काठमाडौं । शुक्रबार प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । त्यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने तय भएको थियो । तर न प्रधानमत्रीले जवाफ दिन पाए, न नीति कार्यक्रम नै पास भयो । पशुपतिनाथको जलहरीलाई लिएर सत्तारुढ नेकपा माओवादी केन्द्रका एक सांसदले दिएको अभिव्यक्तिलाई लिएर गलफत्ति भयो र सांसदहरु ७ घन्टाबढी कुरेर फर्किएका छन् । नेताहरुका अनुसार बिहान ११ बजे बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेको कार्यकक्षमा सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरु उपस्थित भए ।
त्यसक्रममा उनले भनेका थिए, ‘उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार । त्यति मात्रै होइन, पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु । यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।
नेकपा माओवादी केन्द्रका सांसद दाहालको यस भनाइप्रति माफी नमागेसम्म संसद बैठक चल्न नदिने अडान नेकपा एमालेले राख्यो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले पशुपतिको जलहरीको विषय मात्रै नभएर अन्य धेरै भ्रष्टाचार भएको भनिएका विषयहरु उठाएका कारण ध्यानाकर्षण गराउने हदसम्म उचित हुने सुझाएका थिए । संसद सचिवालयका अधिकारीहरुका अनुसार सबै दलले आ–आफ्ना कुरा राख्ने र बैठक नियमित कार्यसूचीमा अगाडि बढाउने सहमति भयो ।
बैठक अघिको सहमति उल्टियो !
सहमतिपछि निर्धारित समयभन्दा सवा घण्टा ढिलो अर्थात सवा १२ बजे प्रतिनिधिसभाको सुरु भयो । बैठक सुरु हुनासाथ नेकपा एमाले सांसदहरु आ–आफ्नो स्थानबाट उठे । सभामुख घिमिरेसँग समय दिएपछि नेकपा एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षी दलको संसदीय दलको नेता केपी ओलीमाथि भ्रष्टाचारको आरोप लगाउने सांसदले माफी माग्नुपर्ने अन्यथा सदन चल्न नदिने बताएका थिए ।

सभामुखले ध्यानाकर्षण भएको र सरकारले यसबारे जवाफ दिने भन्दै बस्न आग्रह गरेका थिए । तर नेकपा एमालेका सांसदहरु मानेनन् । त्यसपछि नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बोल्न समय दिए । उनले प्रमुख विपक्षी दल, आफ्नो नेतामथि लागेको यति गम्भीर आरोप बोकेर हिड्ँन नसक्ने बताएका थिए । सत्तापक्षले भनेपछि आम मानिसमा होला भन्ने पर्ने भन्दै उनले अघि भने, ‘यो आरोप टाउकोमा हामी कसरी प्रक्रियामा भाग लिन सक्छौं ? दुधको दुध होस्, पानीको पानी होस् । सुनको जलाहरी होइन भने प्रमाणत गरियोस् । कारबाही गरियोस् ।
सभामुख देवराज घिमिरेले ‘संसदमा प्रश्न उठिसकेका कारण विधि अनुसार प्रष्ट पार्न सकिने भन्दै संसदको कामकारबाही अगाडि बढाउनका लागि सहयोगका लागि आग्रह’ गरेका थिए । तर नेकपा एमालेले मानेन । त्यसपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बोल्न समय मागे, सभामुख घिमिरेले दिन खोजे ।
नेकपा एमाले सांसदहरुले भने त्यसको विरोध गरे । त्यसका बाबजुद बोलेका पाण्डेले सांसदमा बोल्न पाउने बताएपछि नेकपा एमाले सांसदहरु हत्तपत्त वेल घेर्न पुगे । उनीहरुले गैरसंसदीय शब्द फिर्ता लिनुपर्ने, सांसद दाहालले माफी माग्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । नेकपा एमालेको अवरोधका कारण बैठक कार्यसूचीमै प्रवेश गर्न नसकेपछि सभामुख घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
स्थगित बैठक पुनः बस्नै सकेन । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले तीन पटक समय सारे । तय भएको समयको दुई घण्टाभित्र बैठक बस्न नसके स्वतः बैठक स्थगित हुने प्रावधानका कारण महासचिव गौतमले सुरूमा दिउँसो ३ बजे, त्यसपछि ६ बजे बैठक बस्ने गरी सूचना टाँस गरे । अनि करिब ८ बजे शनिबार दिउँसो ४ बजे गरी अर्को सूचना टाँस गरेका थिए ।
