काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपचुनाव हुने तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाउन प्रारम्भिक सूची तयार पारेको छ । तनहुँ-१, चितवन-२, बारा-२ मा हुने उपचुनावका लागि बिहीबार राति उम्मेदवारको प्रारम्भिक सूची बनाएको हो ।
उक्त सूचीबाट अन्तिम टुंगो लगाइने छ । । चितवन २ मा पार्टी सभापति रबि लामिछाने चुनाव लड्ने पक्का भएको छ ।
बारा-२ मा रमेश खरेल र युवराज न्यौपानेको नाम सूचीमा छ । यीमध्ये एक जनालाई उम्मेदवार बनाउने भएको छ । यहाँ खरेलको सम्भावना बढी रहेको बताइन्छ । पूर्व डीआईजी रमेश खरेल सुशासन पार्टीका अध्यक्ष हुन् । उनी ४ मंसिरको चुनावमा काठमाडौँ १ उम्मेदवार थिए ।
यस्तै रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त भएको तनहुँ-१ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रूपक विक घिमिरेको नाम प्रारम्भिक सूचीमा छ । यहाँबाट वाग्ले उम्मेदवार हुने सम्भावना बलियो रहेको छ । वाग्ले बिहीबार मात्रै नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका थिए ।
