दोस्रो– प्रधानसेनापति क्षत्रीले पठाएको पत्रमा सबै चीज प्रिन्टेड छ, मिति हस्तलिखित किन ?
पोखरेलले बोलेपछि समितिका अन्य सांसदहरुले पनि बोले । समिति सभापति पवित्रा निरौला खरेलले परराष्ट्रमन्त्रीलाई सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनका लागि समय दिन खोजिन् । पोखरेलले ‘केही राख्छु’ भनेर फेरि समय मागेर बोले ।
‘माफ गर्नुहोला दुईटा कुरा त्यहाँ (एसपीपीलाई सेनाले २०१५ मा लेखेको पत्र) छ । एउटा कन्टेन । अर्को बडो कलात्मक ढंगले हातले मिति २७ अक्टुबर पारिएको छ किन ? अरु सबै टाइपमा छ ।’
उनले पटक-पटक हातले मिति लखेको किन ? भनेर प्रश्न गरे । अर्थात, उनले हातले मिति लेखिनुका पछाडि अनेकन षडायन्त्र भएको हुन सक्ने आशंकाको भावमा प्रश्न गरे । उनले अझै थपे, ‘हातले मिति लेखिनुमा धेरै कुराहरु गाँसिएका हुन सक्छन् ।’
पूर्वरक्षा मन्त्रीसमेत रहेका पोखरेलले हस्तलिखित मितिका विषयमा गम्भीर भएर प्रश्न उठाएपछि समितिमा रहेकाहरुले पनि गम्भीरतापूर्वक उनको अभिव्यक्तिलाई लिनु स्वभाविक नै थियो ।
बैठकको अन्तिमतिर समिति सभापति खरेलले प्रधानसेनापति प्रभुराम शर्मालाई समितिमा उठेका प्रश्नहरुको जवाफ दिन समय दिए । प्रधानसेनापति शर्मालाई सांसदहरुले पत्र लेख्दा कस्को नेतृत्वका सरकार थियो, एसपीपीका लागि पहल कहिलेदेखि भएको ?, सेनाले २०१५ मा पठाएको पत्रबारे सुरुमा एउटा र पछि अर्को कुरा गरेको जस्ता विषयसमेत उठाएर प्रश्न गरेका थिए । यी प्रश्नको जवाफ दिनतिर प्रधानसेनापति शर्मा लागेनन् । उनी सिधै ईश्वर पोखरेलले हस्तलिखित मितिबारे सोधेको प्रश्नमा पुगे ।
‘टाइप नगरिकन हातले किन मिति लेखेको भन्नुभयो । हाम्रो आर्मीमा के चलन छ भने हजुर आज चिठी लेखेपछि आजै हुँदैन । मेरो अफिसमा हिजोदेखिका चिठी छन् । त्यसमा मिति खाली हुन्छ । जसले चिठीमा हस्ताक्षर गर्छ उसैले मिति लेख्ने चलन छ हजुर ।’
शर्माले जवाफ दिएपछि समितिमा रहेका सांसदहरु गलल्ल हाँसे । कूटनीतिमा हाँसोको पनि अर्थ हुन्छ भन्दै सरकारलाई सन्तुलित परराष्ट्रनीतिबारे दायाँवायाँ नगर्न सुझाव दिने पूर्वरक्षामन्त्री पोखरेल भने मौन रहे ।
