काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले पौडेललाई उम्मेदवारका रुपमा अगाडि बढाउन लागेको हो । सत्तासीन माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा साथ दिने विश्वासका साथ कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने परिस्थिति बनेको कांग्रेसका नेताहरु बताउँछन् । कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेसबाट पौडेल उम्मेदवार बन्ने सम्भावना प्रबल रहेको बताए ।
उनले भने, ‘राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने औपचारिक निर्णय गरिसकेको छ । राष्ट्रपतिको उम्मेदवारबारे मात्र निर्णय हुन बाँकी हो । रामचन्द्र पौडेल उम्मेदवार हुने ९९ प्रतिशत सम्भावना छ ।’
माओवादीले राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेर पौडेललाई उम्मेदवार बनाइने उनको भनाइ छ । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले पनि राष्ट्रपतिको उम्मेदवार पौडेल नै हुने बताएको छ ।
देउवा सचिवालयका अनुसार गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने संस्थापन पक्षमा सहमति भएको थियो । सोही सहमति अनुसार संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसेका थिए । नेता एनपी साउदले पनि राष्ट्रपतिको उम्मेदवार पौडेल नै बन्ने दाबी गरे । तर कांग्रेसमा नेता सिटौला, गोपलमान श्रेष्ठ, मानबहादुर विक पनि राष्ट्रपतिको उम्मेदवारका लागि लबिङमा छन् ।
शुक्रबार साँझ सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रपतिमा सदभाव खोजेको नेताहरु बताउँछन् । उनले पार्टीका नेताहरुसँग पनि राष्ट्रपतिको उम्मेदवार बन्न भेटघाट तीव्र परेको पाइन्छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार बन्न पौडेलको पल्लाभारी छ । पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । शुक्रबार मात्र पौडेल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो ।
जसपाको केन्द्रीय कार्यालयमा यादवसँग भएको छलफलमा पौडेलले राष्ट्रपतिमा सहयोग गर्न यादवलाई प्रस्ताव गरेका थिए । यादवले राष्ट्रपतिमा कांग्रेसलाई सघाउन समस्या नरहेको भन्दै उपराष्ट्रपति जसपाले पाउने गरी छलफल थाल्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डसँग संवादमा रहेका कांग्रेसका नेताहरु कांग्रेसको उम्मेदवार निर्वाचित हुनेमा विश्वासमा छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता रमेश लेखक लगायत प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा छन् । गत हप्ता कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग तीव्र छलफल गरेका थिए । बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका थिए । यस्तै शुक्रबार साँझ नेता सिटौलाले प्रधानमन्त्री प्रचण्डसँग लामो संवाद गरेका थिए ।
‘राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिएका थियौं । राष्ट्रिय सहमतिका लागि तपाईँले एमालेलगायत सत्तारुढ दलहरूलाई मनाउनुस्,’ सिटौलाले भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले एमाले तत्काल ब्याक हुने अवस्थामा नरहेको सिटौलालाई जवाफ दिएका थिए। ‘राष्ट्रिय सहमतिमा जाऔं भन्ने मेरो नीति हो । पार्टीको पनि यही नीति छ । गठबन्धनमा आबद्ध दलहरूसँग निरन्तर छलफल भइरहेको छ । राष्ट्रपतिबाट एमाले तत्कालै ब्याक हुने अवस्थामा छैन,’ उनले भने ।
किनभने शुक्रबार दिउँसो बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले १० पुसकै सहमति स्मरण गराएका थिए । जसमा माओवादीले प्रधानमन्त्री पाउँदा राष्ट्रपति र सभामुख एमालेले पाउनुपर्ने सहमति भएको थियो । तर सहमति विपरीत प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिएको एमाले नेताहरुको गुनासो छ ।
