Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वासको ‘ओभरलोड’ले बिथोलिएका प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३० २०७९
  • 1.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिगत नाम ‘विश्वास’ पनि थियो । तेस्रोपल्ट प्रधानमन्त्री बनेका उनलाई २६ पुसमा अभूतपूर्व रुपमा संसदमा मिलेको विश्वासको मतले विस्तारै थिच्दै लगेको प्रष्ट भएको छ ।

शनिबार सरकारी निवास बालुवाटारमा केही मिडिया सम्पादकहरुसँग सवा घन्टा छलफलमा बस्दा उनीभित्र त्यसैको प्रतिच्छाया देख्न सकिन्थ्यो । अस्तिसम्म उनले एमाले र केही साझेदारलाई सुने पुग्थ्यो । अब भने कांग्रेस, लोसपा लगायतप्रति समेत दायित्वको ओभरलोड थपिएको छ ।

ओलीजी र मैले सरकार बनाउने सहमति गरेपछि कांग्रेस स्वतः प्रमुख प्रतिपक्ष बन्छ भन्ने कल्पना गरिएको थियो र त्यो एकदमै स्वभाविक सोचाइ थियो । तर कांग्रेस पनि मलाई विश्वासको मत दिने लाइनमा आइसकेपछि अब उसप्रति मेरो पनि दायित्व हुने भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘माघ तीन गते सर्वदलीय बैठकमा मैले कांग्रेससहित मलाई विश्वास गर्ने दलहरुसँग राष्ट्रपति, सभामुख लगायत महत्वपूर्ण पदहरुमा के कसो गर्दा उपयुक्त हुन्छ भन्ने बारे छलफल गर्छु ।’

उनले संसदमा तेस्रो शक्ति भइकन एकातिर एमालेको साथ पाउनु, अर्कातिर कांग्रेसले पनि साथ दिनुलाई बिजुलीको हाइटेन्सनमा राखिएका दुईवटा तारहरुसँग तुलना गरेका छन् । त्यस्ता नांगा तारहरु, जसमा अरु बेला माथिल्लो तार समातेर तल्लो तारमा टेक्दै हिँड्न मजै आउँछ । तर इमर्जेन्सी करेन्ट प्रवाह गरिएका बेला या हाइ भोल्टमा परेका बेला जे पनि हुन सक्छ ।

प्रचण्डले आजै शनिबार बिहान पनि एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । उनका अनुसार त्यो छलफल मन्त्रिपरिषद् विस्तारमा केन्द्रित थियो । उनले दुई शीर्ष सत्ता साझेदारबीचको सहमति टुंगो नजिकै पुगेको जानकारी दिए ।

उसो भए प्रचण्डले ओलीसँग राष्ट्रपति र सभामुख एमालेले पाउने भनी १० पुसमा गरेको सहमति अब खण्डित हुन लागेको हो त ? प्रचण्डले हाँस्दै ‘त्यस्तो टिप्पणी गरेर माहोल नबिगारिदिन’ अनुरोध गरे । एमाले अध्यक्ष ओलीले दुई दिनअघि एउटा भिडियोमा भनेका थिए, ‘एमालेको प्रस्तावमात्रै होइन, प्रयास समेतमा प्रचण्डजी प्रधानमन्त्री बन्नुभएको हो । यो कुरा ध्यान दिनुपर्छ ।’

हामीसँगको कुराकानीका क्रममा कताकति प्रचण्डले सत्ताका मुख्य हिस्सेदार ओलीलाई घुमाउरो किसिमले जवाफ दिन खोजेको प्रतित हुन्छ । ‘विश्वासको मत प्रकरण’ पछि प्रचण्डले आफ्नो सरकारमाथि ओलीको एकाधिकार सक्दो खुकुल्याउन कोशिस गर्दै गरेका सूचना मिलेका छन् । यसअघिको सहमति अनुसार राष्ट्रपति र सभामुख एमालेले पाउने निर्णय भएको थियो । तर अब प्रचण्ड उच्च संवैधानिक पदमा आफू अनुकुल पात्रको खोजीमा सक्रिय भएको स्रोतहरु बताउँछन् ।

आज बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग गरेको भेटलाई त्यसैको उदाहरणका रुपमा हेरिएको छ । ‘सबैलाई अनुकुल हुने पात्रको खोजी स्वभाविक हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘एमालेकै नेता आउनुभयो भने पनि पात्र को हो भन्नेमा प्रधानमन्त्रीज्यूको चासो हुन्छ ।’

प्रचण्डले हिजोआज आफूलाई राष्ट्रिय सहमतिको प्रधानमन्त्री भन्ने वाक्यांशमा जोड दिने गरेका छन् । अबका अरु नियुक्तिहरुमा पनि राष्ट्रिय सहमतिकै भावना प्रतिनिधित्व हुने उनको भनाइका अनेक अर्थ लगाउन थालिएको छ । एमालेबाहेकका अन्यथा पात्र अघि सर्ने अवस्था उत्पन्न भएमा एमाले र माओवादी केन्द्रबीचको विश्वास फेरि भत्कन सक्ने छ । आगामी दुई वर्षसम्म संसदमा दाहालविरुद्ध कसैले अविश्वास प्रस्ताव ल्याउन नपाउने भए पनि मुख्य सत्ता साझेदारले हात झिकेको अवस्थामा उनले पुनः विश्वासको मत लिनुपर्ने अवस्था उत्पन्न हुन सक्छ ।

‘त्यसैले अहिले मलाई धेरै बोल्न नलगाउनुहोस्, बरु न्यूनतम साझा कार्यक्रममा लेखिएका कुराले नै मेरो भावना प्रतिनिधित्व गर्छन् भन्ने ठान्नुहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले त्यसैमा आधारित भएर सुशासन, डेलिभरी लगायत कोशिस गर्छु । हरेक दिन सिंहदरबार जान्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४