काठमाडौँ । चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन हुने कार्यतालिका छ । निर्वाचन आयोगले यसको तयारी सुरु गरेको छ । दलहरू पनि यसको तयारीमा लागिसकेका छन् । रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो । तर लामिछानेले पुनः नागरिकता लिएर फेरि निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।
हालको १० दलीय गठबन्धनमा कुनै परिवर्तन नआए नेपाली कांग्रेसका उम्मेदवारलाई नै गठबन्धनले मत दिने सम्भावना छ । यो क्षेत्रमा नेकपा माओवादी,केन्द्र जनता समाजबादी पार्टी जसपा,नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजबादी पार्टी लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी,नाउपा नेपाल समाजवादी पार्टी, आम जनता पार्टीले र राष्ट्रिय जनमोर्चाले एउटै उम्मेदवार उठाउने कुरामा छलफल भइरहेको छ । तर यसको औपचारिक निर्णय भने आएको छैन । गठबन्धनमा भएको सहमतिबारे जानकारी दिँदै नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका एक सदस्यले भने, नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने कुरामा कुनै छलफल भएको छैन । गठबन्धनलाई नै अगाडि बढाएर लैजाने कुरा भएको छ । नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाउने छैन ।
नेपाली कांग्रेसबाट यसअघिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग हारेका उमेश श्रेष्ठ पछि हटेका छन् । तर नेपाली कांग्रेस केन्द्रीय समितिले हालसम्म उम्मेदवार टुङ्गो भने लगाएको छैन । एक साता अगाडि बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवनबाट उम्मेदवारको नाम जिल्लाले केन्द्रमा उपलब्ध गराउने र त्यहाँबाट छनोट गर्ने निर्णय भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताएका छन् । यो क्षेत्रमा ४ मंसिरको निर्वाचनमा रविसँग पराजितभएका उमेश श्रेष्ठले यसपालि आफू निर्वाचनमा नउठ्ने घोषणा गरिसकेका छन् ।
उनले भने म हार्छु भनेर डराएको होइन । म यो उपनिर्वाचन उठ्दिन म समाजसेवामा लाग्छु । म अरूलाई पालो दिने पक्षमा छु । म पहिलादेखि पार्टीमा धेरै दु:ख गरेर आएको मान्छे हो । यो पटक मलाई रहर नै छैन । मैले यो कुरा पार्टीमा समेत जानकारी गरेको छु । त्यहाँका नयाँ मान्छे उठाउने कुरा बाहिर आएको छ । यसअघि उनले सार्वजनिक रूपमै रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने भन्दै निर्वाचन आयोगलाई पत्र समेत लेखेका थिए । यद्यपि, उनको माग वैधानिक र नैतिक रूपमा समेत नमिल्दो देखिएपछि राजनीतिक वृत्तमा हास्यास्पद मात्र बनेको थियो । यो क्षेत्रमा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालको नाम चर्चामा रहेको छ । उनलाई जिल्लाको टोलीले उठ्न सिफारिस गरिसकेको छ । उनी अब केन्द्रको फाइनल निर्णय पर्खिरहेका छन् । १० दलीय गठबन्धनबाट उनी आफू चुनाव जित्नेमा विश्वस्त रहेका छन् ।
जिल्लाको सिफारिस आएर केन्द्रीय कार्यालयमा बसेको छ,उनले भने, सबै कुराको तयारी भइरहेको होला । मेरो क्षेत्र पनि यही भएकाले मलाई कुनै समस्या छैन । गठबन्धनको अवस्था अहिले राम्रो छ । यसअगाडि अरूले जितेका थिए होला तर सधैँ त्यही अवस्था हुँदैन । जनताको मन एकनास हुँदैन । हामीले आफ्ना नीति तथा कार्यक्रम लिएर जाने हो । हामी त्यही माटोमा काम गरिराखेका मान्छे हो । निर्वाचनको बेला मात्र झुल्किने हैन । त्यहाँका जनताको जीवनस्तर उकास्न हामी अगाडि लागेका छौँ । त्यो कारण यो पटक हामीलाई यहाँका जनताले अत्यधिक मत दिएर हामीलाई विजय गराउँछन् ।
यता नेकपा एमालेले पनि दुई वटा नाम अगाडि सारेको छ । नेकपा एमालेबाट चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र पूर्व सांसद तथा मंसिर ४ को निर्वाचनमा लामिछानेसँग पराजित भएका कृष्णभक्त पोखरेको नाम पनि चर्चामा छ । यसबारे नेकपा एमालेले पनि निर्णय लिन सकेको छैन । नेकपा एमाले पनि यी नामका सन्दर्भमा दुई धारहरू रहेका छन् । नेकपा एमालेका युवा नेताहरू पक्षले नयाँलाई अवसर दिनुपर्ने बताउँदै आएका छन् ।
