Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिशु कक्षा : घरमा कि विद्यालयमा ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १५ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । बालबच्चालाई कुन उमेरमा विद्यालय पठाउने ? अलमलमा छन् अभिभावक ।

बोली फुट्नासाथ र बामे सर्नासाथ बच्चालाई विद्यालय पुर्‍याउन हतारिने अभिभावकको जमात सानो छैन । आखिर किन अभिभावकहरु यस्तो होडबाजीमा छन् ? उनीहरुको साझा जवाफ छ, ‘फलानोको बच्चा स्कुल जान थाल्यो, हाम्रो पनि पठाउनुपर्छ । त्यसो त कामकाजी दम्पतीलाई घरमा बच्चा हेरेर बस्ने फुर्सद छैन । अर्कोतिर सानै उमेरमा विद्यालय भर्ना गरिदिए ‘धेरै पढ्छन्’ भन्ने मनोविज्ञान व्यापक छ । यही मनोसामाजिक पृष्ठभूमिले गर्दा ‘बाल शिक्षा र मन्टेश्वरी किन्डरगार्टेन’ भरिभराउ छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांक अनुसार देशभर ३६ हजार ७ सय १२ वटा बालबिकास केन्द्र सञ्चालनमा छन् । त्यससँगै सहरी क्षेत्रमा ‘मन्टेश्वरी’, ‘किन्डरगार्टेन’ छ्यापछ्याप्ती छन् ।

  • कक्षा १ मा भर्नाअघि पूर्वतयारी कति जरुरी ?

कक्षा १ मा भर्ना हुनुअघि नै बच्चाले यस्ता केही कक्षा छिचोल्नुपर्ने हुन्छ, जुन ‘प्ले ग्रुप’, ‘नर्सरी’ हुँदै तीन-चार तहमा राखिएका छन् । अर्थात् कक्षा १ मा भर्नाअघि नै बच्चाले चार तह पार गर्नुपर्ने अवस्था छ । त्यसो भए कक्षा १ मा भर्नाअघि नै बच्चालाई पूर्वप्राथमिक तहमा ‘बाल विकास’को कक्षा जरुरी छ ? बालबच्चाको चौतर्फी वृत्तिविकासका लागि प्रारम्भिक बालविकास प्रभावकारी देखिएको छ,’ नेपाल बालविकास शिक्षक केन्द्रीय समितिकी अध्यक्ष कृष्णा मगर भन्छिन्, ‘चाहे निरक्षर आमाबुवा हुन् वा कामकाजी, उनीहरुको बालबच्चालाई प्रारम्भिक शिक्षा आवश्यक छ ।’ यसले उनीहरुको शारीरिक र मानसिक विकासमा सहयोग पुगिरहेको उनको जिकिर छ ।

युनिसेफले सन् २०१६ मा एउटा प्रतिवेदन प्रकाशित गरेको थियो, जसमा बालबच्चाको मस्तिष्कको विकास र सिकाइको प्रभावबारे उल्लेख थियो । प्रतिवेदनमा लेखिएको छ, ‘तीन वर्षको उमेरमा एउटा शिशुको मस्तिष्क वयस्कको भन्दा दुई गुणा बढी क्रियाशील हुन्छ भने न्युरोनहरुले ७०० देखि एक हजार प्रतिसेकेन्डका दरमा नयाँ सम्पर्क स्थापित गरिरहेका हुन्छन् ।’ यसले उनीहरुमा कुनैपनि कुरा सिक्ने तत्परता, उत्सुकता र ग्रहण गर्ने क्षमता उच्च हुने स्पष्ट संकेत गर्छ ।

यसैलाई आधार मानेर बालबच्चालाई ‘बालविकास शिक्षा जरुरी रहेको’ बालविकास प्रारम्भिक राष्ट्रिय रणनीति २०७७-८८ ले औंल्याएको छ ।

नेपाल बाल विकास शिक्षक केन्द्रीय समितिकी अध्यक्ष मगरका अनुसार सोझै कक्षा एकमा भर्ना भएका बच्चा र बाल विकास कक्षाबाट कक्षा एकमा उक्लिएका बच्चाबीच धेरै फरक देखिएको छ । ‘बालविकासमा भर्ना भएका बच्चाहरु साथीसँग घुलमिल गर्न, सामान्य अक्षर चिन्न, बोल्न सक्ने भइसकेका हुन्छन्,’ उनी भन्छिन्, ‘त्यसैले उनीहरुलाई कक्षामा धेरै सहज हुन्छ ।’

