Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मत पाउनेमा सशंकित, खोजे शीर्ष तहको समझदारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ४ २०७९
  • 4.1K
    SHARES

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल आफूले विश्वासको मत पाउनेमा सशंकित देखिएका छन् । त्यसैले उनले प्रदेशको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर मात्रै विश्वासको मत लिने तयारी गरेका छन् ।

पार्टीका संस्थापक रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा सरकार ढल्ने जोखिम बुझेका मुख्यमन्त्री रावलले थप छलफल थालेका छन् । सत्तारुढ गठबन्धनको शीर्ष तहका नेताहरुबीच नागरिक उन्मुक्ति पार्टीले उठाएका माग र मुद्दाका सम्बन्धमा कुनै न कुनै समझदारी जुटाएर विश्वासको मत लिने पक्षमा उनी देखिन्छन् ।

सुदूरपश्चिम इञ्चार्ज समेत रहेका एमालेका केन्द्रीय सचिव लेखराज भट्ट समेतका नेताले नागरिक उन्मुक्ति पार्टीलाई मनाउन धनगढीमा वार्ता गरिरहेको स्रोत बताउँछ । गठबन्धनको शीर्ष तहको सहमति खोज्न र नाउपाका संस्थापक रेशम चौधरीलाई मनाउन सत्तारुढ गठबन्धन नेताहरु काठमाडौं जाने तयारीमा छन् ।

स्रोतकाअनुसार मुख्यमन्त्री रावल, बिना विभागीय मन्त्री समेत रहेका माओवादी संसदीय दलका नेता खगराज भट्ट, नाउपा संसदीय दलका नेता रामेश्वर चौधरी लगायतका प्रदेशसभा सदस्य र नेताहरु बिहीबार काठमाडौं जादैछन् । त्यहाँ उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र रेशम चौधरीसँग सरकारमा पावर शेयरिङका विषयमा समझदारी गर्ने प्रयास गर्नेछन् ।

एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठक पनि सत्तारुढ गठबन्धनमा आवद्ध सबै दलहरुलाई विश्वासमा लिएर मात्र मुख्यमन्त्रीले विश्वासको मत लिने बताउँछन् । ‘हामी सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच छलफलमा छौँ । रेशम चौधरीको मुद्दाको विषय समेत जोडिएका कारण नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिनुपर्ने अवस्था छ,’ पाठकले अनलाइनखबरसँग भने, ‘संविधानले तोकेको समय सीमाभित्र रहेर उपर्युक्त दिन हेरेर मुख्यमन्त्री ज्यूले विश्वासको मत लिनुहुन्छ ।’

उनले नाउपालाई पनि सरकारलाई सहभागी गराउने प्रयास अन्तरतगत विभिन्न चरणमा संवाद भइरहेको जानकारी दिए । प्रदेश सरकार विस्तारपछि मात्र मुख्यमन्त्रीले विश्वासको मत लिने संकेत पाठकले गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले उपसभामुख नलिने भएपछि अन्तिम समयमा एमालेले कोइलीदेवी चौधरीलाई उम्मेदवार बनाएको थियो । एमाले र माओवादीले सरकारमा आउन प्रस्ताव गरे पनि तत्काल बाहिर बसेर समर्थन गर्ने जनाएको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य ओमविक्रम भाट ‘सरल’ ले गठबन्धनको शीर्ष नेतृत्वबीच हुने सहमतिका आधारमा प्रदेश सरकारमा शक्ति बाँडफाँड हुने र त्यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिने बताए ।

मुख्यमन्त्री निकट स्रोतकाअनुसार ११ माघमा बस्ने प्रदेशसभाको बैठक अघि गठबन्धनबीच समझदारी जुटाएर विश्वासको मत लिने पक्षमा उनी छन् । ३० पुसमा भएको सभामुखको पुनः मतदानमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेका कारण मुख्यमन्त्री रावल ढुक्क हुन सक्ने अवस्था नभएकाले शीर्ष तहको समझदारी खोजेको स्रोत बताउँछ ।

मुख्यमन्त्री रावलले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा लैजान खोजेकै कारण माओवादीका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापालाई मन्त्रीमा नियुक्त गरे पनि जिम्मेवारी तोकेका छैनन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत दिने र सरकार विस्तारका सम्बन्धमा छलफल भइरहेको बताए ।

‘हाम्रो मुख्य प्राथमिकता रेशम चौधरीको रिहाइ लगायतका माग मुद्दा नै हुन् त्यो कुरा यहाँहरुलाई थाहै छ,’ चौधरीले भने, ‘त्यसकै लागि अहिलेको गठबन्धनलाई समर्थन गर्दै मुख्यमन्त्री, सभामुख र उपसभामुख दिइसकेका छौँ । सरकार विस्तार र मुख्यमन्त्रीको विश्वासको मतबारे कुनै टुंगो लागेको छैन । छलफलमै छौँ ।’

चौधरीले सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पार्टीको शीर्ष नेतृत्वकाबीचमा पनि छलफल भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४