काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छन ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । डा.शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।
शुक्रबार बिहान बसेको डा. शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।
‘यो हामीले सभापतिलाई पनि भनेका छौं, प्रधानमन्त्री प्रचण्डलाई खबर गरेका छौं’, सहमहामन्त्री जीवन परियारले भनेका छन् ।
सम्मानजनक सहभागिता नभए आफ्नो समूह सरकारमा नजाने चेतावनी दिएका हुन् ।
शुक्रबार बिहान डा.शेखर कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारसँग छलफल गरेका थिए । छलफलपछि डा.शेखरले देउवालाई सन्देश पठाएका हुन् ।
नेपाली कांग्रेसबाट मन्त्री बन्ने ८ नाममध्ये उपसभापति धनराज गुरुङ डिगबहादुर लिम्बू कोइराला समूहका छन् । तर शेखर समूहले तीन मन्त्रालय नपाए नाम नदिने चेतावनी दिँदै आएको थियो ।