सरकारले चार वर्ष उमेर पुगेका बच्चालाई बाल शिक्षा दिलाउने उद्देश्यले बालविकास तथा पूर्वप्राथमिक शिक्षा सञ्चालन गर्दै आएको छ । यसलाई कक्षा एकमा भर्नाका लागि ‘पूर्वतयारी’ भनिएको छ । प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका २०६२ मा लेखिएको छ, ‘बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक विकास गर्ने । उनीहरुको स्वास्थ्य, पोषण र सरसफाइ स्थितिमा सुधार ल्याउने । बालबालिकालाई क्रियाशील बनाई सिर्जनशील हुन प्रेरित गर्ने ।’

  • अढाइ वर्षमै कक्षा कोठामा

त्यसो त अहिले बग्रेल्ती त्यस्ता शिशु कक्षा खुलेका छन्, जहाँ अढाइ वर्ष पार गर्दा नगर्दै बच्चालाई भर्ना गरिन्छ । मन्टेश्वरी, किन्डरगार्टेनजस्ता नाममा यस्ता शिशु कक्षाहरु सञ्चालनमा छन् । घरमा आफ्ना बालबच्चालाई समय दिन नभ्याउने कामकाजी दम्पती मात्र होइन, फुर्सदिला दम्पतीसमेत यस्ता शिशु कक्षाप्रति आकर्षित छन् । अढाइ-तीन वर्षमै बच्चालाई शिशु कक्षामा भर्ना गर्नु अनिवार्यजस्तै भएको छ ।

त्यसो त विश्वमै शिशु कक्षाको अवधारणा फस्टाइरहेको पाइन्छ । ‘पाँच वर्षअघि बच्चालाई पेन्सिल दिनुहुन्न’ भन्ने जापानमा पनि ‘डे केयर सेन्टर’का नाममा शिशु कक्षा सञ्चालन गरिने जापानमै शिक्षण पेसा गरेर फर्किएकी कुमुद भट्ट बताउँछिन् । उनी भन्छिन्, ‘१८ महिनाको उमेरदेखि नै उनीहरुलाई डे केयर सेन्टरमा राख्ने गरिन्छ । त्यहाँ पढाउने काम भने हुँदैन । खेलाउने, नयाँ कुरा सिकाउने काम मात्र हुन्छ । जस्तो, पियानो बजाउन लगाउने, चित्र कोर्न सिकाउने ।’

सैद्धान्तिक ज्ञान भने पाँच वर्ष पूरा भएपछि मात्र सुरु गरिने उनी बताउँछिन् । पाँच वर्षपछिको कक्षामा पनि ‘सिक्दै पढ्दै’ भन्ने गरिन्छ । जापान सरकारले डे केयरदेखि किन्डरगार्टेनसम्म सञ्चालन गरिरहेको छ ।

फिनल्यान्ड, स्वीडेनजस्ता मुलुक उन्नत शिक्षाका लागि विश्वकै अनुकरणीय मानिन्छन् । स्वीडेनको स्टकहोम विश्वविद्यालय र कार्लस्टाड विश्वविद्यालयमा प्राध्यापन गरिरहेका डा. कटक मल्ल भन्छन्, ‘यहाँ पनि प्रि-स्कुल सञ्चालन गरिएको हुन्छ । कुनै बुवाआमा व्यस्त छन् र घरमा बालबच्चा हेर्ने फुर्सद छैन भने उनीहरुले बच्चालाई प्रि-स्कुलमा राख्न सक्छन् । प्राथमिक तहदेखि स्नातकोत्तर र पिएचडीसम्म पढ्न कुनैपनि खर्च नलाग्ने यो मुलुकमा प्रि-स्कुलका लागि भने अभिभावकले निश्चित रकम तिर्नुपर्ने हुन्छ । ‘बुवाआमाको आयआर्जन धेरै छ भने शुल्क पनि धेरै तिर्नुपर्ने व्यवस्था छ,’ डा. मल्ल भन्छन् ।

  • कुन उमेरमा पठाउने विद्यालय ?