यसबारे पोखरेलले भने, हामी पार्टीको अभियानमा जुटेका छौँ । चितवन २ का जनताका प्रत्येक घर घरमा पनि हाम्रा साथीहरू पुगिरहनु भएको छ । यो पटक मैले उठ्ने धेरै मन बनाएको छैन । तर पार्टीले जे भन्छ त्यो मान्नुपर्छ । म तीन चोटि उठिसकेको छु । नयाँ साथीहरूलाई पालो दिऊँ भन्ने छ । २ चोटि जिते १ चोटि हारे हार्दा आत्तिएको पनि होइन । तर नयाँ साथीहरूलाई अवसर दिन पाए हुने भन्ने मेरो विचार हो । नेकपा एमाले बलियो छ । यो पटक मज्जाले जितिन्छ । यो पटक पार्टी अध्यक्ष रामप्रसाद न्यौपानेलाई दिऊ भन्ने मैले त कुरा गरिसकेको छु ।
यस्तै न्यौपानेले पनि केन्द्रको निर्णय पर्खिरहेको बताएका छन् । उनले निर्वाचन २ का सन्दर्भमा आफूलाई केन्द्रले तयारी गर्ने ध्यान दिनु भनेको पनि बताएका छन् । उनले पोखरेलले पनि आफूलाई निर्वाचनमा उठ्न भनेर भनिरहेको बताएका छन् । उनले भने, ‘केन्द्रबाट फाइनल सर्कुलर आएको छैन । केन्द्रले पार्टी कमिटीभित्र नै छलफल गरिरहेको छ । जिल्ला अध्यक्ष उठ्दा राम्रो हुन्छ भनेर पनि कुराहरू आएका छन् । मेरो क्षेत्र पनि भएको हुनाले मलाई उठ्नुपर्छ भन्ने कुराहरू आएका छन् । पार्टीले जे भन्छ मान्ने हो व्यक्तिगत रूपमा इच्छा आंकाक्षा छैन । अहिले कार्यकर्ताको मनोभावना बुझ्ने काम भइरहेको छ । म परामर्श गरिरहेको छु । कृष्ण जी ले पनि मलाई उठ्नुहोस् भनेर भनिरहनु भएको छ । यहाँले पटक पटक म आउनुभन्दा नयाँ अनुहार आउनु राम्रो हो भन्नु भएको छ ।
मंसिर ४ को निर्वाचन भन्दा बढी मतले जित्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दाबी गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने नै पुन उठ्ने योजनामा रहेका छन् । उनले यसअगाडिको निर्वाचनमा पनि निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले भन्दा ३४२८१ मत बढी ल्याएर विजयी भएका थिए । उनले पुन उठेर त्यो भन्दा धेरै मत ल्याएर विजयी हुने बताउँदै आएका छन् । यसका लागि रबी लामिछानेले सबै हिसाबले तयारी गरिरहेको उपसभापति डोलप्रसाद अर्यालले बताएका छन् ।
अर्यालले भने,हाम्रो तयारी भइरहेको छ । उपराष्ट्रपतिको निर्वाचन सकिएपछि सम्पूर्ण रूपमा आफ्नो ध्यान उतै लगाएका छौँ । केन्द्र देखी जिल्लाका साथीहरूले पनि तयारी गरिरहनु भएको छ । अस्तिबाट नै हामी चितवनमा आउने जाने गरिरहेका छौँ । हाम्रो आन्तरिक तयारी राम्रो छ । पहिलाको भन्दा यहाँको जनतामा अझ जोस थपिएको छ । जनता हामीलाई जिताउन झनै हतारमा हुनुहुन्छ । पहिलाको भन्दा टोटल मत कम खस्ला तर हामीलाई आउने मत अझ बढेर जान्छ ।त्यस्तै रास्वपाका महामन्त्री मुकुल ढकालले पनि चितवन २ को उपनिर्वाचनमा आफ्नो पाटीका सभापति रबि लामिछाने अत्यधिक मतले विजयी हुने बताउँछन् । उनी भन्छन्, पहिलेको भन्दा अझ यो पटक रवि लामिछाने ज्यूको मत बढेर जान्छ । विजय नहुने त कुरै छैन उनी भन्छन ।
उपनिर्वाचनका लागि चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने, चैत २० मा उम्मेदवारी दर्ता गर्ने, चैत २१ मा उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने, चैत २२ गते उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने र चैत २३ गते उम्मेदवारका अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगको तयारी रहेको छ । हाल चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा १ लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक ६ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिएका छन् । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मतदान भएको थियो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो । मंसिर ४ को निर्वाचनमा ८३९५६ जनाले मतदाताले मतदान गरेका थिए । निर्वाचन आयोगको तथ्याङ्कअनुसार रबि लामिछानेले ४९२६४ भोट पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले १४९८३ मत प्राप्त गरेका थिए । भने नेकपा एमालेका नेता कृष्ण भक्त पोखरेलले १४६६७ भोट ल्याएका थिए । रबि लामिछाने देशमै फराकिलो मतान्तरले विजयी भएका सांसद थिए ।