काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो ।
इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।
आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।
स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने छ ।
आत्मदाह गर्नुअघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।
ब्यावसायिक जीवनमा असफलता भोगेको भन्दै मंगलबार दिउँसो उनले शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए । प्रहरीले तत्कालै आगो निभाएर उनलाई अस्पताल पुर्याए पनि उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।
अस्पतालले ज्यादै गम्भीर अवस्थामा अस्पताल ल्याइएकाले बचाउन नसकेको बताएको छ ।
३७ वर्षीय आचार्यले आत्मदाह गर्नुअघि लामो वक्तब्य फेसबुकमा पोस्ट गर्दै ब्यावसायिक जीवनमा सबैतिरबाट असहयोग भएको र आफू लुटिएको बताएका थिए । उनले आफूलाई ठगी गर्ने दर्जनौं ब्यक्ति तथा ब्यावसायिक कम्पनीहरुमाथि गम्भीर आरोप लगाएका छन् ।
#आफैंलाई आगो लगाए#संसद भवन अगाडि