कांग्रेस महामन्त्री गगनकुमार थापाका अनुसार प्रधानमन्त्री प्रचण्ड अहिले एमालेलाई राष्ट्रपति दिने मुडमा छैनन् । प्रधानमन्त्री प्रचण्डलाई शनिबार भेटेका निधि पनि राष्ट्रपतिमा माओवादीको सर्मथन कांग्रेसलाई रहने दाबी गर्छन् । ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने कुरामा प्रचण्डजी सकारात्मक नै पाएँ । कांग्रेससँगको भावी सहकार्यका लागि पनि उहाँ तयार नै देखिनु भएको छ ’ निधिको दाबी छ ।
आइतबार साझ कांग्रेसका शीर्ष नेता राष्ट्रपति निर्वाचनमा सहयोग माग्न प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए । कांग्रेस सभापति देउवा, नेता पौडेल, सिटौला, उपसभापति खड्का, धनराज गुरुङ र महामन्त्री थापाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति निर्वाचन र सत्ता सहकार्यका विषयमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच आइतबार दुई घण्टा छलफल भएको छ । सो क्रममा प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका थिए ।
जसअनुसार सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय लिने जिम्मा प्रचण्डलाई दिएको छ । यद्यपि प्रचण्डले बैठकमा ब्रिफिङ गर्दै पार्टीको जोड यही गठबन्धनलाई अघि बढाउँदै राष्ट्रिय सहमति गर्ने रहेको बताएका थिए ।
यसैबीच राष्ट्रपतिमा सहयोग गर्न प्रस्ताव गरेको कांग्रेसले सत्ता सहकार्यका लागि तयार भए प्रधानमन्त्री प्रचण्डसँग लिखित सहमतिको तयारी थालेको छ । कांग्रेस स्रोतले भन्यो, ‘अब सत्ता समीकरण फेरबदल हुनेमा शंका छैन । हामी र माओवादीबीचको अविश्वास हटाउने गरी छलफल अगाडि बढेको छ । सत्ता सहकार्यको सार्वजनिक रुपमा लिखित गरेर जानेमा हामी सहमत छौं ।’
राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई समर्थन गरेको खण्डमा एमालेले सरकारको साथ छाड्न सक्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा कांग्रेसले माओवादी सरकारको निरन्तरताका लागि लिखित प्रतिबद्धता व्यक्त गर्ने स्रोतको भनाइ छ ।
जसमा प्रचण्डले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनेछ । आइतबारको छलफलमा सहभागी नेता पौडेलले पनि पुरानो पाँच दलीय गठबन्धन ब्युँताउन प्रचण्ड सहमत भएको दाबी गरे । उनले भने, ‘पुरानै पाँच दलको गठबन्धन नेचुरल हुन्छ । चुनावको जनमत पनि त्यसैका लागि हो हामीबीच भन्नेमा लगभग सहमति बनेको छ ।’
राष्ट्रपतिको निर्वाचनमा सहकार्य गर्नका लागि प्रधानमन्त्रीले कुनै सर्त नराखेको पौडेलको भनाइ थियो ।
उसो त सोमबार नै पोखरामा भएको माओवादी केन्द्र गण्डकी प्रदेशको छैटौं पूर्ण बैठकमा समेत राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा राष्ट्रिय सहमति गर्नु उचित हुने बताएका थिए ।
उनको भनाइ थियो, ‘कुनै पार्टीको मान्छेमा सबैले सहमति गर्दा त्यो पनि राष्ट्रिय सहमति हुन सक्छ वा एउटा पार्टीले राष्ट्रपति, अर्कोले प्रधानमन्त्री, अर्कोले सभामुख लिएर पनि राष्ट्रिय सहमति बन्न सक्छ ।’ माओवादीले प्रधानमन्त्री र एमालेले सभामुख पाइसकेकाले राष्ट्रपति आफूले पाउनुपर्ने कांग्रेसले बताउँदै आएको छ ।
राष्ट्रिय सहमति हुन नसकेको खण्डमा निर्वाचनबाटै पनि राष्ट्रिय सहमति खोजिने प्रचण्डको भनाइ थियो । उनले भनेका थिए, ‘केही सिप लागेन भने चुनाव गरेर पनि राष्ट्रिय सहमति हुन्छ हुन त । चुनाव गराउ भन्ने हो भने राष्ट्रिय सहमति त्यहीँबाट हुन्छ ।