कालीकोट । कालीकोटमा बालबालिकाहरुले पुरानाे बम खेलाइरहेकाे अवस्थामा विस्फाेट भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले पाँच जना बालबालिकाहरुले पुरानाे सकेट बम खेलाइ रहेकाे अवस्थामा विस्फाेट भएकाे इमेज खबरलाई बताउनु भयाे ।उहाले भन्नुभयाे, ‘पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भयाे,बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ।’
उहाँका अनुसार खेल्न गएका बालबालिकाको साथमा हसियासमेत फेला परेकाे हाे ।
बम विस्फाेटमा परेर २ बालिकाको मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन् । तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट भएकाे हाे ।
स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको डीएसपी रिमालले बताउनुभयाे ।
गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।