काठमाडौं । रवि लामिछाने, जसको सिट संख्यालाई आधार बनाएर एमाले र माओवादी केन्द्रले नयाँ सत्ता गठजोडको गणित पुर्याएका थिए, तिनै रविको गुमेको मन्त्री पदका कारण यो गठबन्धन भाँडिने खतरातर्फ उन्मुख भएको छ । हिजो मंगलबारका दुई परिदृश्य राम्रोसँग नियालियो भने हामी यो आकलनमा पुग्न सक्छौं । बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को सरकारी निवास बालुवाटार पुगेर बालकोट मोडिंदै गर्दा रविलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ठूलो आश थियो ।
केही सातामा राष्ट्रपति चुनाव हुँदैछ, जहाँ केपी शर्मा ओली नेकपा एमाले उम्मेदवार उठाउन चाहन्छन्।
ती मन्त्रीका अनुसार रवि प्रचण्डको सरकारी निवासबाट तिक्त भावसहित बाहिरिएका थिए । अब यसअगाडिको राजनीतिक खेल कसरी खेल्ने, रविलाई लगभग हेक्का छैन । त्यसैले उनी अर्को शक्ति केन्द्रतर्फ सोझिएका छन् । पछिल्ला दिनमा प्रधानमन्त्री र ओलीबीच मतान्तर बढ्दै गर्दा रविका लागि बालकोट दाहिना हुन पुगेको छ । रविकै कारण चितवनबाट गोरखा गई चुनाव लड्नु परेका प्रचण्ड अनुकूल छैनन् । कच्चा खेलाडी होइनन् ओली । उनलाई प्रचण्ड र रविका बीचमा खेलेर उत्रो फाइदा छैन । ओलीको नजर तीन कुरामा छ, जसले उनलाई राष्ट्रिय राजनीतिको केन्द्रमा सम्पूर्ण रुपले स्थापित गर्छ ।
एक – राष्ट्रपति चुनावसम्म गठबन्धन नखजमजियोस् । नेकपा एमालेका उम्मेदवारले जित्न सकुन् ।
प्रदेश चुनावमा भाग नलिएको रास्वपासँग राष्ट्रपति चुनावका लागि प्रतिनिधिसभा सदस्यको मात्र १५८० मतभार छ । ओली र प्रचण्डबीच १० पुसको सहमति अनुसार राष्ट्रपति र सभामुख नेकपा एमालेले पाउनुपर्ने हुन्छ । तर एकातिर विगतमा शक्ति अभ्यासको केन्द्र बनेको राष्ट्रपति पद समेत नेकपा एमालेलाई दिंदा आफू कमजोर बनिने बुझाइमा प्रचण्ड छन् । अर्कातिर संवैधानिक परिषदमा ओली निकटका मानिसहरु हाबी बन्दा प्रचण्ड थप कमजोर हुन सक्छन् ।
नेकपा एमाले उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘रविजीलाई गृहमन्त्री बनाउने/नबनाउने निर्णय त प्रधानमन्त्रीकै हो, तर हाम्रो धारणा चाहिं सत्ता गठबन्धन बनाउने बेला जुन सहमति भएको छ, त्यसै बमोजिम जानु उपयुक्त होला भन्ने लाग्छ । अहिले राष्ट्रिय सहमतिको नारा घन्किंदै गर्दा अन्तर्यमा नेकपा एमालेको विकल्प खोज्ने तयारी भइरहेको छ । त्यसैले ओली महत्वपूर्ण घटक रास्वपालाई आफूबाट टाढा पुर्याउन चाहँदैनन् । रवि गृहमन्त्री बनुन् या नबनुन्, ओली आफूले सख्त प्रयास गरेको सन्देश उनीकहाँ पुर्याउन चाहन्छन् ।
रास्वपाभित्र भने राष्ट्रपति चुनावकै कारण ओली–प्रचण्डबीच दरार आउने भएकाले भोट नदिई बस्नुपर्ने मत उठ्न थालेको छ । रास्वपाका एक नेताले जन प्रहारलाई भने, ‘उहाँहरुको झगडामा एउटा कित्तातिर लाग्नुभन्दा चुनावमा हामीले उठाएको बाचापत्र कार्यान्वयन गरौं भन्ने हाम्रो जोड हो । उनले इंगित गरेको वाचापत्रमा १० वर्षसम्म कुनै पनि पार्टीमा नबसेको गैरदलीय राष्ट्रपतिको माग छ, जुन प्रकारको उम्मेदवार उठाउन कुनै दल तयार छैनन् । त्यही निहुँ देखाउँदै रास्वपामा भोट नदिई बस्नुपर्ने माग बढ्दो क्रममा छ ।

