काठमाडौँ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । करिब महिना दिनपछि प्रदेश सभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।
आज बस्ने प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।
नेकपा एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन गरेका लोकतान्त्रिक समाजबादी पार्टी “लोसपा” र नागरिक उन्मुक्ति पार्टी नाउपा”ले समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले सम्भवतः आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बताएका छन् ।
यद्यपि लोकतान्त्रिक समाजबादी पार्टी लोसपा र नागरिक उन्मुक्ति पार्टी नाउपा भने सरकारमा सहभागी भएका छैनन् ।
लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीको चार र लोकतान्त्रिक समाजबादी पार्टी लोसपाको तीन जना सांसद रहेका छन् ।
यता,आठ दलको बैठक आज बिहान ११ बजे दाङको देउखुरीमा बस्न लागेको छ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनीमा पनि नेकपा एमाले नेतृत्वको सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठनको प्रयास स्वरुप आठ दलहरुबीच बैठक बस्न लागेको हो ।
लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७,नेकपा माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार/चार, जसपा, लोसपा र जनमतका तीन/तीन, नेकपा एकीकृत समाजवादी र जनमोर्चाका एक – एक र स्वतन्त्रका २ प्रदेश सभा सदस्य छन् ।