Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हरिबोलमाथि कसरी हावी भए राजन ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३१ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीमा छलफल गर्नुपर्ने माग गरेका छन् । टिकट नदिनुको कारणबारे स्पष्ट जवाफ नदिएसम्म जिल्लाको चुनावी कार्यक्रममा सहभागी नहुने अडानमा गजुरेल छन् । लडेकाजति कुनै चुनाव नहारेका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले यसपाली टिकट नै पाएनन् ।

सिन्धुलीबाट २०७० र २०७४ का दुई चुनाव जितेका गजुरेल फेरि पनि चुनाव लड्न चाहन्थे तर हाललाई उनको संसदीय राजनीतिको यात्रामा ‘ब्रेक’ लागेको छ ।यसबाट असन्तुष्ट बनेका गजुरेलले भने आफूले टिकट नपाउनुको स्पष्ट कारण नदिएसम्म चुनावी गतिविधिमा सहभागी नहुने अडान लिएका छन् । स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म गजुरेल र जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)को नाम सिफारिस भएको थियो । तर, अन्तिममा टिकट भने राजनले नै पाए ।

गजुरेलले जिल्लाबाटै आफूलाई जबरजस्ती रोक्न खोजेकोरुपमा बुझेका छन् । ‘उहाँविरुद्ध नांगो गुटबन्दी भयो,’ गजुरेल निकट एक नेता भने, ‘गाउँपालिकाका नेताहरुलाई थर्काएर एउटा मात्रै नाम सिफारिस गर भनेर रोक्न खोजे । टिकट पाएर चुनावको प्रचारमा जुटिसकेका दाहाल भने यसलाई स्वीकार गर्दैनन् । आफूले टिकट समेत नमागेको उनको दाबी छ । ‘टिकटका लागि मैले कुनै पनि पार्टी कमिटीमा दाबी गरेको छैन,’ दाहालले भने, ‘न हरिबोलजीलाई, न अध्यक्षलाई मैले मलाई टिकट दिनुपर्यो, म आकांक्षी छु भनेको छु । पार्टी केन्द्रले टिकट दिएपछि लडेको हो ।’

गुटबन्दी गरेको भन्ने गजुरेल निकट नेताहरुले लगाएको आरोपको पनि दाहाल प्रतिवाद गर्छन् । ‘कुनै गुटबन्दी भएको होइन,’ उनले भने, ‘नौं वटै पालिकाले उहाँकै उपस्थितिमा स्वतन्त्र निर्णय गरेका छन् । शतप्रतिशत कार्यकर्ताको भनाइ यो पटक उहाँले छोडिदिनुपर्छ भन्ने थियो ।

कसरी पाए दाहालले टिकट ?

गजुरेल माओवादी केन्द्रका पुराना नेता हुन् । पार्टी उपमहासचिव समेत रहेका गजुरेल समेत आकांक्षी हुँदाहुँदै पनि टिकट भने दाहालले फुत्काए । दाहालको नाम जिल्लाका ९ वटै पालिका, दुई वटै निर्वाचन क्षेत्र र जिल्ला कमिटी हुँदै प्रदेशबाट केन्द्रमा पुगेकाले टिकट पाएको बताउँछन् माओवादी केन्द्र सिन्धुलीका नेता गणेश रत्न ।

जिल्लाको संगठन विभाग प्रमुख समेत रहेका उनी जिल्लामा खटिरहने र प्रत्येक कार्यकर्ताको दुःख, सुखमा नजिक रहने भएकाले सबै कार्यकर्ताबाट दाहाललाई समर्थन मिलेको दाबी गर्छन् । ‘उहाँ प्रत्येक कार्यकर्ताको दुःख–सुखमा सधैं सँगै हुनुहुन्छ,’ रत्न भन्छन््, ‘उहाँ सधैं भूगोलमै रहनुहुन्छ । उहाँ केन्द्रमा जाने भनेको बैठकका निम्ति मात्रै हो । बागमती प्रदेशसभा सदस्य हुँदा पनि उहाँले अर्बौंको बजेट ल्याएर विकासका निम्ति प्रेरणादायी काम गर्नुभयो ।’

‘यसले गर्दा पार्टी कमिटी र जनसमुदाय लाभान्वित भए,’ उनले थपे, ‘कार्यकर्ता र जनताको दबावले गर्दा उहाँलाई सिफारिस गर्न पार्टी कमिटी बाध्य भयो । प्रदेश हुँदै केन्द्रसम्म स्वीकृत भएपछि अध्यक्ष प्रचण्डले पनि त्यसलाई स्वीकृत गर्नुभयो ।’ कोरोनाका संक्रमणका बेला आइसोलेसन भवन निर्माण र जिल्ला पार्टी कार्यालय निर्माणमा समेत दाहालकै पहल मुख्य भएको उनले बताए ।

प्रचण्डलाई बाध्य पार्ने त्यो ‘डेलिगेशन’

जिल्लाबाट दाहाललाई टिकट दिन दबाव दिने उद्देश्यले सिन्धुलीका माओवादी नेता–कार्यकर्ताहरु दुईपटक ‘डेलिगेशन’ नै आएका थिए । दोस्रो पटक १५ असोजमा सिन्धुलीबाट आएको डेलिगेशनले दाहाललाई नै टिकट दिने अवस्थामा प्रचण्डलाई पुर्याएको थियो । जिल्लाका ९ वटै पालिकाका इन्चार्ज, अध्यक्ष, ७ जना स्थानीय जनप्रतिनिधिहरु प्रचण्ड निवास पुगेका थिए । स्थानीय नेता गणेश रत्नका अनुसार हरिबोललाई अन्तै व्यवस्थापन गरेर राजन दाहाललाई प्रतिनिधिसभाको टिकट दिन दबाव दिइएको थियो । ‘उहाँ उपमहासचिव हुनुहुन्छ, उहाँलाई बायस गरेर होइन कि अन्त व्यवस्थापन गर्नुहोस्, भनेका थियौं,’ उनले भने ।

त्यसपछि प्रचण्डले जिल्लाका सबै नेताहरु सामुन्ने दाहालले टिकट पाउने संकेत गरेका थिए । ‘तपाईंहरु जिल्ला नै उल्टिएर आउनु भएको रहेछ,’ प्रचण्डको भनाइ थियो, ‘तपाईंहरु जुन उद्देश्यका साथ आउनु भएको छ, त्यो मैले बुझें । यसको तपाईंले सकारात्मक जवाफ पाउनुहुन्छ ।’ प्रचण्डको संकेतपछि डेलिगेशनमा आएको जिल्लाको टोली ढुक्क भएर जिल्ला फर्किएको थियो । र, संकेत अनुसारै प्रचण्डले टिकट पनि राजनलाई नै दिए ।

गजुरेलले जनाए असहमति

यसबाट गजुरेल भने असन्तुष्ट बनेका छन् । यसबारे सार्वजनिक प्रतिक्रिया नदिएका गजुरेलले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहमति पत्र दर्ता गराएका छन् ।

माओवादी स्रोतका अनुसार गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी कार्यालय परिसडाँडा र ‘प्रचण्ड’ निवासमा असहमति पत्र दर्ता गराएका हुन् । पत्रमा गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीमा छलफल गर्नुपर्ने माग गरेका छन् । आफूलाई टिकट नदिइएकोबारे स्पष्ट कुरा बताउनुपर्ने उनले पत्रमा उल्लेख गरेका छन् । टिकट नदिनुको कारणबारे स्पष्ट जवाफ नदिएसम्म आफू जिल्लाको चुनावी कार्यक्रममा सहभागी नहुने अडानमा गजुरेल छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४