Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटकमा भाइरल हुने रहरले बढाएको हो त अश्लीलता ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ५ २०७९
  • 3.6K
    SHARES

सामाजिक सञ्जालमा कोही कतै भाइरल भए भने तिनको नक्कल गर्दै आफू पनि त्यस्तै भाइरल बन्न अनेकौं हरकत गर्नेहरू टिकटकमा धेरै भेटिन्छन् । भारतीय लुङ्गी डान्सका बारेमा त सुनिएको थियो तर यतिबेला पेटीकोट डान्स यतिबेला टिकटकेहरूबीच खुबै चर्चामा रहेछ ।

‘के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अञ्जान साथी ।

के गरौं के गरौं लौ संगी तँ भन्, तँलाई पो भनेँ त अरुलाई नभन् सम्झेरै गइसक्यो सातो बरिलै ;-

हालसालै सार्वजनिक भएको यो गीतको एउटा दृष्यमा युवतीले पेटीकोट लगाएर नृत्य गरेकी छन् । गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको रहेछ । विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीतको सिर्जना गरिएको भन्ने सुनियो । हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो । यसपालि पनि अछुतो रहेन । तीजको अवसरमा बनाइएको ‘पापाकी परी’ नामक उल्लेखित गीतलाई टिकटकेहरुले ‘पेटीकोट डान्स’ को नाम दिएर भाइरल बनाइ दिएछन् ।

ढुङ्गेधारामा पेटीकोट लगाएका युवतीहरूले नाचगान गरेको अभिनय भएका कारण यस गीतलाई ‘पेटीकोट डान्स’को नाम दिएका रहेछन् । गीतका केही शब्द र दृश्यलाई लिएर चर्को विरोध भएपछि गीतको भिडियो सम्पादन गरेर सुधारिएको भिडियो अपलोड गरिएको रहे छ। तर त्यसअघिकै भिडियोलाई डाउनलोड गरी टिकटक लगायत युट्युबमा छ्यापछ्याप्ती पारिएकाले टिकटकेहरूलाई भिडियो बनाउन र जिस्किन रोकेको छैन । यतिबेला टिकटकेहरू बीच ‘पेटीकोट डान्स’मा भिडियो बनाई भाइरल हुने प्रतिस्पर्धा चलेको रहेछ । पोलिथिनको कालो पाइपबाट पानी ल्याएर धारा बनाई नुहाउँदै पेटीकोट डान्समा एक जोडीले टिकटक बनाएको रे अनि खुबै भायरल पनि भयो रे…। अर्कीले भने खोलामा पेटीकोट डान्सको टिकटक बनाउँदै गर्दा बाढी आएर बगायो रे, उता घरमा रुवाबासी छ रे… !

‘केटीका लागि पेटीकोट डान्सको गीत भायरल भयो, अब केटाका लागि कन्दनी डान्सको गीत बनाउनु पर्दछ’, एक टिकटके पुरुष मच्चिदै भन्दै थिए । अब शिवरात्रिमा दिन पुरुषले पेन्ट, सुरुवालको बदला कन्दनी लगाई मुखमा खरानी दलेको कन्दनी गीतको डान्स बजारमा आएमा आश्चर्य नमाने भयो । हुन त यस गीतको भिडियोमा त्यस्तो अश्लीलता देखिदैन तर टिकटकेको हेर्ने नजरिया, बुझ्ने दिमाग र यिनीहरूले बनाएका भद्दा भिडियोहरूले यस गीतलाई जबरजस्ती ‘अश्लील’बनाइ दिएको छ । अफिस पुगेकाहरू अफिसबाटै टिकटक, व्यथा लागेका महिलाका टिकटक, अस्पतालका नर्सहरू सेतो कपडामै टिकटक, आइसीयुमै पुगेका बिरामीले सम्म पनि टिकटक बनाएर अनौठा भिडियो हाल्ने गरेको देखिन्छ ।

बाटा, पुल र घरका छतमा युवायुवतीहरू नाँचेका दृश्य देख्दा पनि आजकाल चकित परिन्छ । लाज, घिन, सरम केही नभए पछि उता घाटमा लाश जलिरहँदा ठिक अगाडि टिकटकेको अशोभनीय चटक देखिन्छ । मानौ उनीहरूको मुख्य काम नै टिकटक चलाउने र त्यसै मार्फत आफ्नो पहिचान बनाउने हो । उनीहरूमा कुनै मानवीय संवेदना, विवेक र चेतना छैन। यी त टिकटकेको सामान्य प्रतिनिधिमूलक चर्तिकलाहरू भए । यी बाहेक छाडा र फोहोरी वार्तालाप तथा भिडियोको बाढी नै देख्न सकिन्छ । जतिखेर पनि टिकटकमै ध्यान दिने युवायुवतीको सिर्जनशीलता मर्दै गएको छ । पढ्ने उमेरका युवा युवतीलाई समेत यसले प्रभावमा पारेको छ । टिकटकमा भाइरल हुने र भ्यूज बढाउने नाममा अश्लिल हर्कतहरू अत्याधिक बढ्दै गएका छन् ।

टिकटकमा व्यस्त हुँदा साना बच्चाहरूको हेरचाह र दुर्घटना समेत बढेका समाचार बाहिर आइरहेका छन् । टिकटक बनाउने क्रममा ५ दिनअघि विवाह गरेकी र दुल्हन फर्काउन माइत आएकी एक नवविवाहिता नदीमा खस्दा बेपत्ता भएकी थिइन् । यस्तै अप्रिय अरु पनि कैयन घटना टिकटक बनाउने क्रममै भइसकेको छ । यतिबेला टिकटक पनि युवायुवती बिचमा करिव डेटिङ साइट जस्तै भएको छ । यसमा सिधै म्यासेज समेत गर्न मिल्छ। टिकटक मार्फत नचिनेकाहरू बीच साथी बन्ने, माया प्रीति लगाउने, जिस्किने, गिज्जिने, फोटा साटासाट गर्ने आदि पनि बढिरहेको छ । टिकटकको अनावश्यक प्रयोगले विवाहित जोडीमा खटपट हुदै सम्बन्धविच्छेदका घटना भएका उदाहरण पनि छन् ।

टिकटकमा आउने टिप्पणी र यसको लतले मनोविज्ञानमा समेत असर पर्न गै धेरै टिकटकेहरू एञ्जाइटी र डिप्रेसनका रोगी बनेका छन् । उत्पादन र सिर्जनशील कर्ममा भन्दा बढी भाइरल हुने र भ्यूज बढाउने नाममा युवायुवतीहरू टिकटकमा झुम्मिने, रातदिन लाइभमा बस्ने, विभिन्न व्यक्तिका ट्रोल ल्याउने, जिस्क्याउने, गिज्जिने जस्ता हर्कत पनि यसका गलत प्रभाव हुन् । त्यसैले टिकटक होस् वा अन्य कुनै पनि सामाजिक संजालको प्लेटफर्म होस्, तिनको प्रयोग र पार्न सक्ने नकरात्मक प्रभाव, सही र उचित प्रयोगबारे विशेषतः युवायुवतीका अभिभावक सचेत हुन जरुरी छ । -सुनिल मणि दाहाल/आइएनएस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४