बालबच्चाको शारीरिक, मानसिक तथा संवेगात्मक विकासको हिसाबले उनीहरुलाई कुन उमेरमा विद्यालय पठाउन उचित हुन्छ भनी लामो समयदेखि अभ्यास हुँदै आएको छ । पूर्वीय संस्कार होस् वा युरोपेली शिक्षा मोडल, बालबच्चालाई विद्यालय पठाउने एउटा उमेर निर्धारण गरिएको पाइन्छ । पूर्वीय संस्कारले बच्चालाई एउटा निश्चित उमेर पुगेपछि शिक्षादीक्षाका लागि तयार हुने संकेत गरेको छ ।

यसलाई व्रतबन्ध वा उपनयन संस्कार भनिएको छ र यसको उमेर सीमा आठ वर्ष तय गरिएको छ । अर्थात् आठ वर्षपछि बालबच्चा बाह्य शिक्षा लिनका लागि योग्य हुन्छन् भनिएको छ । उन्नत शिक्षाका लागि विश्वमै कहलिएका फिनल्यान्ड, स्वीडेनजस्ता मुलुकमा ६ वर्षअघिसम्म घरमै वा आमाबुवासँगै बालबच्चा हुर्काउन दिइन्छ । त्यहाँका विद्यालयले ६ वर्ष पुगेपछि मात्र बच्चा पठनपाठनका लागि तयार हुन्छ भनिएको छ । जापानमा पाँच वर्ष उमेर पुगेपछि मात्र बालबच्चालाई विद्यालय भर्ना गर्ने व्यवस्था छ ।

  • घरमा राख्ने कि विद्यालय पठाउने ?

नेपालको सरकारी कार्यक्रम अन्तर्गत चार वर्ष पुगेपछि बच्चालाई शिशु कक्षामा भर्ना गर्नुपर्ने हुन्छ । कक्षा १ मा भर्ना हुनुअघि शैक्षिक वातावरणमा घुलमिल हुन सहज होस् भनेर शिशु कक्षाको व्यवस्था गरिएको बताइन्छ । निजी तवरमा खुलेका शिशु कक्षाहरुमा भने अढाइ वर्ष पार गर्नासाथ बच्चालाई भर्ना गरिन्छ । यसको एउटै निचोड हो, बालबच्चाका लागि पहिलो विद्यालय घर नै हो । त्यसैले एउटा निश्चित उमेर नपुगी बच्चालाई घरमै राखेर, आमाबुवाको माया र स्पर्श दिएर, पारिवारिक संस्कार सिकाएर पठनपाठनका लागि योग्य बनाउनु जरुरी हुन्छ ।

हामीकहाँ के भनिन्छ भने आमाबुवा नै बालबच्चाको पहिलो शिक्षक हुन् । आमाबुवाको सामीप्यमा रहेर नै बालबच्चाले जीवनका धेरै उपयोगी कुरा सिक्छन् भनिन्छ । आमाको काखमा हाँस्दै-खेल्दै र बाबुको काँधमा रमाउँदै-घुम्दै बालबच्चाले स्वच्छन्द रुपमा जीवनोपयोगी कुराहरु सिकिरहेका हुन्छन् ।

आमाबुवाको सामीप्यमा बालबच्चाले सहज रुपमा नयाँ कुरा सिक्ने र अभ्यास गर्ने गर्छन् । घरको वातावरणमा बालबच्चा जति रमाएर नयाँ नयाँ कुराहरु सिकिरहेका हुन्छन्, कक्षाको चौघेरामा उनीहरु त्यति उत्सुक र उत्साहित हुँदैनन् । त्यसैले कलिलो बच्चालाई आमाबुवाले घरमै राखेर असल संस्कारमा अभ्यस्त गराउनुपर्ने एकथरीको मान्यता छ ।

किनभने कक्षाकोठामा बालबच्चाले अरुको निगरानीमा बस्नुपर्ने हुन्छ । साथै फरक परिवेशमा उनीहरुले आफूलाई सहजै घुलमिल गराउन सक्दैनन् ।त्यसमाथि बाल मनोविज्ञान अनुरुपका शैक्षिक सामग्री, पठन विधि, पाठ्यपुस्तक उपलब्ध नहुँदा बालबच्चाका लागि शिशु कक्षा त्यति फलदायी भएको देखिंदैन । नेपाल बालविकास शिक्षक केन्द्रीय समितिकी अध्यक्ष कृष्णा मगरको स्वीकारोक्ती छ, ‘सम्बन्धित निकायको निगरानी नपुग्दा बालबालिकामैत्री कक्षा, भवन संरचना, सिकाइ सामग्रीको अभाव छ ।

विद्यालय शिक्षा प्रतिवेदन, २०७९ ले पनि सञ्चालन भएका कार्यक्रमहरुले बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक सबै सेवा प्रदान गर्न नसकेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४