काठमाडौं । केही दिनयता देशका विभिन्न ठाउँंमा भइरहेका विरोध प्रदर्शनलाई केपी ओली नेतृत्वको सरकारको असफलताप्रतिको जनआक्रोश र असन्तुष्टिका रुपमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रष्ट्याएको छ ।
शनिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरी कोरोनाविरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न सरकारले नसकेकै कारण परिस्थिति जटिल बनी नागरिकमा आक्रोश जन्मिएको बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घच्घच्यावटलाई ओली सरकारले समयमै बुझेको भए न त कोरोनाको संक्रमण यो रुपमा विस्तारित हुने थियो, न त यसरी जनआक्रोश बढ्ने थियो ।’
शर्माले प्रदर्शनमा अभिव्यक्त जनभावनालाई सम्बोधन गर्न र बल प्रयोग नगर्न कडा चेतावनी दिए । उनले भने, ‘युवाहरुको प्रदर्शनमा तिनै मुद्दाअघि सारिएका छन् । जुन विषयहरु लगातार चार महिनादेखि प्रतिपक्षले मौखिकदेखि लिखित रुपमा उठाउँदै आएको छ र अन्य दल एवं सञ्चारमाध्यमहरुले निरन्तर दबाब दिँदै आएका छन् ।’