काठमाडौं । राजधानी काठमाडौंलाई व्यवस्थित, मर्यादित र स्वच्छ बनाउने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र “बालेन” साहले राजधानीमा मौलाएको बेथिती र बिसंगती अन्त्य गर्ने नाममा एकपछि अर्को गर्दै नयाँ नयाँ नियम लागू गर्ने गरेका छन् । त्यसको स्वागत पनि हुने गरेको छ । तर, कार्यान्वयन अवस्था भने कमजोर रहने गरेको छ ।
काठमाडौं महानगरपालिकाले यही मंसिर २७ गतेबाट सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गर्यो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णनिषेध गरिने नियम लागू गरिएको घोषणा गरेक छन् । सिद्धान्ततः यो निर्णय सकारात्मक भएपनि यसको कार्यान्वयनमा भने आशंका गरिएको छ । किनभने विगतमा पनि मेयर साहले गरेका यस्तो लोकप्रिय निर्णयको कार्यान्वयन नभएका थुप्रै उदाहरण छन् ।
काठमाडौं महानगरपालिकामा गत असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रमा धूम्रपान गर्न प्रतिबन्ध लगायो । महानगरपालिकाले धूम्रपान अर्थात् सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाए पनि सर्वसाधारणले आफुखुशी चूरोट तान्दै हिँडिरहेको सडक तथा सार्वजनिक स्थानमा प्रशस्तै देखिन्छन । यस्तै, मेयर साहले महानगरपालिका भित्र खुलारुपमा आगो बाल्ने तथा फोहोर जलाउन नपाइने अर्को घोषणा गरेक थिए ।
खुलारुपमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्य समेतमा प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाएको महानगरपालिकाले यस्तो कार्य गरिएको खण्डमा कानूनी कारबाही गरिनेछ पनि भनियो । योजना सकारात्मक भएतापनि त्यो पनि कार्यन्वयनमा आएन ।
यस्तै, गत साउन १ गतेदेखि मापदण्ड तोकेर प्लाष्टिकको प्रयोगमा निषेध गरियो । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगमा रोक लगाउने र यसको कार्यान्वयनलाई प्रभावकारी बनाउने घोषणा गरियो । तर, त्यो पनि कार्यन्वयनमा ल्याउन सकिएन ।
त्यसो त विश्व सम्पदा क्षेत्रका लागि बनाएको नो भेहिकल जोनमा सवारी साधन प्रवेश गर्न नदिने लगायतका केही नीतिगत प्रबन्ध भने कार्यान्वयनमा आएका पनि छन् । यद्यपी अन्य थुप्रै घोषणाहरु कार्यान्वयन हुन नसिकरहेको अवस्थामा सुर्तीजन्य वस्तुको बिक्री वितणमा रोक लगाउने निर्णयको कार्यान्वयन स्थिति कस्तो रहन्छ, त्यसको मूल्यांकन पनि अव तत्कालै हुने नै छ ।