Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनका लागि भक्तपुर–२ देशकै सुरक्षित निर्वाचन क्षेत्र हो : सभापति थापा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १ २०७९
  • 5.2K
    SHARES

काठमाडौँ । सरकारले मंसिर ४ गते देशैभर एकै चरणमा संघीय संसद र प्रदेश सभाको निर्वाचन घोषणा गरेसँगै देश यतिखेर निर्वाचनमा होमिएको छ । अहिले हरेक राजनीतिक दलभित्र उम्मेदवार चयनको रस्साकसी चलेको छ । आसन्न निर्वाचनका सम्बन्धमा भक्तपुर जिल्लाको विषयमा पनि सबैतिर चासो बढेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नम्बर १ लाई नेपाल मजदुर किसान पार्टीको गढ मानिन्छ भने क्षेत्र नम्बरमा कहिले नेपाली कांग्रेस, कहिले नेकपा एमाले त कहिले नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले जित्दै आएका छन् । सबै दलको केन्द्र बनेको भक्तपुर २ मा सत्ता गठबन्धनको तर्फबाट कसले टिकट पाउलाभन्ने चासो बढेको बेला जिल्ला सभापति दुर्लभ थापाले टिकट पाउनु भएको छ ।

यही सेरोफेरोमा भक्तपुर-२ मा गठबन्धनको तर्फबाट टिकटपाउनु भएका चर्चामा रहेका र दुई कार्यकाल नेपाली कांग्रेसको जिल्ला सभापति समेत रहेका दुर्लभ थापासँग गरिएको कुराकानीको सम्पादित अंश :

आमनिर्वाचनको मिति नजिकिंदै गर्दा भक्तपुर कांग्रेसले कस्तो तयारी गरिरहेको छ ?

नेपाली कांग्रेस भक्तपुरले २०७४ को निर्वाचनमा पार्टीका उम्मेदवारले पराजय भोगेपछि त्यतिबेलैबाट पराजयप्रति पार्टीभित्र ब्यापक छलफल गरी अर्को निर्वाचनमा विजय हुनुुपर्छ भनी तयारी गरेका थियौं । जसकारण भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा भक्तपुरमा कांग्रेसले आफ्नो पकडलाई फिर्ता ल्याउने प्रयासलाई आंशिक रूपमा सफलताप्राप्त गरेतापनि आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विजय हासिल गर्नु नै हाम्रो प्रयास रहेको छ ।

कुनै पनि खेलमा पराजय भएपछि अर्को खेलमा विजयको तयारीमा जसरी खेलाडीहरू लाग्छन्, त्यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा पनि कांग्रेसले निर्वाचनमा विजय हासिल गर्ने तीव्र तयारी गरिरहेको छ ।

गठबन्धनको राजनीतिलाई निरन्तरता दिंदै निर्वाचनमा जानुको कारण के होला ?

प्रजातन्त्रमा निर्वाचनमा एक्लाएक्लै लड्नु पर्ने हो तर पनि नेपाली राजनीतिमा देखिएको गठबन्धनको संस्कार नकारात्मक छैन । २०७४ सालको निर्वाचनमा माओवादीको लौरो टेकेर सरकार प्राप्त गर्दा एमालेलाई गठबन्धन पबित्र हुने, तर हालको गठबन्धनलाई अपबित्र भनेर उसले आकाशमा हेरेर थुक्ने काम गरेको देखिन्छ । राजनीतिक अवस्थालाई सन्तुलित गरेर देशको सम्रग विकास र स्थिर राजनीतिका लागि गठबन्धन आवश्यक रहेकाले र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसले गठबन्धनलाई निरन्तरता दिएको हो ।

निर्वाचनको मिति नजिकिंदै गर्दा भक्तपुरमा सत्ता गठबन्धनबीच कस्तो छलफल चलिरहेको छ ?

आमनिर्वाचनको मिति घोषणासँगै भक्तपुरमा गठबन्धनका दलबीच निरन्तर सकारात्मक छलफल चलिरहेको छ । केन्द्रले सिट बाँडफाँटको टुँगो लगाउना साथ भक्तपुरमा सत्ता गठबन्धनका दलबीच कुनै बिवादबिना नै सिट बाँडफाँट  भएको छ ।

भक्तपुर क्षेत्र नम्बर २ मा  जिल्ला सभापतिको हैसियतले सबैलाई कसरी समेटेर कसरी लानुहुन्छ ?

