अध्यक्ष प्रधानमन्त्री बन्दा उनी पछिको वरीयताका नेता सरकार बाहिरै रहेको भए सायद यो प्रश्न नउठ्न सक्थ्यो । नेताहरुका अनुसार पार्टीको दिनदिनैका गतिविधिको नेतृत्व कसले गर्ने भनेर कसैलाई तोकिएको छैन ।
- छैनन् स्वीकार्य नेता
प्रचण्ड र नारायाणकाजी पछिको वरीयतामा रहेकामा उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङ अहिले सांसद छैनन् । महरा चुनाव नै लडेनन् भने देव गुरुङ लमजुङमा पराजित भए । सात उपमहासचिव मध्ये वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेत मात्रै सांसद छन् । पुन र शर्मा दुबै सरकारमा नजाने निश्चित जस्तै छ । बस्नेत सरकारमा जानसक्ने चर्चा माओवादी भित्र छ ।
चुनाव हारेका कारण उपमहासचिवहरु पम्फा भुसाल, गिरिरजामणि पोखरेल, हरिबोल गजुरेल र मातृका यादव कुनै राजकीय र संसदीय भूमिकामा हुने छैनन् । उपाध्यक्ष, महासचिवपछि उपमहासचिवहरु र सचिवहरुको भूमिका पार्टी संचालन र संगठन निर्माण हुने ठानिन्छ । तर, संगठनमा प्रभाव भएका अन्य नेताहरुले पनि आआफ्नो गुट चलाउने भएकाले कसैले कसैलाई स्वीकार गर्ने अवस्था नरहेको माओवादीका नेताहरु नै बताउँछन् ।
त्यस्तै सचिवहरुमध्ये देवेन्द्र पौडेलले मात्रै चुनाव जितेका छन् । माओवादी उच्च स्रोतका अनुसार, यसअघिको सरकारमा शिक्षा मन्त्री भएका उनी अहिले दोहोरिने सम्भवना छैन । चक्रपाणि खनाल, हितमान शाक्य, डिलाराम आचार्य लगायतका संगठन गर्न सक्ने सचिवहरु यस पटक सांसद छैनन् । त्यसैले उपाध्यक्षदेखि सचिवहरु धेरैलाई पार्टी निर्माणमा खट्ने समय छ ।
कम्युनिष्ट पार्टीमा अध्यक्षपछि महासचिवलाई शक्तिशाली मानिन्छ । अध्यक्षलाई नीति र महासचिवलाई संगठनको नेता मानिन्छ । प्रचण्डको अनुपस्थितिमा पार्टी संचालनको जिम्मेवारी उपाध्यक्ष महरा र महासचिव गुरुङकै भागमा पर्ने सम्भावना देखिन्छ । ‘पार्टीको दैनिक काम हामी सत्तामा नभएका साथीहरुले चलाउँछौं,’ उपाध्यक्ष महरा भन्छन्, ‘म छु, देव गुरुङजी हुनुहुन्छ ।
फुर्सदिला बनेका महरा र गुरुङ आक्कलझुक्कल पार्टी कार्यालमा देखिने गरेका छन् । उपत्यका बाहिरका कतिपय पार्टी कार्यक्रममा गुरुङले सहभागिता बढाएका छन् । तर, माओवादीभित्र उनीहरुले संगठन चलाउँछन् भनेर विश्वस्त हुने नेताहरु खासै छैनन् । ‘स्वाथ्यका कारणले उपाध्यक्ष महराले सक्नुहुन्न,’ एकजना पदाधिकारी भन्छन्, ‘महासचिवको पनि पुरानै शैली छ ।
उपाध्यक्ष, महासचिवपछि उपमहासचिवहरु र सचिवहरुको भूमिका पार्टी संचालन र संगठन निर्माण हुने ठानिन्छ । तर, संगठनमा प्रभाव भएका अन्य नेताहरुले पनि आ-आफ्नो गुट चलाउने भएकाले कसैलै कसैलाई स्वीकार गर्ने अवस्था नरहेको माओवादी नेताहरु नै बताउँछन् ।

माओवादीमा अध्यक्ष प्रचण्डपछि उपमहासचिवद्वय पुन र शर्मा संगठनमा पकड भएका नेता मानिन्छन् । तर, देशैभर पुन र शर्माका आ-आफ्ना गुट छन् । यसतर्फ लक्षित गर्दै अध्यक्ष प्रचण्डले बेला बेला पार्टीभित्रको गुटबन्दीले आफूलाई आजित बनाउने गरेको अभिव्यक्ति दिने गरेका छन् । ‘गुट मात्रै चलाउने भए पार्टी किन चाहियो, विघटन गरौं,’ प्रचण्डले बारम्बार भन्ने गरेका छन् ।
