काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वप्रतिवद्धता छाडेर प्रदेशको नाम कोशी प्रस्ताव गरेको टिप्पणी गरेका छन् ।
बुधबार प्रदेश १ को प्रदेश सभाको बैठकमा प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव गर्दै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वप्रतिवद्धता भुलेको आरोप लगाएका छन् ।
नेकपा एमालेले संविधानसभाको दुईवटै चुनावको प्रतिवद्धतामा पहिचानसहितको प्रदेशको विषय उठाएको उनले बताएका हुन् । पहिलो संविधानसभामा पहिचान र भूगोल जोडेर नामाकरण गर्ने गरी १३ वटासम्म प्रदेश मान्न सकिने भनी नेकपा एमालेले नै प्रस्ताव गरेको दाबी गर्दै उनले अहिले पहिचानलाई मेट्ने गरी नाम प्रस्तुत गर्नु उचित नरहेको बताएका छन् ।
नेपाली कांग्रेसले पनि विगतमा पहिचानलाई स्वीकार गरेको तर, अहिले आफ्नो प्रतिवद्धतालाई लत्याएको उनको आरोप छ । ‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नाम राख्नुपर्छ भनेको थियो नेपाली कांग्रेसले’ उनले भने ।
आफूहरुले राखेको प्रस्तावले विगतमा नेपाली कांग्रेसले भनेकै विषय सम्बोधन गर्ने उनको भनाइ छ । नेकपा एकीकृत समाजवादीले ‘किरात लिम्बुवान सगरमाथा’ राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ ।