काठमाडौँ । संघीय सांसद डा. चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने भएका छन् । आगलागीमा परेर गम्भीर घाइते भएपनि भारतमा उपचार गरेर फर्किएका सांसद डा. चन्द्रकान्त भण्डारीले बिहान ११ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्ने भएका हुन् ।
गत फागुन ३ गते राति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा डा. चन्द्रकान्त भण्डारी जलेर घाइते भएका थिए । नेपालमा उपचार सम्भव नभएपछि उनलाई मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । त्यहाँ करिब साढे दुई महिना उपचार गराएपछि सांसद भण्डारी गत वैशाख १७ गते स्वदेश फर्किएका हुन् ।
उनले आफ्नो उपचार नेपालमै गर्ने चाहेको भएपनि राज्यले जलन उपचारलाई प्राथमिकतामा नराखेको बताएका छन् । डा. चन्द्रकान्त भण्डारीले आफू भारतमा उपचारका लागि गएपछि वीर अस्पतालमा सुविधा सम्पन्न जलन उपचार केन्द्र बनाउने घोषणा गरेको भए पनि तीन महिनाभन्दा बढी हुँदासमेत सञ्चालनमा नआउनु दुःखद रहेको बताएका छन् ।
उनले आगलागीका घटनामा सामान्यबाहेकको उपचार नेपालमा सम्भव नहुने भएकाले आम नागरिक विदेशमा पुगेर उपचार गर्ने अवस्था नरहेकाले नेपालमै सहज उपचार गराउन आवश्यक प्रविधिसँग पूर्वाधारयुक्त अस्पताल आवश्यक रहेको उल्लेख गरेका छन् । यिनै विषयलगायतमा उनले आजको प्रतिनिधि सभाको बैठकमा बोल्न समय लिएका छन् ।
जलनपछि संसद्मा उनको पहिलो उपस्थिति हुनेछ । सांसद डा. चन्द्रकान्त भण्डारीलाई बस्नको लागि विशेष व्यवस्था मिलाइएको छ ।