शीर्ष नेता हिँडे, सहमति जुटेन
प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विषयमा शुक्रबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बेलुकी ८ बजेसम्म पटक–पटक सर्वदलीय बैठक बस्यो । सबै राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न, त्यसउपर संसद र सरकारले गर्नसक्ने कार्यका सम्बन्धमा उपाय खोजे, तर निचोड निस्किएन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार संसद अवरुद्ध भएपछि ९ पटक सर्वदलीय बैठक बस्यो । कुनै पनि बैठकमा नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु सहभागी भएनन् ।
संसद बैठक स्थगित भएपछि प्रधानमन्त्री राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रम, मन्त्रिपरिषदको बैठकतिर गए । नेकपा एमाले अध्यक्ष ओली पनि पार्टीका पूर्व निर्धारित कार्यक्रममा सहभागी भए । प्रचण्ड र ओली बेगर सभामुख घिमिरेको कार्यकक्षमा पटकपटक बसेको सर्वदलीय बैठक कुनै पनि निष्कर्षमा पुग्न सकेन ।
छलफलमा एउटै विषय आइरह्यो । नेकपा एमालेले एउटै अडान राख्यो– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेका छैनन भनेर सरकारले भन्नुपर्छ । र ओलीले भ्रष्टाचार गरेको भनी आरोप लगाउने नेकपा माओवादी सांसद दाहालले माफी माग्नुपर्छ । अन्यथा संसद चल्न दिइँदैन् ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उस्तै तर्क दोहोर्याइरहे– पशुपतिको जलहरीका सन्दर्भमा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर छानबिन भइराखेको छ । महालेखाको प्रतिवेदनले पनि केही प्रश्नहरु उठाएको छ । विचाराधीन विषय भएका कारण पशुपतिको जलहरीमा भ्रष्टाचार भएको छैन भनी सरकारले भन्न सक्दैन । संसदमा बोलेका कारण माफी माग्न लगाउने कानुनी व्यवस्था पनि छैन ।
बरु यो विषय संसदमा उठिसकेकाले संसदीय छानबिन समिति बनाउने प्रस्ताव नेकपा माओवादी केन्द्रले राख्यो । तर नेकपा एमालेका नेताहरुले यो प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ–आफ्नो अडानमा रहेपछि नेपाली कांग्रेसले मध्यमार्गी प्रस्ताव राख्यो–पशुपतिको जलहरीबारे अख्तियरमा अनुसन्धान जारी रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली माथिको आरोप उचित नरहेको भन्ने जनाएकोछ ।
यसो गर्दा नेकपा एमालेले लिँदै आएको अडान अनुसार माफी मागेको भान पर्न जाने र नेकपा माओवादी केन्द्रले अनुसन्धान जारी रहेको विषयमा बोलियो भनेर कम्प्रमाइज गर्न सहज हुने नेपाली कांग्रेसको तर्क छ । तर यसमा दुबै दल सहमत भएनन् ।
सांसदको ७ घण्टा ब्यर्थ
संसदमा भएका दलका प्रमुख सचेतक र सचेतकहरु कहिले सर्वदलीय त कहिले दुई पक्षीय छलफलहरुमा व्यस्त भए । अरु सांसदहरुसँग भने कतिबेला प्रतिनिधिसभाको बैठक सुरु होला भनेर कुरेर बसिरहे । बैठक सुरु हुने आशमा सांसदहरुले संसद भवन भित्र र बाहिर गरि गरि ७ घण्टा बिताए ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी भन्छन्, ‘हाइ काढियो, बसियो यस्तै त हो संसदीय खेल ।
पहिलो पटक सांसद भएकाहरुको अनुभव भने फरक छ । ‘शीर्ष नेतृत्व भन्नेहरुमा यस्तो (इगो, आफैंले भनेको हुनुपर्ने हठ) हुने रहेछ’ एमाले सांसद सुनिता बराल भन्छिन्, ‘सरकारले विषय उठ्यो छानबिन गर्छुभन्दा हुन्थ्यो । प्रतिपक्षले सभाको बैठक अगाडि सभामुखको कार्यकक्षमा भएको छलफलमा बलियो गरी आफ्नो कुरा राख्न सक्थ्यो । हाम्रो कमजोरीका कारणले भएको क्षति भने समग्र मुलुकले बेहोर्नु पर्यो ।’
त्यसैले यस्तो संसदीय अभ्यास परिवर्तन गर्नुपर्ने उनलाई लाग्छ । नेताहरु हुनहुहुन्थ्यो, गफियो । तर त्योभन्दा महत्वपूर्ण कुरा संसदकै ७ घण्टा समय ब्यर्थ भयो’ सांसद बरालले भनिन्, ‘संसद भित्रको हाम्रो मोडालिटी परिमार्जन गर्नपर्छ भन्ने पहिले पनि लाग्थ्यो । त्यसको अनुभुत अझ भएको छ ।