गुटकै कारण लुम्बिनी, मधेश प्रदेश, सुदूरपश्चिम र प्रदेश १ का धेरै ठाउँमा पराजित हुनु परेको भन्दै माओवादीले स्थानीय चुनाव लगत्तै छानबिन समिति बनाएको थियो । अनुशासन आयोग प्रमुख टंक राईं नेतृत्वको समितिले स्थलगत अध्ययन समेत गरेर बुझाएको प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन । पार्टी नेतृत्वका लागि समेत पुन र शर्माले दाबी गर्ने गरेका छन् । महासचिवमा दुवै जनाले दावी गरेका कारण प्रचण्डले तेस्रो व्यक्तिका रुपमा देव गुरुङलाई अघि बढाएका थिए । संसदीय दलको उप नेतामा समेत उनीहरुको दाबी छ ।
‘पार्टी बनाउने चिन्ता कसैमा छैन,’ माओवादीका एक नेता भन्छन्, ‘उहाँहरु पार्टी हैन, आफ्नो गुट मात्रै चलाउनुहुन्छ ।’ त्यस्तै मधेश प्रदेशमा उपमहासचिवद्वय गिरिराजमिण पोखरेल र मातृका यादवको गुट छ । दुवै जनाको गुटगत लडाइँका कारण मधेशमा माओवादी निकै कमजोर बन्दै गएको छ ।
२०७४ को स्थानीय चुनावमा मधेशमा २० पालिका जितेको माओवादी यसपल्ट ९ पालिकामा सीमित भएको छ । संघीय चुनावमा पोखरेल र यादव नै पराजित भए । नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले माओवादीलाई मधेशमा शून्य हुनबाट जोगाए । गत वर्षको मंसिर २५ गते प्रदेश सम्मेलन भएको भए पनि गुटको झगडाकै कारण माओवादीले अहिलेसम्म मधेश प्रदेश समिति समेत बनाउन सकेको छैन् । प्रचण्डकै उपस्थितिमा बैठक बस्दा समेत विवाद मिल्न सकेको छैन् ।
- विभाग छैनन्, चुनावी समीक्षा बाँकी
माओवादी केन्द्रको आठौं महाधिवेशन (२०७८ पुस ११–१९) भएको एक वर्ष पुगेको छ । महाधिवेशन भएको एक वर्ष पुग्दा समेत स्थायी समिति र पोलिटब्युरोले पूर्णता पाएको छैन । आठ महिनापछि मात्रै प्रचण्डले गत भदौमा पदाधिकारी चयन गरेका थिए । महाधिवेशनपछि विभाग समेत गठन हुन सकेका छैनन् । महाधिवेशनअघि माओवादीका ३३ विभाग, एक सम्पर्क समिति र नीति प्रतिष्ठान थिए ।
विभाग नबन्दा कतिपय नेताले पुरानै जिम्मेवारी अनुसार काम गरिरहेका छन् । उपाध्यक्ष महराले पार्टी प्रवक्ताको पुरानै जिम्मेवारी सम्हालिरहेका छन् । उपमहासचिव जनार्दन शर्माले पुरानै संगठन विभाग सक्रिय बनाउने प्रयास गरेका छन् । उनले १७ पुसमा संगठन विभागको बैठक बोलाएर छलफल गरेका थिए । अर्को बैठक आज बस्दै छ ।
यी सब काम टुंग्याउन अध्यक्ष प्रचण्डले समय दिन नसक्ने हुँदा यो जिम्मेवारी कसले पूरा गर्ला भन्ने प्रश्न माओवादी वृत्तमा छ ।
माओवादी केन्द्रले चुनावी समीक्षा समेत गरेको छैन । नेपाली कांग्रेससहितको गठबन्धनबाट चुनावमा गएको माओवादी पहिले भन्दा झन कमजोर बन्दै ३२ सिटमा सिमित भएको छ । प्रत्यक्षमा १८ सिट जितेको माओवादी समानुपातिक मतमा पनि खुम्चिदै गएको छ । पदाधिकारीको अनौपचारिक बैठकमा प्रारम्भिक समीक्षा गरिएको भनिए पनि माओवादीले औपचारिक समीक्षा गर्न कुनै बैठक बोलाएको छैन् । चुनावी समीक्षा नगर्दै माओवादी सरकारमा गएको छ ।
‘अहिलेसम्म बैठकबारे केही कुरा भएको छैन,’ माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि यसबारे केही छलफल गरेर बैठक तय होला । चुनावको गम्भीर समीक्षा हुनुपर्ने र विशेष महाधिवेशनमा जानुपर्ने माग गर्दै लेखनाथ न्यौपानेसहितका युवा केन्द्रीय सदस्यले छुट्टै छलफल समेत सुरु गरिसकेका थिए ।
आठौं महाधिवेशनकै बेला ‘संगठनको रुपान्तरण र विचारको विकास’का लागि चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा भएको थियो । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर गएपछि यी विषय कसरी अगाडि बढाइन्छ भन्ने अन्योल छ ।