काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनलाई लिएर गरमागरम बढेको छ । दलको नेतामा आकांक्षा राख्नेहरुलाई निर्वाचन समितिले आज मंगलबार उम्मेदवारी दर्ता हुने कार्यतालिका बनाएको छ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।
आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ । दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।
संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ । कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् ।
कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता र बुधबार मतदानको कार्यतालिका तय भए पनि इतर समूहले आधिकारिक उम्मेदवार सोमबारसम्म टुंगो लगाउन सकेको छैन । डा. शेखर कोइराला र महामन्त्री गगन कुमार थापाको दलको नेतामा दाबी रहेको छ ।
इतर समूहबाट सहमतिमा एक उम्मेदवार बनाउने सोमबार दिनभर कोसिस भए पनि डा. कोइराला र महामन्त्री थापाको अडान यथावत् हुँदा सम्भव भएन । मंगलबार पुनः छलफल गरेर आफ्नो समूहबाट एक उम्मेदवार बनाउन कोसिस हुने इतर समूहका नेताहरूको दाबी छ । तर, कोइराला र थापा दुवैले उम्मेदवारीलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
मंगलबार पनि सहमति जुटाउने प्रयास हुने नेताहरूले बताएका छन् । सहमहामन्त्री जीवन परियारले आफूहरूले दुई नेतालाई सँगै राखेर मिल्न दवाव दिएको र दुवैको दाबी निरन्तर रहकोले निष्कर्षमा पुग्न नसकेको बताएका छन्। परियारले उम्मेदवारी दिने समयसम्ममा एकजनामा सहमति जुटाउने प्रयास जारी रहने बताएका छन् ।