काठमाडौं । कहिलेकाँही प्रधानमन्त्रीले गलत नियतले मन्त्रालय नै खालि राखेर सांसदसँग बार्गेनिङ गर्ने गर्दछन् । एक दुइवटा मन्त्रालय खालि हुन्छन् तर दिनेले जसलाई पनि त्यही मन्त्रालय दिन्छु भन्दै सधैं अल्मल्याउने गर्छन् ।
अहिले शहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री छैनन् । अरु मन्त्रीलाई नै त्यो मन्त्रालयको जिम्मेवारी दिइएको छ । शहरी विकासको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सम्हालेका छन् । अर्थमन्त्री रहेका युवराज खतिवडाले नै सञ्चारको जिम्मा पाएका छन् । मन्त्रिपरिषद् हेरफेर हुँदा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइ निकालिएपछि त्यो मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरिएको छैन । अहिले नेकपामा आन्तरिक बिबाद भइरहँदा प्रधानमन्त्री ओलीले निकै फाइदा लिएका छन् । रामबीर मानन्धर शहरी विकास राज्यमन्त्री छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा ‘डिलिङ’ गर्दा मन्त्री गोकुलप्रसाद बास्कोटाले जागिर गुमाएपछि सञ्चार मन्त्रालय नेतृत्वविहीन छ । यो मन्त्रालयको जिम्मेवारी खतिवडाले पाए । आफूलाई पत्रकारिताबाट नै आएको भन्दै आएका बास्कोटको छुच्चो बोली र कठोर स्वभावका कारण पार्टी नेताहरु पनि सन्तुष्ट थिएनन् तर ओलीको कृपा पाएकाले कोही पनि बोल्न सकेका थिएनन् । उनको जागिर गएपछि जनता खुशीमात्र भएनन् अरु नेताहरुलाई पनि सही बाटोमा लाग्ने पाठ सिकाएको छ ।
स्रोतका अनुसार आफ्नो पक्षमा सांसद ल्याउन उनी सबैलाई त्यही मन्त्रालय देखाएर आश्वासन बाँडिरहेका छन् । मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीलाई नै भएकाले जसले बडी चाकडी गर्न सक्छ उ मन्त्री हुने सम्भावना हुन्छ । मन्त्री हुनको लागि कुनै पनि मापदण्ड नभएकाले जो पनि प्रधानमन्त्रीको चाकडीमा नै लाग्छन् । ओली प्रधानमन्त्री भएको आज २९ महिना ८ दिन भएको छ । नेकपाका शिर्ष नेताको आन्तरिक भागवण्डाका आधारमा नै मन्त्री बनाइएको छ । एमाले र माओवादी मिलेर नेकपा भए पनि व्यवहारमा भने एकता भएजस्तो देखिँदैन ।
मन्त्री खतिवडा फेरि पनि राष्ट्रियसभामा मनोनीत नभए उनको कार्याकाल भदौ १९ गते सकिँदैछ । उनी सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका राष्ट्रियसभाका सांसद् हुन् । प्रधानमन्त्री र पार्टीकै अरु नेताबीच बिबाद भएकाले एउटा सांसद पद रिक्त छ राष्ट्रियसभामा । सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने सुविधा उपयोग गर्दैछन् खतिवडा ।
खतिवडाले जनताको पक्षमा काम गर्न नसकेको भन्दै दिनैपिच्छे आलोचित भएका छन् । कर्मचारी बृत्तबाट टिपेर राजनीतिमा ल्याएर अचानक ठूलो जिम्मेवारी पाएका उनी प्रधानमन्त्री ओलीको चाहनाले मात्र टिकिरहेका छन् । ओली जुनसुकै हालतमा पनि खतिवडाकै निरन्तरताको पक्षमा छन् । तर सांसद नै नभएका र जनताको वास्तविक समस्याबाट निकै टाढा रहेका उनको पक्षमा नेकपाकै सांसदहरु पनि छैनन् ।