काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणमा पक्राउ परेका व्यक्ति आफैं प्रहरी चौकीमा पुगेको खुलेको छ ।
मिलको हाताभित्रै शुक्रबार राति एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको थियो । घटनालगत्तै एक जना व्यक्ति आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । उनी २८ वर्षीय दीपेन्द्र राई रहेको प्रहरीले जानकरी दिएको छ ।
प्रहरी स्रोतका अनुसार लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी प्रहरी चौकी पुगेका थिए । घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्याइदिन भनेका थिए ।
प्रहरीले राईलाई पुर्याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । प्रहरी स्रोतका अनुसार चालकले सोधपुछका क्रममा रगत लतपतिएका कपडासहित आएका राईले हड्बडाउँदै आफूलाई प्रहरी कार्यालय पुर्याइदिने भनेको बताएका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा राईका बुवा दिव्य सःमिलमै लामो समय काम गरेर छोडेका थिए । बुवाले काम गर्ने भएकोले पहिलेदेखि नै नवीन त्यहाँ आउनेजाने गर्थे । हत्या भएका नवीन राई उनका साथीसमेत हुन् ।
घटना भएको सःमिलको सामान ओसारपसार गर्ने एक जना रिक्सा चालक बसन्त रोकाका अनुसार पक्राउ परेका व्यक्ति पहिले पनि त्यहाँ आइरहन्थे । बुवाले काम गर्दा उनी त्यहीँ बस्ने गरेका थिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रहरी वृत्त, नयाँ बानेश्वर पुगेर घटनाबारे जानकारी दिने राई नै हत्यामा संलग्न रहेको बताएको छ । हत्याको कारण भने स्पष्ट भइसकेको छैन । राईका बुबा अहिले धनकुटामा छन् ।
मिलका सञ्चालक बालकृण सिवाकोटीले भने घटनाबारे प्रहरीले जानकारी दिएपछि मात्रै थाहा पाएको बताएका छन् । ‘म गौशाला बस्थेँ, बिहान प्रहरीले फोन गरेपछि आएँ’, उनले भने, ‘मिलमा विभिन्न स्थानमा छरिएको अवस्थामा शवहरु थिए ।’
उनका अनुसार हत्या भएका कुमार र अम्बिका मिलकै कर्मचारी हुन् । कुमारकी आमा शुभद्रा भुजेल भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् । ‘श्राद्धका कारण आउनु भएको रहेछ, त्यसपछि त्यहीँ बस्नु भएको थियो’, शिवाकोटीले भने, ‘राति यस्तो घटना भएछ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, घटनामा मिलमा गेट पालेका रुपमा काम गर्दै आएका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङका नविन राईको मृत्यु भएको छ ।
‘मृतकमध्ये राई चाहिँ हाल प्रहरी नियन्त्रणमा रहेका दिपेन्द्रका साथी हुन्’, मिलका सञ्चालक शिवाकोटीले भने । मिल वरिपरि कार्यालयहरु मात्र भएकाले अरुले राति घटनाबारे थाहा नपाएको उनले बताए ।
एसएसपी मैनालीका अनुसार, चारै जनाको शवलाई अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