दुई– नयाँ दल र नेताको रहस्योद्घाटन ।
गिरिजाप्रसाद कोइराला ठान्थे– कम्युनिस्टहरुलाई ठेगान लगाउने एउटै उपाय छ, मन्त्री बनाइदिने । त्यसपछि उनीहरु भित्रको वास्तविक हाल बुझेर चर्का कुरा गर्न छाडिहाल्छन् । धेरथोर भ्रष्ट भए भने त्यसैले एक्स्पोज पनि भइहाल्छन् । कोइराला जुन परीक्षण नेकपा एमाले,नेकपा माओवादी केन्द्रका हकमा गर्न चाहन्थे, अहिले ओली त्यही परीक्षण वैकल्पिक, नयाँ आदि नाममा खुलेका दलहरुमा गर्न चाहन्छन् ।
नयाँ दलहरु पनि विधिको शासन पालनामा पुरानै ड्याङमा छन् भन्ने प्रमाणित गरिदिएपछि पुराना दललाई हाइसन्चो । त्यही कथ्यको बलमा अर्को चुनाव लड्न आफ्ना उम्मेदवारलाई सहज पर्ने उनको दाउ छ । नेकपा एमालेका अर्का एक पदाधिकारीले भने, ‘रविजी सरकारमा नभए पनि रास्वपाका साथीहरु छँदै हुनुहुन्छ । पार्टीको पर्फर्मेन्स त भएकै छ नि । देखिरहनुभएको छ ।
तीन – चितवन २ मा एमाले उम्मेदवार उठाउने ।
अघिल्लो चुनावमा रविले भारी अन्तरले चुनाव जित्दैगर्दा चितवन २ मा पाँच वर्षअघि जितेका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल तेस्रो बन्न पुगेका थिए । संसदमा तुलनात्मक रुपमा बढी काम गर्नेमध्येका पोखरेल हार्ने मुख्य कारणमध्ये एक थियो, रवि चितवन ३ या १ मा उठ्ने निर्णय त्यागेर चितवन २ मा आउने निर्णय । तर यही गठबन्धन कायम रहे अब रास्वपाले उम्मेदवार उठाउँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पनि परामर्श गर्नुपर्छ । चुनाव रास्वपाले जितेको भए पनि नागरिकता र राहदानी प्रकरणका कारण रवि स्वयंलाई फेरि उम्मेदवारी दिन सहज हुने छैन । त्यसैले केन्द्रमा भएको ‘गठबन्धनको स्पिरिट’ अनुसार त्यो सिट नेकपा एमालेले पाउन सक्छ ।
यस्तो अवस्थामा ओलीले कृष्णभक्त पोखरेलको साटो महासचिव शंकर पोखरेललाई चितवन पठाउन सक्ने अड्कलबाजी राजनीतिक वृत्तमा चलेको छ ।नेकपा एमालेका नेताहरु भने त्यस्तो सम्भावना नकार्छन् । निर्वाचन आयोगले उपचुनावको तिथि तोक्नै बाँकी छ । अहिले यो भविष्णवाणी गर्नु हतारो हुन्छ’, नेकपा एमालेका एक पदाधिकारीले भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले आजै पार्टी छाडेको घोषणा गरेका छन् । रास्वपाभित्रको आन्तरिक खिचातानी, अनि नेकपा एमाले लगायत पुरानै दलहरुसँगको यसको सामीप्य समेतलाई कारण देखाउँदै उनले दल छाडेको घोषणा गरेका हुन् । चितवनमा उनी समेत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रत्यासी मानिन्थे। उनको बहिर्गमनबारे रास्वपाले यसबारे आधिकारिक रुपमा मुख खोलेको छैन ।