Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वतन्त्र मेयर आम चुनावमा कता ढल्किँदैछन् ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ७ २०७९
  • 2.6K
    SHARES

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि स्वतन्त्र उम्मेदवार थुप्रै छन् । अस्ति स्थानीय तहमा चुनाव जित्ने स्वतन्त्रहरुले यसपल्टको चुनावमा कसलाई समर्थन देलान् ?


काठमाडौं । चुनावका बेला किसिम किसिमका स्वतन्त्र उम्मेदवार उठ्छन् । कोही उम्मेदवार दलबाट टिकट नपाएपछि रातारात स्वतन्त्र हुन्छन् ।

कोही अहिलेसम्म कुनै दलमा नलागेकाले स्वतन्त्र हुन्छन् । कोही दलबाट टाढिएको केही समयपछि स्वतन्त्र, वैशाखको स्थानीय चुनावमा यस्तै भएको थियो । तीमध्ये केहीले सानदार जिते, कति गुमनाम भए ।

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि स्वतन्त्र उम्मेदवार थुप्रै छन् । अस्ति स्थानीय तहमा चुनाव जित्ने स्वतन्त्रहरुले यसपल्टको चुनावमा कसलाई समर्थन देलान् ? आम जिज्ञासा हुन सक्छ ।

वैशाखको स्थानीय निर्वाचनमा केही ठूला शहरमा स्वतन्त्रहरुले नेतृत्व लिएपछि स्वतन्त्र मतहरु निर्णायक हुन थालेका संकेत देखिए । राजधानीको काठमाडौं महानगरपालिका, पूर्वको धरान उपमहानगरपालिका, पश्चिमको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई स्वतन्त्र मेयरहरुको झुकावले ठूलो प्रभाव देखिने भए पनि अहिलेसम्म मेयरहरुले मुख खोलेका छैनन् । यद्यपि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुको प्रचार–प्रसारमा हिँड्न कडाइ गरेको छ ।

बालेन आचारसंहितामा अडिग

काठमाडौं महानगरपालिकाका मेयरमा बालेन्द्र साह (बालेन) ले आगामी चुनावमा कसलाई साथ दिने भन्ने निश्चित भइसकेको छैन । उनले चुनावको विषयमा खासै नबोल्ने बताएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर २ का मतदाता हुन्, जहाँ एमालेबाट मणिराम फुयाल, सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलगायत उम्मेदवार छन् ।

बालेनका प्रमुख स्वकीय सचिव भुपदेव साहले बालेनलाई उधृत गर्दै जनप्रहारलाई भने, ‘निर्वाचन आयोगले स्थानीय तहका प्रमुखलाई जे–जे गर्नू भनेको छ त्यो भन्दा बढी गर्ने कुरा हुँदैन । अर्को कुरा प्रतिनिधि सभा निर्वाचनमा कसैलाई समर्थन गर्लान् भन्ने आशै नराखे हुन्छ । हामी स्वतन्त्र छौं, स्वतन्त्रै रहन्छौ‌ं । भोट खसाउने कुरा त व्यक्तिगत हो ।’

मेयर बालेन कसैको निर्वाचन भेला तथा छलफलमा नजाने भुपदेवले बताएका छन्  । ‘महानगरपालिकाको काम विशेषले हिँड्दा कतै जम्काभेट भए फरक कुरा हो । तर व्यक्तिगत वा दलगत रुपमा निर्वाचनमा कसैलाई समर्थन वा विरोध मेयरज्यूले गर्नुहुन्न’ उनले भनेका छन्  ।

हर्क साम्पाङ आक्रोशित

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले ४ मंसिरको चुनावमा गद्धार र भ्रष्टहरुलाई हराउनुपर्ने धारणा राखेका छन् । उनी सुनसरी क्षेत्र नम्बर १ का मतदाता हुन् ।

सुनसरी १ मा एमाले जसपा तालमेल अन्तर्गतका उम्मेदवार अशोक राई, सत्तारुढ गठबन्धनको समर्थनमा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा, स्वतन्त्रबाट मनोज मेन्याङ्बोलगायत प्रतिस्पर्धामा छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहेका साम्पाङले लेखेका छन् ‘मंसिर ४– गद्धार र भ्रष्टहरुको हार ! सम्पूर्ण न्यायप्रेमी नेपालीहरुले कसैको डरधम्की, करकाप र लोभ लालचमा नपरी स्वविवेकले देशलाई चाहिने, देशभक्तहरुलाई चुन्नुहोला । गफ होइन काम गर्नेलाई ।’

उनले यो लेखेको केही दिनपछि फेरि सामाजिक सञ्जालमा लेखे, ‘कृपया, कोही कसैले मेरो नाम जोडेर भोट माग्ने काम नगर्नु होला । मैले कसैलाई आफ्नो उम्मेदवार घोषणा गरेको छैन ।’

केही समय अगाडि काठमाडौंमा माआवोदी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि धरानमै श्रमदान गर्न बोलाएका हर्कले निर्वाचन लक्षित गरेर कुनै दलको विरोध वा समर्थनमा अहिलेसम्म सामाजिक बोलेका छैनन् ।

गोपाल हमालको बेग्लै नीति

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर गोपाल हमाल भने स्थानीयको कुरा उठाउनेलाई साथ दिने बताउँछन् । कैलाली ५ का मतदाता रहेका हमालले भने ‘हाम्रा जनप्रतिधि यस्तो हुनुपर्छ कि जसले स्थानीय कुरालाई पनि संसदमा उठाओस् । खाली राजनीतिक कुरा मात्रै गर्नेलाई चुनाव जिताउनु हुँदैन भन्ने हो ।’

हमालले हाम्रो धनगढी हामी बनाउँछौं भन्ने अभियान चलाइरहेको र त्यस अभियानलाई साथ दिने नेतालाई चुनावमा सहयोग गर्न सक्ने बताए । उनले सांसदले स्थानीय तहको अधिकारको विषयमा खासै नबालेको भन्दै असन्तुष्टि जनाए ।

‘अहिले केन्द्र सरकारले स्रोत दिँदा स्थानीय तह चलाउन गाह्रो भइरहेको छ । जिल्लास्थित कार्यालयका सेवा प्रवाहहरु हिजोको भन्दा खस्किँदै छन् । उपमहानगरकै कर्मचारीलाई तलब खुवाउन अनुदान दिनुपरिरहेको छ । यस्तो विषयमा संसदमा बोल्ने नेता धनगढीले खोजेको हो’ हमालले भने ।

मेयर हमालले कैलालीको जिल्ला समन्वय समितिको चुनावमा सत्तारुढ गठबन्धनलाई मत दिएपछि एमालेले उनी गठबन्धनतर्फ रहेको आरोप लगाउँदै आएको छ । यद्यपि उनी त्यो कुराको खण्डन गर्छन् ‘जिससको निर्वाचनमा स्वतन्त्र बस्छु भन्ने लागेको थियो अन्तिममा गठबन्धनलाई भोट दिएँ । अहिलेसम्म स्वतन्त्र भन्दा दायाँबायाँ जाने मुड छैन । चुनावसम्मको कुरा अहिले भन्न सक्ने अवस्था छैन ।’

धनगढीमा आफूले स्वतन्त्र हिसाबले काम गरेको भन्दै आफ्ना साथीहरुलाई पनि स्वविवेक प्रयोग गर्न अनुरोध गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४