काठमाडौँ । चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रवि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ले दिएको उजुरी नलाग्ने भएको छ । रबि लामिछानेको उम्मेदवारीविरुद्ध इमेलबाट दिएको उजुरी नलाग्ने भएको हो ।
यद्यपि उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले बताएका छन् । युवराज पौडेल सफलले दिएको उजुरीमाथि निर्णय गर्ने आफ्नो क्षेत्राधिकार नभएको र निर्वाचन आयोगमा पठाइएको शर्माको भनाई रहेको छ । युवराज पौडेल सफलले दिएको उजुरी उम्मेदवार भन्दा बाहिरबाट परेकोले त्यसबारेमा सात दिनभित्र निर्णय गर्न भन्दै आयोगमा पठाइएको हो ।
तीन उम्मेदवारको उजुरी लाग्ने भएपनि युवराज पौडेलले भने उजुरी दिनै नपाउने भएकाले नलाग्ने अधिकृत शर्माले बताएका छन् । ‘उम्मेदवार रवि लामिछानेले सात दिनभित्र हाम्रो कार्यालयमा युवराज पौडेल सफलले दिएको उजुरीमाथि प्रष्टीकरण दिनुपर्नेछ । त्यो प्रष्टीकरण हामी निर्वाचन आयोगमा पठाउँछौँ,’ उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १५ अनुसार उम्मेदवारविरुद्ध जसले पनि उजुरी गर्न पाउने व्यवस्थाबमोजिम युवराज पौडेल सफलको उजुरी परेको हो । यो मैले निर्णय गर्न पाउने क्षेत्राधिकार बाहिरको कुरा हो यसबारे आयोगले निर्णय गर्छ ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन ऐन २०७४ मा उम्मेदवारीविरुद्ध उजुरी दिन पाइने दुईवटा व्यवस्था छन् । एउटा दफा १५ मा र अर्को दफा २१ मा । दफा १५ मा उम्मेदवारको लागि मनोनयन दर्ता भइसकेपछि निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा जोसुकैले उम्मेदवार अयोग्य रहेको वा हुँदै छ भन्ने कुराको प्रमाणसहित उजुरी गर्न सक्ने भनिएको छ । यस्तो उजुरी निर्वाचन अधिकृतमार्फत निर्वाचन आयोगमा गर्नुपर्ने पनि उक्त दफामा उल्लेख छ ।
दफा २१ मा मनोनयन पत्र दर्ता भएको कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने उम्मेदवार वा उसको प्रतिनिधिले निर्वाचन कार्यक्रमको सूचनामा उल्लेखित मिति, समय र स्थानमा निर्वाचन अधिकृतसमक्ष उजुरी दिन सक्ने भनिएको छ । यी दुवै दफाका अनुसार उजुरी गर्न पाउने समय फरक रहेको हो ।