काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोलि बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा हुने भएको छ। राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि हुने भएको हो।
नेकपा एमालेले बुधबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जानकारी दिएको छ।
नेम्वाङको अन्त्येष्टि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिने भएकाले शवयात्रा त्यसअघि हुनेछ।
अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला ९ वडा प्रहरी कार्यालय अगाडि पुग्न हुन अनुरोध गरिएको छ।
शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ।
नेम्वाङप्रति बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेको नेकपा एमालेले जनाएको छ ।
चीन भ्रमण छोट्याई आजै स्वदेश फर्किएका महासचिव शंकर पोखरेलले पनि उपाध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।