निर्वाचन हो, त्यसमा पनि कांग्रेस जस्तो ठूलो दल र प्रजातन्त्रलाई आत्मसाथ गर्ने पार्टीमा आकांक्षी देखिनु स्वभाविक हो ।

भक्तपुर क्षेत्र नम्बर-२ मा आकाक्षीं देखिएका साथीहरूको पार्टीमा योगदान उल्लेख्य नै रहेको छ । तर पनि राजनीतिक परिवेशलाई बुझेर चारै जना आकांक्षीले मलाई नै सर्वसम्मत रूपमा चयन गर्नु भएको हो भन्ने विश्वास छ ।

भक्तपुरमा पार्टीको दुई पटक सभापति भएर काम गरेको र साथीभाइहरूको समेत चाहनालाई मध्येनजर गरि मैले उम्मेदवारीका लागि पार्टीमा निवेदन दिएको हो । आकांक्षी साथीहरूको योगदानलाई पनि कुनै न कुनै माध्यमबाट पार्टीले सम्बोधन गर्ने छ र भक्तपुर क्षेत्र नं. २ मा मेरो उम्मेदवारीलाई अन्तिममा पार्टीका सबै साथीहरूले सर्वसम्मत गर्नु भएको भन्ने मलाई लागेको छ ।

कांग्रेसभित्र विगतदेखि नै गुट-उपगुटको राजनीतिले निरन्तरता पाउँदै आएको छ, यस्तो अवस्थामा टिकट नपाएकाहरूले घात अन्तरघात गर्ने अवस्था कस्तो छ भक्तपुरमा ?

नेपाली कांग्रेस भक्तपुरमा त्यो सम्भावना छैन् । घात अन्तरघात भयो भन्ने परम्पराको अन्त्य भक्तपुरबाट हुने आशा गरेको छु ।
घात अन्तरघात प्रजातन्त्रमा हुन्छ । तर सबै पाटोको ब्यवस्थापन गर्दै गठबन्धनको उम्मेदवारी आउने वातावरण तयार भएको देखिन्छ भक्तपुरमा । फुटबलमा हुने अन्तरघाति गोल जस्तै राजनीतिमा आवेशमा आएर अन्तरघात हुन सक्ने अवस्थालाई समेत हामीले ब्यवस्थापनको बाटो खोजेका छौं ।

२०७४ को निर्वाचनमा भक्तपुर क्षेत्र नं.२ मा एमालेले विजय प्राप्त गरेपश्चात विकास लहर आयो भनिन्छ नि ?

विकास आज एकै पटक हुने कुरा हैन्, क्षेत्र नं.२ मा विकासको जुन हौवा फैलाइएको छ, त्यसमा पूर्ण सत्यता छैन् ।

विगतमा कांग्रेसले तयार गरिदिएको आधारलाई फराकिलो पार्ने काम भयो, जुन समाज विकासका लागि राम्रो पक्ष हो । यसो भन्दैमा सबै विकासको श्रेय लिने र कांग्रेसले गरेका विकासका काममा समेत गएर रिवन काट्दै उद्घाटन गदैं प्रचारप्रसार गर्ने काम गरेर विकास आफ्नो गोजिबाट गरेको हल्ला फैलाउने काम एमालेबाट भएको देखिन्छ । यहाँ पछिल्लो समय पाँचतले मन्दिर समेत आफूले बनाएको भन्दै झण्डा गाड्न समेत पछि नपर्ने खालको प्रवृत्तिहावी भएको देखिन्छ ।

कांग्रेसले विगतमा भक्तपुर–२ मा विजय हासिल गर्दा कुनै विकासको गतिविधि भएन भन्ने आरोपलाई तपाई कसरी खण्डन गर्नुहुन्छ ?

भक्तपुर क्षेत्र नं. २ मा मात्र नभएर देशै भर विकासका पूर्वाधारको निर्माणमा कांग्रेसलाई कसैले भूल्छ भने त्यो भ्रमको खेती मात्र हो । भक्तपुर–२ पनि कांग्रेसले विकासका गतिविधिलाई सदैव आत्मसाथ गर्दै अग्रसर भएर लागेको थियो र लागि रहन्छ । विकास छु मन्तर होईन र भ्रमको खेती पनि होईन, पूर्व सांसद स्वर्गीय रामेश्वर ढुंगेल, सांसद लेखनाथ न्यौपाने र सांसद तथा पूर्वमन्त्री स्वर्गीय जगनाथ आचार्यले यस क्षेत्रबाट विजयी हुँदा गरेको विकासका कामलाई समेत एमालेले गरेको विकास भन्दै रिवन काट्ने काम सबैका अघि स्पष्ट छ ।

