाले पकाएको आँपमा क्याल्सियम कार्बाइड नामक रसायन हुन्छ । यसले पेट फुल्ने, पखाला लाग्ने र पेटमा ग्यास भरिने हुन्छ ।

विभिन्न अध्ययनअनुसार रासायनिक रूपमा पाकेको आँपको अत्यधिक सेवनले क्यान्सरको जोखिम बढाउँछ । यी आँपमा भिटामिन र मिनरल्सको मात्रा कम हुन सक्छ र यसमा हानिकारक विषाक्त पदार्थहरू उच्च मात्रामा पाइन्छ, जसले हृदयरोग, मधुमेह र मिर्गौला रोग निम्त्याउन सक्छ । कहिलेकाहीं कीटनाशकको कारण छाला एलर्जीको जोखिम पनि हुन्छ ।

आँप भिटामिन सी, भिटामिन ए, भिटामिन ई, फोलेट, भिटामिन बी ६ का साथै कपर, म्याग्नेसियम जस्ता खनिजको राम्रो स्रोत हो । प्राकृतिक रूपमा पाकेको आँपको तुलनामा रासायनिक तरिकाले पकाएको आँपमा भिटामिन ए, भिटामिन सी र अन्य पोषक तत्त्वको मात्रा कम हुन्छ ।

यस्तोमा रसायन प्रयोग भएको आँप चिन्नका लागि केही सजिलो परीक्षण गर्न सकिन्छ ।

रंगद्वारा पहिचान

सामान्यतया धेरै आँपको आकर्षक रङ हेरेर त्यसको आधारमा आँप किन्ने गर्छन् । तर रङकै आधारमा त्यसमा रसायन प्रयोग भएको छ कि छैन भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ । आँप प्राकृतिक रूपमा पाकेको छ भने यसको रङ हल्का पहेंलो र हरियो हुन्छ । रसायनले पकाएको आँप भने धेरै गाढा पहेंलो रङको हुन्छ ।

दाग हुनसक्छ

आँपमा रहेको दागले पनि यसको रासायनिक मिसावट भएको संकेत दिन सक्छ । कतिपय आँपमा नीलो, कालो वा सेतो दागहरू देखिन सक्छ । यस्ता आँप किन्नु हुँदैन । केमिकलका कारण यस्तो दाग देखिएको हुन्छ ।

पानीमा डुबाएर जाँच्ने

घरमा साधारण परीक्षण गरेर केमिकल पत्ता लगाउन सकिन्छ । किनेर ल्याएको आँपलाई पानीले भरिएको बाल्टिनमा राख्नुहोस् । पानीमा डुबेको आँप प्राकृतिक रुपमा पाकेका हुन् । माथि तैरिने आँपहरू केमिकलले पकाएको हुनसक्छ ।

काटेर हेर्ने

आँप काट्दा गुदीको रङ एकै किसिमको पहेंलो भएमा प्राकृतिक रूपमा पाकेको हुन्छ । यदि आँपको छेउको भाग धेरै पहेंलो छ र बीचको भाग हल्का मात्र पहेंलो छ भने यो केमिकलको संकेत हो ।

बास्ना महत्त्वपूर्ण छ

रसायन प्रयोग भए नभएको पत्ता लगाउन आँपको सुगन्ध पनि धेरै महत्त्वपूर्ण छ । रसायनको प्रयोगबाट पाकेको आँपको बास्ना निकै कम हुन्छ र कुनैमा आँपमा त बास्ना नै हुँदैन । तर प्राकृतिक रूपमा पाकेको आँपको मीठो बास्ना हुन्छ ।

स्वाद फरक हुन्छ

रसायन हालेर पकाइएको आँप प्राकृतिक रुपमा पाकेकोको तुलनामा कम गुलियो र कम स्वादिष्ट हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४