दक्षिण एसियाली महिला आन्दोलनबिच एक हुनुपर्ने निष्कर्ष
चैत २४, काठमाडौँ । अखिल नेपाल महिला संघ (अनेमसंघ) को आयोजनामा “Strengthening Women’s Movement in South Asia : Reclaiming Women’s Rights” विषयक सेमिनार शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघले सातौँ राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा सेमिनारको आयोजना गरेको हो । दक्षिण एसियाली मुलुकहरुमा महिलाको अवस्था र महिला आन्दोलनको सुदृढिकरणका लागि छलफल गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो । कार्यक्रममा नेपालका साथै भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाबाट प्रतिनिधिहरु आएका थिए ।
कार्यक्रममा बोल्दै अनेमसंघका पूर्व अध्यक्ष शान्ता मानवीले पञ्चायतकालमा भूमिगत राजनीति गर्दाको क्षण स्मरण गर्दै अहिले प्रदेश र संघीय संसदमा एकतिहाइ र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला सहभागिता हुनु ठूलो उपलब्धि भएको बताउनुभयो । तर समानताको लक्ष्यमा पुग्न अझै आन्दोलन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाप्रतिको असमानता विश्वभरि छ, त्यसैले समानताका लागि लड्नुपर्छ । आन्दोलनको खुट्टा गाउँगाउँमा हुन्छ, त्यसैले गाउँगाउँदैखि नै आन्दोलन उठ्नु जरुरी छ ।”
अनेमसंघकी इन्चार्ज सीता पौडेलले नेपालको महिला आन्दोलनलाई फेरि संगठित र सुदृढिकरण गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । त्यस्तै अनेमसंघकी अध्यक्ष थममाया थापाले अनेमसंघकी सचिव सुजिता शाक्यले पितृसत्ता र पुँजीवादले दक्षिण एसियाकै महिला आन्दोलनलाई धक्का दिएको भन्दै त्यसविरुद्ध लड्नका लागि एकताको आवश्यकता रहेको बताउनुभयो ।
भारतकी प्रतिनिधि डा. रती रावले भारत, नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुको महिलाको अवस्था लगभग उस्तै भएकाले दक्षिण एसियाली महिला आन्दोलनबिच सहकार्य हुनुपर्ने बताउनुभयो । महिलाहरु अघि बढ्नका लागि संरचनात्मक अवरोधहरु भएकाले त्यसलाई हटाउनुपर्ने उहाँको भनाइ थियो । पाकिस्तानबाट आएकी डा. अलिया हैदरले पाकिस्तानमा राजनीतिक सहभागिताका साथै महिलाको स्वास्थ्य, जलवायु परिवर्तनले महिलामा पारेको असर लगायतका विषयमा काम गरिरहेको बताउनुभयो ।
सेमिनारका लागि बंगलादेशकी प्रतिनिधि जिनत फातेमा, श्रीलंकाबाट आएकी नलिनी रत्नराझले पनि आफ्नो देशको महिलाको अवस्था बताउँदै दक्षिण एसियाको महिला आन्दोलन एक हुनुपर्ने बताए । त्यस्तै कार्यक्रमको उद्घाटन सत्रमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की उपाध्यक्ष आङदावा शेर्पाले यस्ता कार्यक्रमले नेपालको महिला आन्दोलनलार्य थप बल पुग्नु बताउनु भयो । महिला आन्दोलनको सुदृढिकरणका लागि बामपन्थी पार्टीका महिलाहरु एक हुनुपर्ने भन्दै अनेमसंघले सुरु गरेको अभियानमा एकता र प्रतिबद्धता रहेको बताउनुभयो ।
उद्घाटनसत्रपछि ‘Care Economy : Share Resposibility’ / ‘Empowering women through education financing for gender equality in South Asia’ विषयमा छट्टाछुट्टै प्यानल छलफल भएको थियो ।