कांग्रेसले विकासका गतिविधिलाई निरन्तरता दिन्छ । तर कामको नाममा झारो टार्दै रिवन काटेर प्रचारप्रसारको कामलाई प्रमुखता दिंदैन । हाल प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिंदै गर्दा विकासको ठेक्का लिएर हल्ला चलाउनेहरू यतिखेर बेपत्ता भएको देखिन्छ । पुर्खाको कमाइमा मेरो कमाई भनेर लाग्नेहरूको पछि मेरो केहि भन्नु छैन् ।

भक्तपुर क्षेत्र नम्बर २ को आमनिर्वाचनको परिणाम हेर्दा आलो पालोको अवस्था देखिएको छ, के यो पटक कांग्रेसको पालो हो त ? हो भने जित्ने आधार के ?

झण्डै यस्तै जस्तो देखिएको छ । २०१५ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस विजयी भएको भक्तपुर क्षेत्र नं. २ मा २०४८ को आमनिर्वाचनमा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ को निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला र २०५६ सालको निर्वाचनमा फेरि कांग्रेसकै लेखनाथ न्यौपाने विजयी भएका थिए भने २०६४ को संविधान सभाको पहिलो निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति र २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेसका रामेश्वर प्रसाद ढुंगेल विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा भने नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए ।

आलो पालोको परम्परा अनुसार यो निर्वाचनमा कांग्रेसैकै पालो हुने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

कांग्रेसले जित्ने आधार भनेको कांग्रेसले पराजय भोगे पछि गरेका तयारी अनि विगतको निर्वाचनमा उम्मेदवारी चयन लगायतका विविध गतिविधि पनि एक थियो । तर यस पटक भने उम्मेद्वार चयनमा त्यसो हुन दिने छैनौं । अर्काे एमालेले बहुमतको सरकार हुँदा संसद दुई–दुई पटक बिघटन गरेर देशलाई अन्योलतामा धकेलेको सबै माझ स्पष्ट भएको जनआक्रोस ताजै छ ।

त्यसैले भक्तपुर क्षेत्र नम्बर २ गठबन्धनका लागि देशकै सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र रहेको समेत म स्पष्ट पार्न चाहन्छु । यो भन्दा जितको विषयमा बोल्नु पर्ला जस्तो लाग्दैन् ।

तपाईले गठबन्धनको तर्फबाट टिकट पाउनु भएको छ ? गठबन्धनमा सहमति हुनसक्ला त ?

भक्तपुर क्षेत्र नं.२ मा गठबन्धनको मर्मलाई आत्मसाथ गरेर नै अघि बढ्ने छ । पार्टीको केन्द्र र सत्ता गठबन्धनको निर्णयलाई हामीले पूर्णरूपमा पालना गर्नेछौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र सत्ता गठबन्धनले पनि भक्तपुरको राजनीति परिवेशलाई बुझेर नै टिकट आफूलाई उपलब्ध गराउने छ भन्ने मलाई लाग्छ ।

भक्तपुर क्षेत्र नं. २ निर्वाचनमा कांग्रेसको भूमिका कस्तो रहने छ ?

गठबन्धनको मर्मलाई आत्मसाथ गरेर अघि बढ्छ । कांग्रेसले सबै परित्याग गरेर गठबन्धनको उम्मेदवारलाई विजयी गराउन लाग्नेछ ।

म फेरी पनि भन्न चाहान्छु, भक्तपुर क्षेत्र नं. २ गठबन्धनको उम्मेदवारका लागि सबै भन्दा सुरक्षित निर्वाचन क्षेत्र हो ।

अन्त्यमा … ?

निर्वाचनको मिति नजिकिँदै छ, स्वच्छ प्रतिस्पर्धाको वातावरण बनोस् । पाखुराको भरमा निर्वाचन जित्छु भन्ने दुस्प्रयास भक्तपुरमा कसैलाई लागेको छ भने त्यसो नगर्न अनुरोध गर्दछु ।

कसैको हात खुट्टा भाँच्छु, कसैलाई सिध्याइदिउँला भन्दै बल र दम्भसँगै पैसाको घमण्डले निर्वाचनमा प्रभाव पार्ने सपना नदेख्न समेत आग्रह गर्दछु ।

स्वच्छ लोकतान्त्रिक पद्धति र निर्वाचन आयोगको आचारसंहितामा रहेर निर्वाचनमा उत्रन समेत आग्रह गर्दछु । लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचनको परिणाम जस्तो भएपनि स्वीकार गर्नु हो, त्यसलाई आफूले आत्मसाथ गर्ने र बिपक्षीलाई समेत त्यसो गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४