Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज साउन १५, खीर खाने चलन अर्थात् राष्ट्रिय खिर दिवसको रुपमा मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १५ २०८०
  • 4.1K
    SHARES

काठमाडौँ । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए ।

यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराईको भनाइ छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।

खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको हो । नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलेको पाइन्छ ।

वर्षा सुरु भएदेखि नै खेतीपातीमा व्यस्त हुने किसानलाई पुनर्जागृत गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरुको भनाइ छ । चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकारबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ ।

आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्तसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।

नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४